जरुरत नभएपछि एनआरएनको सिङ्गै समिति विघटन !

योगेन्द्रमिलन छन्त्याल, २ मार्च, पोर्तुगल । कोइम्ब्राका नेपालीहरुले गैह्र आवासीय नेपाली संघ क्षेत्रीय समिति विघटन गरेका छन् । आइतबार सम्पन्न भेलाबाट एनआरएन पोर्तुगलले मनोमानी ढंगले क्षेत्रीय समिति गठन गरेर नेपालीबीच झनै वैमनस्यता बढाएको र राजनीति चर्काएको भन्दै यस्तो निर्णय गरिएको हो । 

सेप्टेम्बर २३ मा सम्पन्न प्रथम अधिवेशनबाट १३ सदस्सीय कार्यसमिति चयन गरिएको थियो । अधिवेशनमा एनआरएन पोर्तुगलका टाठाबाठाहरुबाट इच्छाइएका व्यक्तिहरु चयन भएका थिए । कार्यसमितिकै पदाधिकारीबाट मुठभेडको  स्थिति सिर्जना गराउने र विधानविपरित कार्य सन्चालन गरिएका थिए ।  

मतभेद चुलिदै आएपछि २ पदाधिकारीसहित  छ सदस्यहरुले समितिबाट राजिनामा दिएका थिए, कोइम्ब्राबाट तोलेन्द्र गिरीले नमस्ते नेपाली डट कमलाई बताए ।  उनले भने, क्षेत्रीय समिति कोइम्ब्राका अध्यक्ष भुपालबहादुर पुरीले अविश्वासको प्रस्ताव दर्ता गर्न मानेनन् । त्यसपछि  संघको कार्यालयमा क्षेत्रीय समिति विघटन गर्न निवेदन दर्ता गराइयो ।' यसरी संघका पदाधिकारीहरुले निवेदन उपर सुनुवाई गर्नुको सट्टा आनाकानी गर्ने र गलत गर्ने व्यक्तिहरुलाई आश्रय दिन खोजेपछि भेला बोलाइएको थियो । 

कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भेलामा उपस्थित ३० सदस्यहरुमध्ये २९ जनाले विघटनको पक्षमा आफ्नो मत जाहेर गरे भने १ जना तटस्थ बसेका थिए ।  कोइम्ब्रामा ३५ जनाले संघको सदस्यता लिएका छन् । भेलाका सहभागी एवं एनआरएन पोर्तुगलका सदस्य मिलन सुवेदीले बताए । 

भेलामा बिगत सीता बराल अध्यक्ष रहेको तदर्थ समितिबाट आय व्यय विवरण पारदर्शी रुपमा नबुझाइएकोले हिसाबकिताब खोजी गर्ने निर्णय पनि गरिएको छ । भेलाले हाललाई हरि सापकोटाको संयोजकत्त्वमा २९ सदस्सीय नेपाली समाज कोइम्ब्रा तदर्थ समिति गठन गरेको छ । 

एनआरएनका अध्यक्ष रमेशकुमार गुरुङले क्षेत्रीय अध्यक्षबाट भेला आव्हान नगरिएको र विवाद व्यवस्थापन गर्न खोज्दा केही ढिलाइ भएको उल्लेख गरे । क्षेत्रीय समितिका पूर्व अध्यक्ष सीता बरालले आफ्नो समितिले नयाँ समितिलाई बरबुझारथ गरेको बताइन् ।