यी हुन् युवा नेतृ रामकुमारी झाँक्रीका बूढा !
नेपाली राजनीतिक आकाशको एक सुपरिचित नाम हो– रामकुमारी झाँक्री । जनआन्दोलन २०६२–०६३ मार्फत उनले विद्यार्थी राजनीतिमा उचाई चुमिन् ।
एमाले पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी युवानेतृ झाँक्री सार्वजनिक व्यक्तित्व भएका कारण उनको निजी जीवनका कतिपय पाटा र पारिवारिक स्थितिबारे समेत सर्वसाधारणमा जिज्ञासा हुनु स्वाभाविक हो ।
सार्वजनिक चर्चामा उतिसारो नजमेका झाँक्रीका बूढा (अर्थात् जीवनसाथी) बारे धेरैलाई जानकारी हुने कुरा पनि त भएन । यद्यपि चर्चित युवानेतृ झाँक्रीका बूढा को हुन्, कहाँ बस्छन्, के गर्छन् र उनको पारिवारिक अवस्था के–कस्तो छ ? सर्वसाधारणमा जिज्ञासा त हुने नै भयो ।
नेतृ झाँक्रीका बूढाको नाम हो– पशुपतिबाबु पुरी । प्रशासकीय अधिकृतबाट सरकारी सेवामा जागिर सुरु गरेका पुरी अहिले भक्तपुर जिल्लामा स्थानीय विकास अधिकारी (एलडीओ) छन् ।
राजधानीको शंखमूलमा संयुक्त परिवारमा बसोबास गरिरहेका पशुपतिबाबु ५ दाजुभाइमध्येका कान्छा हुन् । लेगुवा गाविस– ६, धनकुटा पुर्ख्यौली घर भएको पुरी परिवार २३ वर्षदेखि काठमाडौंको शंखमुलस्थित घरमा बसोवास गर्दै आएको छ । परिवारका सबै सदस्य सरकारी सेवामै रहेकाले घरपरिवार चलाउन आर्थिक अभाव नभएको पुरीको पारिवारिक स्रोत बताउँछ ।
सरकारी सेवाबाहेक आम्दानीका अरु स्रोत नभएको उल्लेख गर्दै पारिवारिक स्रोत भन्छ– नियमित प्राप्त हुने तलब–भत्ताको रकमबाटै राम्रोसँग सञ्चालित छ परिवार । परिवारका सबै जागिरे सदस्यहरुले तलब आएकै दिन एकमुष्ठ रुपमा बुबालाई हस्तान्तरण गरिदिने पुरी परिवारको ‘परम्परा’ नै बनेको छ । र, बुबाले नै आवश्यकताअनुरुप खर्चबर्च बाँडफाँट एवम् सञ्चालन गर्ने प्रचलन छ ।
अलगअलग र झन्डै विपरीतजस्तो लाग्ने दुई क्षेत्रमा कार्यरत व्यक्तित्वबीच कसरी सम्भव भयो त वैवाहिक सम्बन्ध र त्यसको निरन्तरता ? खबरडबलीको जिज्ञासामा नेतृ भाँक्री भन्छिन्– ‘उहाँ एक इमानदार, सचेत र कर्मशील कर्मचारी भएकाले नै हामीबीच सम्बन्ध सम्भव भएको हो । इमानदार एवम् समझदार श्रीमान् भएकैले कुनै वैमनश्यता नभई राम्रोसँग पारिवारिक सम्बन्ध सञ्चालित छ ।’
राजनीतिमा चाहिँ किन आउनुहुन्न नि तपाईंका श्रीमान् ? अर्को जिज्ञासामा झाँक्री भन्छिन्– ‘सरकारी सेवाप्रति वफादार एवम् इमानदार कर्मचारी भएकाले उहाँ राजनीतिमा संलग्न नहुनुभएको हो ।’
- खबरडबली

