प्रहरी र सशस्त्रको मेसमा ‘अनियमितता’

काठमाडौं, चैत १३ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मेस सञ्चालनमा आर्थिक अनियमितता भएपछि दुबैका मुख्यालयले अनुगमनका लागि ‘मार्सल टोली’ खटाएका छन् । कार्यालय प्रमुख र मेस सञ्चालकको मिलेमतोमा हुने अनियमितता नियन्त्रण गर्न दुबै संगठनदे मुलुकभरीका युनिटमा विशेष टोली परिचालन गरेको खबर आजको कारोबारमा मातृका दाहालले लेखेका छन् ।

प्रहरीका ६७ हजार ४ सय र सशस्त्रका करिब ३६ हजार जनशक्ति मध्ये करिब ९० प्रतिशत ब्यारेकमा बस्छन् । उनीहरूको राशनका लागि सरकारले मासिक ४० करोडभन्दा बढी रकम बिनियोजन गर्दै आएको छ। हजारौ जनशक्तिबाट एक रूपैयाँ हिनामिना हुँदा यो अनुपात मासिक लाखौ हुन जान्छ ।

‘बाहिरबाट हेर्दा एक रूपैयाँ तलमाथि भएको देखिँदैन, यसमा कसैको नजर पनि गएको हुँदैन’, प्रधान कार्यालयकै एक उच्च अधिकारीले भने,‘ तर देशभरका मेसमा यसरी नै हिनामिना हुने हो भने मात्रा निकै ठूलो हुन्छ।’