सार्वजनिक यातायातमा यात्रुबाट ठगी

काठमाडौं वैशाख ५ । मिलेमतोमा सार्वजनिक यातायात व्यवसायीले यात्रुबाट दैनिक लाखौंं रुपैयाँ ठग्दै आएका छन्।व्यवसायीले सरकारले तोकेको न्यूनतम भाडा दरभन्दा बढी रकम असुलेर उपत्यकाबाट हरेक दिन ३६ लाख रुपैयाँभन्दा बढी असुलेको पाइएको छ।

यातायात क्षेत्रका बेथिति सम्बोधन गर्न यातायात व्यवस्था विभागको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन भए पनि प्रभावकारी रूपमा नियमन नहुँदा यात्रुहरूले न्यूनतम दूरीमा सरकारले तोकेभन्दा दुई रुपैयाँ बढी भाडा तिर्नुपरेको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर शून्यदेखि चार किलोमिटरसम्मको दूरीमा १३ रुपैयाँ भाडा दर तोकेको छ। गत माघ २६ गते पेट्रोलियम पदार्थको मूल्य घटेपछि १४ रुपैयाँबाट घटाएर न्यूनतम भाडा १३ रुपैयाँ कायम गरिएको हो।

यसअघि पुस ९ गते शून्यदेखि चार किलोमिटरसम्मको दूरीको न्यूनतम भाडादर १५ बाट घटाएर १४ रुपैयाँ कायम भएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।