वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या बढ्दो

५ असोज, काठमाडौं - सोलुखम्बु, सल्यान गाउँका वीरबहादुर बस्नेतको मलेसियामा मुटु सम्बन्धी समस्याका कारण तीन साताअघि मृत्यु भएको खबर पाउँदा सुरुमा आफन्तजनले पत्याउनै सकेनन्।

६ महिनाअघि उता जाने बेला स्वास्थ्य परीक्षण गर्दा योग्य ठहरिएका ३३ वर्षीय बस्नेतको मुटुुसम्बन्धी समस्याले मृत्यु भएको खबर पाउनेबित्तिकै परिवारजनले त्यस्तो हुन नसक्ने भन्दै मलेसियाको कम्पनी र अन्य कामदारसँग सोधखोज गरे। 'घरमा रहँदासम्म कहिल्यै मुटुको समस्या थिएन,' भाइ राजेन्द्रले भने, 'न काठमाडौंमा परीक्षण गर्दा त्यस्तो समस्या देखिएको थियो ।' मलेसिया गएको ६ महिनामै मुटुसम्बन्धी समस्याले ज्यान गयो भन्ने खबरले सारा आफन्त र गाउँले अचम्ममा परेको उनले बताए ।

एक वर्षदेखि कतारमा काम गर्दै आएका स्याङ्जा वालिङका भुवन तिमिल्सिनाको अघिल्लो महिना मुटुसम्बन्धी समस्याकै कारण विदेशी भूमिमा मृत्यु भयो। वैदेशिक रोजगारीमा जानुअघि स्वस्थ २९ वर्षीय तिमिल्सिनाको परिवार पनि मृत्युको कारण मुटुरोग भएको सुन्दा आश्चर्यमा छ। 'घरमा रहँदासम्म कुनै पनि दिन उहाँ (भुवन) लाई मुटुसम्बन्धी समस्या भएको जानकारी थिएन,' भुवनका भतिज शरदले भने, 'एक्कासि मुटुसम्बन्धी समस्याले मृत्यु भएको खबर सुन्दा कसरी त्यसो भयो होला भनेर अलमलमा छौं।'

उनका अनुसार भवन निर्माणको काम गर्दै आएका भुवनसँग टेलिफोनमा कुुरा गरेको ४ घन्टा बित्न नपाउँदै मृत्यु भएको थियो। शरदले भने, 'वैदेशिक रोजगारी नेपालमा सोचेजस्तो काम रहेनछ। निकै गाह्रो छ भन्नुहुन्थ्यो। कुरा गरेको केही बेरमा अंकलको निधन भएछ।'

स्वदेशमा रोजगारीको अवसर नहुँदा बिदेसिनेको संख्या बढ्दो छ। विदेशमा ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढिरहेको छ। विदेशमा नेपाली कामदारको ज्यान लिनेमा पछिल्लो समय मुटुरोग अगाडि देखिएको छ। स्वदेशमा रहँदासम्म मुटुसम्बन्धी कुनै समस्या नदेखिएका व्यक्तमा धमाधम मुटुको समस्या देखिन थालेपछि यसको कारण खोजी हुनुपर्ने आवाज समेत उठ्न थालेको छ। '४–५ महिना पहिला स्वास्थ्य परीक्षण गर्दा योग्य ठहरिएका व्यक्तिलाई समेत विदेशमा मुटुसम्बन्धी समस्या देखिन थालेपछि यसको खोजी गर्नुपर्ने बेला आएको छ,' एक मेनपावर व्यवसायीले भने, 'नत्र नेपाली कामदारलाई मुटुसम्बन्धी समस्या हुन्छ भन्दै विदेशी रोजगारदाताको चासो कम हुन सक्छ। यसले नेपालको वैदेशिक रोजगार व्यवसायमा असर पर्न सक्छ।'

मेनपावर व्यवसायी प्रज्ञान न्यौपाने विदेश जानेलाई दिइने अभिमुखीकरण तालिम प्रभावकारी छैन भन्ने उदाहरणका लागि विदेशमा नेपाली युवाले ज्यान गुमाउने र अंगभंग हुने घटना पर्याप्त भएको बताउँछन्। उनले भने, 'विदेशमा कसरी काम गर्ने र कस्तो ठाउँमा बस्ने भन्ने जानकारी नहुँदा धेरैले ज्यान गुमाउने गरेका छन्।'

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार २०६४ सालयता ४ हजार ४ सय १ कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये सबभन्दा धेरै मृत्युको कारण मुटुरोग देखाइएको छ। यस अवधिमा ९ सय ५४ जनाको मुटुरोगले मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ। हृदयाघातले थप ३ सय ११ युवायुवतीको विदेशमा मृत्यु भएको बोर्डले जनायो। २०६४ सालयता वैदेशिक रोजगारीमा रहेका ८ सय ६८ युवायुवतीको मात्र प्राकृतिक कारणले मृत्यु भएको छ। त्यस्तै, सडक दुर्घटनामा ५ सय ८० र कार्यक्षेत्र दुर्घटनामा ३ सय ४७ ले ज्यान गुमाएका छन्। ८ वर्षको अवधिमा खाडी, मलेसियालगायत मुलुकमा काम गर्न गएका ४ सय ६१ युवायुवतीले आत्महत्या गरेको बोर्डले जनाएको छ।

सबभन्दा बढी मलेसिया पुगेका कामदारले ज्यान गुमाएका छन्। हालसम्म मलेसियामा ज्यान गुमाउनेको संख्या १५ सय ९२ पुगेको छ। साउदीमा ११ सय ८०, कतारमा ९ सय ४६, युएईमा ३ सय ३४, कुवेतमा १ सय ३३, बहराइनमा ६२ र ओमानमा ४० नेपालीले ज्यान गुमाएका छन्।

गएको असार र साउनमा मलेसिया, साउदी अरब, कतार, युएइ, कुबेत, बहराइन र ओमान पुगेका १ सय ३२ कामदारको मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ। पुरुषको तुलनामा महिलाको मृत्यु कम भएको पाइएको छ। ८ वर्षको अवधिमा ४ हजार ३ सय १४ पुरुषले ज्यान गुमाउँदा ८७ महिलाको मृत्यु भएको छ। यसबीचमा सबभन्दा बढी महिला कुवेतमा मरेका छन्। कुवेतमा मर्ने महिलाको संख्या २६ छ।

आर्थिक उन्नतिका लागि वैदेशिक रोजगारीमा गएका युवायुवतीको उतै मृत्यु हुने क्रम बढेपछि त्यसको रोकथामका लागि सचेतना आवश्यक भइसकेको मेनपावर व्यवसायी बताउँछन्। 'के कारणले वैदेशिक रोजगारीमा रहेका युवायुवतीलाई मुटु रोग धेरै हुन्छ?,' यसबारे विदेश जानुअघि जानकारी दिनुपर्ने बेला आएको छ,' ग्रेस ओभरसिजका श्रम प्रतिनिधि दीपेन्द्र गौतमले भने, 'नत्र अझै यो संख्या बढ्ने खतरा छ।'

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी वैदेशिक रोजगारीमा रहेका युवायुवतीलाई मुटुसम्बन्धी समस्या हुनुको मुख्य कारणमा खाना र बसाइ भएको बताउँछन्। 'दिउँसो बाहिर निकै गर्मीमा काम गर्नु र रातिमा चिसोमा बस्नु पर्दा धेरैलाई मुटुसम्बन्धी समस्या हुने गरेको छ,' डाक्टर रेग्मीले भने। वैदेशिक रोजगारीमा रहँदाको काम स्वदेशको भन्दा जटिल र फरक हुने भएकाले युवायुवती तनावमा पर्ने र जसले मुटुसम्बन्धी समस्या बढाउने चिकित्सकको भनाइ छ।

२०६४ सालयताको मृत्यु
मुटु सम्बन्धी समस्या ९५४
हृदयघात ३११
प्राकृतिक मृत्यु ८६८
सडक दुर्घटना ५८०
आत्महत्या ४६१
कार्यक्षेत्र दुर्घटना ३४७
हत्या ४७

अन्य ७९६
स्रोत : वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
- अन्नपूर्ण पोष्ट