नेपालबाट श्रीलंका चार शून्यले पराजित

फाल्गुन १, सिलोङ:  १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान सिलोङमा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकविरुद्ध ४-० को जीत निकालेको छ ।

प्रमुख स्ट्राईकर अनु लामा बिना नै मैदानमा उत्रिएको नेपालले श्रीलंका विरुद्ध सहज जीत निकाल्न सफल भएको हो । यो जितसँगै महिला फुटबलले रजत पदक पक्का गरेको छ।

यो जितपछि नेपाल साग फुटबलको फाइनलमा पुगेको छ । अब नेपालको भेट स्वर्ण पदकका लागि भारत र बंगालदेशबीचको खेलको  विजेतासँग हुने छ । 

सिलोङस्थित जवहरलाल नेहरु स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि माया लिम्बूको क्रसलाई बचाउने क्रममा श्रीलंकन डिफेन्डरले गोल गर्न पुगेपछि नेपालले अग्रता लिएको थियो । 

पहिलो हाफ १-० मा टूंग्याएको नेपालले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको हो ।  नेपालका लागि ५१ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरिन् । २-० को अग्रता लिएको नेपालले त्यसपछि आक्रमक खेल खेल्यो । 

नेपालका लागि ६३ औं मिनेटम सावित्राले नै अर्को गोल थप्दै अग्रता तेब्बर पार्न सफल भइन् । खेलको ७९ अौं मिनेटमा सपना लामाले गोल गर्दै ४-० को अग्रता दिलाउँदै रजत पदक पक्का गराउन सफल भइन ।

यसअघि बिहीबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले  भारतसँग गोलरहित बराबरी खेलेको थियो । गत आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाली महिला फुटबल टोलीले माल्दिभ्सलाई २-० गोलले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० गोलले हराएको थियो।
- अन्नपूर्ण पोष्ट