मृगौलापीडित जय सुवेदीलाई १८ लाख ७ हजार ४४० रुपैयाँ सहयोग

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । गैह्र आवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रीय संयोजक कुल आचार्यले पोर्तुगलमा राजदूतावास स्थापनाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आचार्यले एनआरएन केन्द्रमा रहेको विवाद पूरै मिलिसकेकोले पटक्कै शङ्का नगर्न पनि अनुरोध गरेका छन् ।

संयोजक आचार्यको स्वागत, सम्मान र भेटघाट कार्यक्रममा मृगौलापीडित जय सुवेदीलाई १८ लाख ७ हजार ४४० रुपैयाँ बराबरको सहयोग जुटाइएको घोषणा पनि गरिएको छ । सहयोगका लागि बेल्जियम पर्वत समाजले ६०२, नेदरल्याण्डसले ५०७, अस्ट्रियाले ६१५, स्वीट्जरल्याण्डले ४५०, पोर्तुगलले ९३० युरो र जापान पर्वत समाजले ६९ हजार येन सहयोग जुटाएका छन् । सहयोगस्वरुप एनआरएन पोर्तुगलले ११६२, बेलायतले ३५५०, डेनमार्कले ४७९ युरो र बेल्जियम एनआरएनले ६ लाख रुपैयाँ सङ्कलन गरेको जानकारी दिइएको छ ।

आचार्यले आफूलाई युरोप संयोजकमा निर्विरोध चयन गर्न सहयोग पुरयाएकोमा पोर्तुगलका संघसंस्था प्रमुख तथा अगुवाहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा अवैतनिक बाणिज्यदूत मकरबहादुर हमाल, आइसीसी सदस्य रमेशकुमार गुरुङ र युरोप काँग्रेस काबा अध्यक्ष पूर्ण हमालले स्वागत र शुभकामना मन्तव्य राखेका थिए । 

भीम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सोम शेर्पाले गरेका थिए । कार्यक्रम एभरेष्ट नेपाल रेष्टुरेन्टमा भएको थियो ।