'नमस्कार हाम्रो विमानमा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ'

१३ फागुन, काठमाडौं : 'नमस्कार हाम्रो विमानमा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ।'

मुम्बईबाट काठमाडौँका लागि बुधबार साँझ उडेको नेपाल एयरलाइन्सको विमानमा अनाउन्समेन्ट भयो। सामान्यता यात्रुलाई विमानको क्रु मेम्बर र इमरजेन्सी एक्जिट ढोका, फ्लाइट सेफ्टी, मौसम लगायतको जानकारी दिन विमानमा अनाउन्समेन्ट हुन्छ।

तर, प्रधानमन्त्री चढेको अनाउन्समेन्टसँगै विमानमा सवार यात्रु खुसी भए। प्रधानमन्त्री ओली पनि राष्ट्रिय ध्वजाबाहक प्लेनमा यात्रुहरुसँग भेट गर्न हौसिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल भन्छन्, 'प्रधानमन्त्री चढ्नु भएको अनाउन्स भयो। अनि उहाँ पनि  यात्रुहरुसँग शिष्टाचारपूर्वक कुरा गर्न लाग्नुभयो। यात्रुहरुले म फलानो भन्दै परिचय दिए।'

प्रधानमन्त्रीसँग विमानमा धेरैले फोटो समेत खिचाउन भ्याए। 

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहाल भन्छन् – 'राष्ट्रिय ध्वजाबाहक भएपछि यात्रुहरुको सन्तुष्टि र उनीहरुको कुनै गुनासो छ कि भनेर पनि जान्न खोज्नुभयो।'

प्रधानमन्त्री चढेकै जहाजमा मुम्बईबाट यात्रा गरेका बैंकिङ एक्सपर्ट बीएन घर्ती भन्छन् – 'प्रधानमन्त्रीले १० मिनेट जति यात्रुसँग बिताउनुभयो।'

विमानमा यात्रा गरिरहेका नेदरल्याण्डका यात्रुले भने ६ दिने भ्रमणबाट भारतबाट असमझदारी हटेको बताउँदै फर्किरहेका प्रधानमन्त्रीलाई असहज प्रश्न गरेका थिए।

उनले सोधे – 'प्रधानमन्त्री ओली कहिले नेपाली जनताले ग्यास पाउँछन्?'

एउटा विदेशीले नेपालको वास्तविक समस्यामा प्रश्न गरेपछि प्रधानमन्त्री केहीबेर अडिए। अनि जवाफ दिए।

प्रधानमन्त्रीले भने – 'सबै नेपाली जनताहरुले सहजै ग्यास पाउँछन्। तर यसका लागि केही हप्ता कुर्नुपर्ने हुन्छ। समस्या के हो भने मानिसहरुले ग्यासका धेरै सिलिण्डरहरु ओगटेका छन्। हामी आशवादी छौं ग्यास र पेट्रोलियम पदार्थ केही समयमै सहजरुपमा उपलब्ध हुनेछ।'

प्रधानमन्त्री ओली नाकाबन्दीपछि भारतसँग उत्पन्न असमझदारी हटाउन भन्दै दिल्ली भ्रमणबाट फर्किए पनि राजधानीमा पेट्रोलियम पदार्थ सहज भएको छैन।

इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमले माग गरे बमोजिम पेट्रोलियम दिएको छैन। 
- पहिलोपोस्ट