नवयुगको ह्याट्रिकसँग नेपालको नाटकीय जित, १७ वर्षपछि सागको फाइनलमा

गुवाहटी, फागनु १ – १२ औं साग अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा पुगेको हाे । 

खेलको १५ औं मिनेटमा अन्जन बिष्टले गोल गरेर अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेर २–१ को अग्रता दिलाएका थिए । निकै रोमाञ्चक खेलमा ६५ औँ मिनेटमा नेपालका कमल श्रेष्ठ दोहोरो पहेँलो कार्ड पाएर बाहिरिए ।

माल्दिभ्सले ५१ औँ मिनेटमा गोल गर्दै खेल २–१ को अन्तरमा ल्यायो । खेलको ८५ औं मिनेटमा माल्दिभ्सले गोल गरेपछि २–२ को बराबरीमा निर्धारीत समय सकिएको थियो । थप समयको २४ औँ मिनेटमा गोल गर्दै माल्दिभ्सले अग्रता लियो ।

थप समयको २७ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै ३ – ३ को बराबरीमा लेराए । नवयुग श्रेष्ठले अर्को गोल मार्फत ह्याट्रिक पूरा गर्दै टिमलाई ४–३ को जित दिलाए । नेपाल १० खेलाडीमा सिमित भएपछि केही दबाबमा देखिएको थियो । थप समयको १५ मिनेटसम्म पनि दुवै टिमबाट गोल भएको थिएन ।

 ६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ को उपविजेता तथा माल्दिभ्स समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानलाई ५–० ले हराएको थियो भने बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
- उज्यालो अनलाइन