नारच्याङमा गएको पहिरो अझै रोकिएन, ५ जना सम्पर्कविहिन

म्याग्दी, फागुन ११ – म्याग्दी नारच्याङ गाविसमा गएको पहिरो अझै रोकिएको छैन । जंगलमा निगालो काट्न गएका पाँच जना पहिरोका कारण सम्पर्कविहिन भएका छन् । 

धुलोको मुस्लो आएको र घलेम्दी खोलाको पानी धमिलिएकाले अन्नपूर्ण साउथको बेसक्याम्पमा पहिरो गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुमान गरेको छ । 

लगातार पहिरो गएकाले घटनाबारे बुझ्न गएको सेना र प्रहरीको टोली घलेम्दी जलविद्युत आयोजना क्षेत्रभन्दा अघि बढ्न सकेको छैन । 

सोमबार राती १२ बजेदेखि देखिएको धुलोको मुस्लोका कारण नारच्याङ, दाना, भूरुङ–तातोपानी, सिख र घार गाविस क्षेत्र धुलाम्मे बनेको छ । बाक्लो तुँवालोका कारण हिँडडुल गर्न समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोले गर्दा राति केहिबेर घलेम्दी खोला थुनिएपनि अहिले भने खुलेको प्रहरीले जनाएको छ । 
- उज्यालो