रोल्पामा सौता ल्याउँदा जेठीले गरिन् श्रीमान र सासुको रातारात हत्या, ससुरा गम्भीर

रोल्पा, १३ फागुन । भनिन्छ महिलाको सबैभन्दा ठूलो सत्रु महिला नै हो । त्यसमा पनि सौता हाल्ने कुरा त सहनैसक्दैनन् ।

यो भनाईलाई रोल्पामा भएको एक घटनाले सत्य सावित गरिदिएको छ । एक मात्र होइन् दुई–दुई सौता ल्याएपछि एक महिलाले आफ्ना श्रीमान र सासुको रातारात हत्या गरेकी छिन् ।

सौता हालेपछि उनी माइतीघर बस्दै आएकी थिइन् ।

चिर्पट प्रहार गरी आफ्नै श्रीमान र सासुलाई मारेको अभियोगमा थवाङ–९ घर भई माइतीघर रुकुम महत–५ बस्ने ३६ बर्षीया तिल कुमारी पुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनले बुधबार राति ३५ बर्षीय श्रीमान बसन्त पुन र ६० बर्षीया सासु जमनसरा पुनलाई सुतिरहेको अवस्थामा माइतीघरबाट आई चिर्पट प्रहार गरी हत्या गर्नुका साथै मृतक बसन्त पुनको बाबु ६५ बर्षीय आस बहादुर पुनलाई समेत गम्भीर घाइते बनाएकी थिइन् ।

मृतक बसन्त पुनको तीनवटा श्रीमती रहेको र अभियुक्त जेठी श्रीमती भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
- दैनिक नेपाल