काठमाण्डौ, ६ असार – प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाई हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पातालमा कार्यरत छन् ।
त्यस्तै जोरपाटिको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रस नेताहरुका बुहारी हुन् । प्रहरी अधिकारीका अनुसार श्रीमान श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली छ भन्ने थाह भएको भए बिहे नै गर्ने थिइनँ,’आफ्नी श्रीमती पक्राउ परेपछि उनका श्रीमान सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए ।
पक्राउ परेका ३६ मध्य ६ जना महिला छन् । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ ।
हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्य डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ ।
त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेशन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सक समेत छन् ।
उनीहरुलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिव १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गर्दै छौँ ।’
- नयाँ पत्रिका

