काठमाण्डु, २९ असार– मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ । वीर अस्पताल सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटस्थित जग्गा छनोटसमेत गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यान्स) का उपकुलपति गणेश गुरुङलगायतको टोलीले मंगलबार जग्गाको अवलोकन गर्दै वीर अस्पतालका लागि उपयुक्त जग्गा फेला परेको जनाएको हो ।
उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न हजार शै्ययाको अस्पताल निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । वीर अस्पतालको स्थानान्तरण प्रक्रिया अघि बढेको मन्त्री पौडेलले बताए । राष्ट्रपतिदेखि गिटी कुट्ने मजदुरसम्मका व्यक्तिले समान रुपमा उपचार गर्न पाउने उच्चस्तरीय असपतालका रुपमा विकास गरिने उनले बताए ।
सरकारले वीर अस्पताल सञ्चालनका लागि उपत्यकाभित्र ५ सयदेखि हजार रोपनी जग्गाको खोजी गरिरहेको थियो । सरकारले बजेट भाषणमा पाँच सय रोपनी क्षेत्रफलमा वीर अस्पताल सारेर अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणा गरेको छ ।
- कान्तिपुर दैनिक

