एजेन्सी, २ भदौ । झट्ट सुन्दा यो पत्याउनै सकिँदैन । किनकि, हामीले लामो समययता पढ्दै आएका छौँ– बलिउड अभिनेता सलमान खानले यो वर्षभित्र विवाह गर्ने तय गरेका छन् ।
केही समयअघि विभिन्न आरोपमा अदालतले सफाइ दिएपछि उनले विवाह गर्ने सम्भावना झन् बढेको रिपोर्ट आइरहेका थिए । तर, खासमा त उनले विवाह गरिसकेका छन् ।
कम्तीमा पनि रोमानियाका पत्रपत्रिकालाई पत्याउने हो भने यो कुरा विश्वास गर्न तयार हुनैपर्छ । रोमानियाका मिडियाका अनुसार सलमानले रोमानियन मोडल युलिया वन्तुरसँग विवाह गरेका हुन् ।
सलमान फिल्म ‘ट्युबलाइट’को सुटिङका लागि केही समयअघि लद्दाख पुगेका थिए । त्यही ठाउँमा सलमानले युलिया मात्र होइन, उनका बाबुआमालाई पनि भेटेका थिए ।
त्यो भेट विवाहका लागि भएको र सलमान र युलियाले विवाह गरिसकेको रोमानियाका मिडियाले दाबी गरेका छन् । यता, भारतीय मिडियाले भने यो दाबीमा आश्चर्य व्यक्त गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।