अमेरिकामा नेपाली युवकको निधन

कान्सास सिटी,अमेरिका,अगष्ट २८ | स्थानीय लरेन्स शहरमा बस्दै आएका नेपाली मूलका युवा अर्जुन ढुंगानाको निधन भएको छ | झापा पुर्ख्यौली थलो भएका ३० वर्षका अर्जुनको गत मंगलवार राती निधन भएको उनका सहकर्मी रोहण पुजारीले जानकारी दिएका छन् | 'बुधवार अफिस नआएपछि अर्जुनको बारे सोधखोज भयो,फोन पनि नउठ्ने र अपार्टमेन्टमेन्ट पनि नखुलेपछि साथीहरुले प्रहरीलाई खबर गरेर अपार्टमेन्ट खोलेर हेर्दा प्रहरीले अर्जुनको मृत शरीर फेला पारेछ' रोहणले भने | 

छ महिना पहिले मात्र नेपाल गएर बिहे गरेर फर्केका अर्जुनका परिवार हाल भक्तपुरमा बस्दै आएका छन् |'अर्जुन अत्यन्त मिलनसार र मित्रवत रहेको र सबैले मन पराउने उनको स्वभाव थियो,तर खै के भयो,अल्पायुमै उनी हामीबाट टाढा भए'रोहणले कन्सास सिटीबाट फोनमा भने |

अहिले उनको निधनको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ | हालसम्म उनको निधनको कारण बारे केही थाहा हुन सकेको छैन | रोहणका अनुसार अर्जुनले प्रयोग गरेको सेलफोन र कम्प्युटर समेत प्रहरीले अनुसन्धान गरिरहेको छ |

अहिले अर्जुनको शवलाई लरेन्सकै एक स्थानीय चर्चमा रकहिएको छ | यता लामो समयसम्म लस एञ्जलसमा बसेर केही पहिले मात्र कन्सास सिटी सरेका अर्जुनको निधन सुनेर आफुहरु स्तब्ध भएको भन्दै नेपाल अमेरिका एकता समाज,लस एञ्जलसका अध्यक्ष सूर्य प्रसाईंले अर्जुनको पोष्टमार्टम समेत भैसकेको आफुले जानकारी पाएको बताएका छन् | 'अत्यन्त मिलनसार थिए उनी, हामी अत्यन्त स्तब्ध भएका छौं र अहिले अर्जुनका एक जना साथी लस एञ्जलसबाट कन्सास सिटी गएका छन् र हामी के कसरी अब बाँकी प्रक्रिया अघि बढाउने भन्ने बारे छलफल गरिरहेका छौं'अध्यक्ष प्रसाईंले भने | 

उनका अनुसार,नेपालमा अर्जुनकी आमा र श्रीमतीसंग कुरा भएको छ र उहाँहरु दुवै नै शव बुझ्न र दाहसंस्कार गर्न आउने बारे छलफल भएको छ | अर्जुनका साथी रोहणका अनुसार अहिले कान्सास सिटीमा अर्जुनका विभिन्न राज्यमा रहेका साथीभाईहरु पुगिसकेका छन् |'डाल्लास,ह्युस्टन,लस एञ्जलस लगायतका शहरबाट अर्जुनका साथीहरु आएका छन्'रोहणले भने |

अहिले अर्जुनको दाहसंस्कारका लागि सहयोग संकलन कार्य सुरु गरिएको छ | यसका लागि गोफण्डको यो लिंकमा किल्क गरी तपाईंहरु पनि सहयोग गर्न सक्नुहुनेछ |​
ग्लोबनेपालबाट