न्युरो सर्जरीमा चमत्कार ल्याउने डाक्टर यमबहादुर रोका

अप्रेसन र बिरामीको हेरचाहमा प्रायः व्यस्त भइरहने डा. यमबहादुर रोका शनिबार यही परिस्थितिको सामना गर्दागर्दै भेटिएका थिए। आफ्नो विभागमा आइपुग्ने जटिल प्रकृतिका ‘केस' बाट पीडितलाई उन्मुक्ति दिलाउन २४ सै घन्टा खट्ने डाक्टर रोका सेतोपाटीले समय लिएपछि कुराकानीका लागि राजी भएका थिए।

न्युरो सर्जरी शून्यको स्थितिमा रहेको पूर्वमा यदि रोका आइनपुगेका भए सडक दुर्घटनामा परेका धेरैले ज्यान गुमाइसकेका हुन्थे होला। न्युरो सर्जरीमा यहाँ चमत्कार ल्याउने उनै रोका हुन्, जसले विराटनगरमा न्युरोस्पेशल अस्पताल नै स्थापित गराए।

‘मेहनत गर्दैछु,' रोका भन्छन्, ‘अझै धेरै प्रगति गर्न बाँकी छ, हरदम प्रयास गर्दैछु।'

सिलिगुडीमा डा. चाङ र विराटनगरमा रोका भनेपछि धेरैले कान ठाडा पार्छन्। डा. चाङकहाँ र रोकाकहाँ टाउको ल्याङफ्याङ भएर मान्छे पुग्छन्। परिवारले आश मारिसकेकालाई ठीक पारेपछि स्याबासी खान्छन् डाक्टर रोका।
***

दुर्घटना, रुखबाट लड्ने, भरुवा बन्दुक चलाउँदा गोली फर्किएर आफ्नै टाउको छेडिने, झगडामा टाउको फुटाएर सिकिस्त भएकाहरू रोकाकहाँ आइपुगेका हुन्छन्।

उनले हालसालै अप्रेसन गरेर टाउकोबाट निकालेको गोली देखाए।

ट्युमर, एन्युरिजमजस्ता जटिल शल्यक्रिया रोकाले सम्भव गराएका छन्। कहिलेकाहीँ त सबैतिरबाट फर्काइएका बिरामीको सफल शल्यक्रिया गरेर चमत्कार पनि देखाएका छन्। टाउकोमा नसाको गुजुल्टो परेर बित्न लागेका बिरामीलाई शल्यक्रियामार्फत नयाँ जीवन दिएका छन्।

अहिलेसम्म दुई हजारभन्दा बढीको टाउको नियालेका छन्, रोकाले। धुजा परेको मस्तिस्क नियालेका छन्। यो संख्याको पाँचौं गुणाबढीको उपचार पनि गरेका छन्।

‘कहिलेकाहीँ त यस्तो हुन्छ कि,' उनले हाँस्दै भने, ‘आज बेलुका अप्रेसन थाल्यो, भोलि उज्यालो हुँदा मात्र सकिन्छ।'
...

बाग्लुङ जिल्ला पैयुँपाटा गाविस–९ मा रोकाको जन्म २०२८ सालमा भयो।

बुबा पदमबहादुर भारतीय सैनिक थिए। चार वर्षको उमेर छँदै बाबुले रोकालाई भारत पुर्‍याए।

उतै पढ्ने, उतै बस्ने अनि भारतीय सेनाको लाहुरे बन्ने सपना थियो।

अरू जे जसो भए पनि पदमबहादुर सन्तानको शिक्षादीक्षामा धेरै ध्यान दिने गर्थे।

‘सुरूमा मेरो पढाइ मद्रासमा भयो,' रोका भन्छन्, ‘त्यसपछि कालिङपोङको सेन्ट मगस्टिम स्कुलमा पुगेँ।'

सेन्ट अगस्टिम यस्तो स्कुल थियो, जहाँ पश्चिमी भेगका विद्यार्थी भेट्नै मुस्किल हुन्थ्यो। पूर्वी भेग नजिक भएका कारण त्यतैका विद्यार्थी छ्याप्छ्याप्ती भेटिन्थे।

टाढाको जिल्ला बाग्लुङमा त्यतिबेला बाटाघाटा बनिसकेकै थिएनन्।

६ कक्षासम्म त्यतै अध्ययन सके।
***

६–१२ सम्मका लागि नयाँ ठाउँ जानुपर्ने भयो।

दक्षिण भारतको कर्नाटक जहाँ राष्ट्रिय मिलिटरी स्कुल थियो। भारतभरि जम्मा पाँच वटा मात्र यस्ता स्कुल थिए, यहाँ इन्ट्रान्स परीक्षा दिँदा उनले नाम निकाले।

‘बुबा आफू आर्मी भएका कारण कहाँ–कहाँ जानुहुन्थ्यो, म होस्टेलमा बस्थें, उहाँले आर्मी नै बनोस् भन्ने चाहनुहुन्थ्यो,' आफ्नो विगत कोट्याउँदै रोका भन्छन्, ‘१२ सकेपछि सन् १९८९ मा एयरपोर्सको परीक्षा दिएँ, त्यहाँ पुरै भारतभरिमा फस्ट भएँ।'

अब त्यसैतिर भर्ना हुन भनेर सोचिरहेका रोकाको शरीरमा समस्या देखियो, उनको एयरपोर्सको थप सपनामा पूर्णबिराम लाग्यो।

‘कम्मरमा समस्या छ भनेपछि एयरपोर्सको सपना रोकियो,' उनी भन्छन्, ‘फाइटर बन्ने सपना थियो, त्यो पनि नपाएपछि छोडिदिएँ।'
***

एयरपोर्स र फाइटर सपना स्थगित भएपछि बाबुले आर्मीमा भर्ना हुन भनेर सल्लाह दिएछन्। तर प्लस टुको परीक्षामा आएको नतिजामा अर्को उत्साह ज्यूँदै थियो।

८४ प्रतिशत अंक ल्याएका उनले बायोलोजीमा मात्र ९८ प्रतिशत ल्याएका रहेछन्।

आर्मीभन्दा यतापट्टि नै ध्यान केन्द्रित भयो।

‘त्यसपछि बिएस्सी भर्ना भएँ,' उनले भने, ‘एमबिबिएस चाहिँ मैले बनारस युनिभर्सिटीमा पूरा गरें।'

१९९१–१९९७ एमबिबिएस सकेपछि उनी मास्टर इन सर्जरीको अल इन्डिया कम्पिटिसनमा सहभागी बने। त्यहाँ सिट पाएपछि उनले सन् २००० सालमा सुरू गरे । त्यो सकेपछि भारतमै काम गर्ने अनेकौं बाटा थिए, तर उनलाई आफ्नो मातृभूमिको सधैं माया लाग्थ्यो।

त्यसैले उता मन अडिएन।
...

उनी नेपाल फर्के।

भारतबाट नेपाल तीन दिन रेल, गाडी, त्यसपछि पैदल हिँड्दा पाँच दिनमा बाग्लुङ घर पुग्थे।

६ कक्षादेखि नै उनी एक्लै आउजाउ गर्दा रहेछन्।

बुटबलबाट स्याङ्जा गाडी जान्थ्यो। त्यसपछि एक दिन हिँडेर बाग्लुङ पुग्नुपर्थ्यो।

‘एमबिबिएस गुरुन्जेल म पैदल हिँडेको छु,' रोका सम्झन्छन्, ‘बाटोघाटो नराम्रो, झरी हुन्थ्यो कहिले, तर जे भए पनि पार लगाउनुपर्थ्यो, ठाउँठाउँमा बुबाले मान्छे चिनाइदिएका कारण सजिलो हुन्थ्यो।'

सन् २००० सालमा पढाइ सकेपछि पहिलोपटक बल्ल दसैं उनले घरमा मनाए।

‘सानोमा मनाइयो होला तर ठूलो भएपछि दसैं मनाएको २००० सालमा पहिलोपटक हो,' उनी भन्छन्।

२०/२५ वर्ष भारतमै बिताएका रोकालाई नेपालमा काम गर्न त्यति सजिलो थिएन। तै पनि नेपाली हुनुको नाताले विदेशमा बसेर सेवा गर्न अफ्ठेरो लागेछ।

उनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु गरे।

तीन वर्ष त्यहाँ काम गरेपछि उनले पूर्वमा न्युरो सर्जरीको धेरै ठूलो समस्या देखेका रहेछन्।

‘कि सिलिगुडी कि काठमाडौं लैजानुपर्ने बाध्यता थियो, यहाँ केही हुँदै नहुने,' उनी भन्छन्, ‘त्यसपछि मलाई न्युरो सर्जरीतिर इच्छा जागेर आयो, केही गर्छु भन्ने हिम्मत जुट्यो।'
***

न्युरो सर्जरी कहाँ पढ्ने? उनी केही समय सोचनीय बनेछन्।

भारत बसेको हुनाले उतै जाँदा पनि हुन्थ्यो। तर नेपालमै बस्ने र नेपालको परिस्थितिबारे जिज्ञासा भएका कारण काठमाडौं पढ्ने निधो गरे।

नेसनल एकेडेमी मेडिकल साइन्ससेज।

जो, पहिलोपटक नेपालमा खुलेको थियो। त्यहाँ भर्ना भए।

डा. उपेन्द्र देवकोटाले न्युरो सर्जरी पढाउँथे।

न्युरो सर्जरी पूरा गरेपछि उनी सिंगापुरतिर हानिए। डेढ वर्षजति उता बस्दा पनि न्युरो सर्जरीकै विषयमा अध्ययन अनुसन्धान गरेछन्।

त्यसपछि उनी नेपाल फर्के।

पूर्वमै बस्छु भन्ने भावना पलायो, यहीँ केही गरौं भन्ने उद्देश्य लिए।

पूर्वमा कहीँ कतै न्युरो सर्जरी त थियो, तर  आइसियु सिस्टम (न्युरो सर्जरीको लागि नभइ नहुने) नै थिएन।

न्युरो सर्जनमात्र भएर पनि न्युरो सेवा सञ्चालन सम्भव थिएन, न्युरोलोजिष्ट डाक्टर पनि चाहिन्थ्यो।

यही सिलसिलामा रोकाले डा. वीरेन्द्र विष्टलाई फेला पारे। उनले विराटनगरमा भर्खर भर्खर न्युरो अस्पताल सुरु गरेका थिए।

सन् २००९ देखि डा. रोकाको प्रवेश न्युरो अस्पतालमा भयो।

‘न्युरोलोजिष्ट र सर्जन दुबै भएको ठाउँमा काम गर्न सजिलो हुन्छ भनेर मैले जोइन गरें,' रोका भन्छन्, ‘म यहाँ आउँदा एउटा सिटिस्क्यान मात्र थियो, केही समयपछि सिटी, एमआरआई र आइसियु पनि ल्याइयो, ६ बेड आइसियुलाई विस्तार गरेर १५ बेड पुर्‍यायौं।'

न्युरो उपचारले पूर्वक्षेत्रमै नाम कमाएको न्युरो अस्पताल अहिले सय बेडको भइसकेको छ। प्रसूति रोगबाहेक सबै सेवा विस्तार गरेको छ।

यति हुनुमा रोकाको योगदान महत्वपूर्ण छ।
...

सन् २००१ मा उनको बिहे पोखराकी केटीसँग भएको थियो।

उस्तै व्यवसायका भएका हुनाले पारिवारीक जीवन सुखद् छ। समझदारी छ। समयको ख्याल राखेका छन्। परिस्थिति नजिकबाट नियालेका छन्।

रोकालाई जतिबेला पनि अस्पताल पुग्नु परिहाल्छ। कतिबेला कहाँबाट सिरियस बिरामी आइपुग्छन्, पत्तो हुँदैन।
रातबिरात सर्जरीको तयारी गर्नुपर्छ।

त्यसैले न्युरो अस्पतालकै छेऊमा उनले डेरा राखेका छन्।

उनको सर्जरी टिममा अन्य चार जना डाक्टर छन्। नर्सहरू धेरै छन्।

श्रीमती नारायणी रोका यहीँको गोल्छा आँखा अस्पतालकी डाक्टर हुन्।

दुई छोरा छन्। जेठा सुयम १० र कान्छा सफिम रोका ९ वर्षका भए।

हाल काठमाडौं बानियाँटार घर भएका रोकाका भाइ कृष्ण अमेरिकामा बस्छन्। उनी पनि डाक्टर नै हुन्।

तीन दिदीहरू जेठी दिदी चम्पा खड्का बाग्लुङमा छिन्। उनका दुबै छोरा डाक्टर छन्।

स्व. हरिबहादुर खड्काकी श्रीमती चम्पा अहिले बाग्लुङको १ नं. क्षेत्रबाट चुनाव पनि लड्दैछिन्। सभासद् खड्काको ज्यान गुमेपछि उनको स्थानमा हुन लागेको चुनावमा चम्पा आफैं उठेकी छिन्।
***

मान्छेको मृत्यु केही पनि हैन भन्ने उनले देखाका छन्, अनुभव गरेका छन्, बुझेका छन्। परिस्थितिले साथ दिए मान्छेको ज्यानमा धेरै सम्भावना देख्छन् रोका।

‘विशेषगरी टाउकोमा गम्भीर चोट लागेको बिरामी जति छिटो आइपुग्छन्, त्यति नै सम्भावना हुन्छ,' उनी भन्छन्, ‘जति ढिलो भयो, बचाउन सकिँदैन।'

यो कुरा गरिरहँदा रोका आफ्नै भिनाजुको निधन सम्झेर दुःखित् भए।

दुर्घटनामा टाउको लथालिंग भएका सभासद् खड्काको समयमा उद्दार हुन नसकेर गत मंसिरमा निधन भएको थियो। बाग्लुङेलीका प्यारा खड्का बित्दा जिल्लै रोएको थियो।

हेर्नुहोस् यो पनि।

बाँसबारीसम्म जसोतसो पुर्‍याए पनि उद्दारमा समय लागेका कारण सभासद् खड्काको मृत्यु भएको थियो।
‘म आफैं न्युरोसर्जन भएर आफ्नै दिदीको सिन्दुर रक्षा गर्न सकिनँ,' रोकाले अफ्ठेरो मान्दै भने, ‘तर मैले संकल्प गरेको छु, सबैको पछाडि परिवार छ, त्यो परिवारलाई शोक पर्न दिँदिनँ।'
***

न्युरोक्षेत्रलाई अझै विस्तार र व्यापक बनाउन उनलाई रहर लागेको छ। त्यसैले ठाउँ–ठाउँमा जान्छन्, मान्छे भेट्छन्, बिरामीका समस्या बुझ्छन्। बुझाउने प्रयत्न गर्छन्।

निःशुल्क स्वास्थ्य शिविर राख्छन्। अनि बिरामीलाई सल्लाह सुझाव दिन्छन्।

‘मैले पश्चिममा पनि सेवा पुर्‍याउनु छ,' उनी भन्छन्, ‘यहाँ मजस्तै कोही डाक्टर भएपछि मात्र मेरो उद्देश्य पश्चिमतिर पुग्नेछ।'

नैतिकता, इमानदारीता र आचारसंहितामा विश्वास गर्ने उनी कहिलेकाहीँ यस्तै विषयमा झमेला हुँदा चिन्तित बन्ने गरेका छन्।

अप्रेसन गर्दागर्दै कहिलेकाहीँ असफलता हात लाग्छ। अनि अप्रेसनमा लापरबाही गरेको भनेर मान्छे झमेला गर्छन्। विशेषगरी राजनीतिक पार्टीका नेता/कार्यकर्ताबाट यस्तो भोगेका रहेछन्।

‘राजनीतिक क्षेत्रका मान्छेले बढी झमेला गर्छन्,' उनी भन्छन्, ‘त्यसैले धेरै विचार गरेर मात्र भर्ना लिन्छु, जस्त्ाो कि सफलता हात पर्छ पर्दैन पूर्वानुमान गरेरै थाल्छु।'

देशका लागि केही गरुँगरुँ जस्तो लाग्ने गरेको बताउने रोका अरुलाई पनि यही बाटोमा हिँडेको देख्न चाहन्छन्।

‘इथिक्समा बसेर काम गरौं, यसले राम्रो रिजल्ट दिन्छ,' उनको सल्लाह छ, ‘सबैजनाले आफ्नो क्षेत्रबाट देशको निम्ति केही गरौं।'
- खिलानाथ ढकाल/सेतोपाटी