२२ वर्षीय अस्ट्रेलियन युवा भन्छन् : 'नेपालीले जिन्दगीभर अरूको भरमा बाँच्नु नपरोस्'

काठमाडौं, वैशाख १२ । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए । विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् । तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक 'निक अब्राहिम' भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुट्नुभएको छ ।

चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिनुभएका निकले देख्नेबित्तिकै आफ्नै लवजमा 'नमस्टे' भन्नुभयो । कुरा गर्दागर्दै उहाँले आफ्नो नेपाल बसाइको व्याख्या गर्नुभयो । काठमाडौं साँखुबाट करिब २५ किलोमिटरमाथि शंखरापुर नगरपालिका-८ (साविक १२) घुमारचोकको तामाङ बस्तीमा बस्नुभएका निकलाई स्थानीयले नेपाली नाम पनि राखिदिएका रहेछन् । त्यो नाम आफैं सुनाउनुभयो, 'मेरो नेफाली नाम हो निकलेसबहादुर तमाङ।'

गोरखा भूकम्पको तीन महिनापछि नेपाल आउनुभएका निकले अहिलेसम्म एक्लो प्रयासमा घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयको दुईकोठे भवन, वनदेवी आधारभूत विद्यालयको ६ कोठे भवन र एउटा स्वास्थ्यचौकी बनाइक्नुभएको छ ।

कसरी नेपाल आउनुभयो ?

'आमाको मृत्युपछि म र मेरो भाइले घर छाड्ने निर्णय गर्‍यौं', घर छाड्दाको अवस्था सम्झिँदै निक भन्नुहुन्छ, 'त्यसपछि म सहर पसें, दिउँसो घर बनाउने र राति बारमा काम सुरु गरें ।' बारमा काम गर्दागर्दै निकको त्यहीँ काम गर्ने नेपालीसँग चिनजान भयो । 'त्यो बारमा धेरै नेपाली युवाले काम गर्थे, मैले भेटेका नेपाली एकदम 'अमेजिङ' छन्', निक भन्नुहुन्छ, 'नेपाली आफ्नो परिवारलाई सहयोग गर्न र पढाइलाई निरन्तरता दिन हप्तामा २० घन्टा काम गर्थे ।'

निक नेपाल आउनुको संयोग पनि त्यही बारले जुराइदिएको रहेछ । एक दिन बारमा काम गर्दागर्दै सबै नेपाली एकसाथ रोएको दृश्यले निकको ध्यान तान्यो । सबै नेपाली रोएपछि निकले ०७२ वैशाख १२ मा शक्तिशाली भूकम्पले नेपालमा क्षति पुगेको थाहा पाउनुभयो । 'त्यसपछि मैले नेपालीलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्न थालें', निक भन्नुहुन्छ, 'सबै कुरा सुनेपछि मलाई नेपाल आउन मन लाग्यो ।' निकसँगै उहाँका हजुरबा जिभानी डिलुगा पनि नेपाल आउन चाहनुहुन्थ्यो । तर, क्यान्सरपीडित हजुरबालाई चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका थिए ।

'नेपालमा भूकम्प गएको भनेपछि उहाँ पनि मसँगै आउन लाग्नुभएको थियो तर डाक्टरले हजुरबुबालाई नजानू भन्यो', निकले हजुरबालाई सम्झँदै भन्नुभयो, 'हजुरबुबा नआए पनि म भूकम्प गएको तीन महिनापछि नेपाल आएँ, भूकम्पले भत्काएका विद्यालय भवन बनाउन सुरु गरेँ ।'

निकले जति काम गर्नुभएको छ, सबै निस्वार्थ छन् । ६ महिना बसेर विद्यालय बनाउने काम गर्दा स्थानीयले मन पराएपछि निकलाई काम गर्न झन् बल पुग्यो । 'गरेपछि काम किन हुँदैन ? हुन्छ । म सक्षम छु । म काम गर्न सक्छु', निक आत्मविश्वाससाथ भन्नुहुन्छ, 'मैले अहिलेसम्म जति पनि काम गरेँ, त्यसमा मेरो कुनै स्वार्थ छैन, व्यक्तिगत परि श्रमबाहेक मैले विद्यालय निर्माणमा मात्र अहिलेसम्म २८ हजार डलर खर्चिएको छु, नेपालीलाई सहयोग गर्न पाउँदा खुसी छु ।'

निक घुमारचोककै भोलेन्टियर भवनमा बस्नुहुन्छ । बिहान साढे ५ बजे उठ्ने निक राति ११ बजे मात्र सुत्नुहुन्छ । उहाँलाई नेपालको इन्टरनेटले भने खुब दुःख दिएको रहेछ । 'सुत्नुअघि ई-मेल हेर्छु तर इन्टरनेट नै राम्रो चल्दैन', निक भन्नुहुन्छ, 'त्यसले गर्दा पनि छिटो सुत्न पाउँदिनँ ।'

निक अहिले भने दुई प्रोजेक्टमा व्यस्त हुनुहुन्छ । वनदेवी आधारभूत विद्यालयको ६ कोठे दुईतले भवन र स्थानीय नौ परिवारका भूकम्पपीडितका घर बनाउने चटारो निकलाई छ । वनदेवी विद्यालयको भवन निर्माणका लागि ५१ लाखको योजनासहित काम भइरहेको छ । त्यसमा निक र उहाँका भोलेन्टियर साथी सक्रिय हुनुहुन्छ ।

यता, घुमारचोककै नौ परिवार भूकम्पपीडितका घर निर्माणका लागि हेमसरिता फाउन्डेसनका संरक्षक हेम पाठकले प्रतिपरिवार दुई-दुई लाख सहयोग रकम दिइसक्नुभएको छ । थप दुई लाख रकम सरकारबाट प्राप्त हुनेछ । यी घर निर्माणमा निकले भने भोलेन्टियरका रूपमा सहयोग गर्दै हुनुहुन्छ ।निकले योसँगै साँखुमा वर्षको २५ हजार भाडा तिरेर साढे दुई रोपनी जग्गा भाडामा लिएर पुनर्निर्माणका निम्ति इँटा उत्पादनको काम सुरु गर्नुभएको छ ।

काठमाडौं जिल्ला प्रशासनमा 'फ्रम द ग्राउन्ड अफ इन्टरप्राइजेज लिमिटेड नामको कम्पनी दर्ता गरेर उहाँले माटो, सिमेन्ट र बालुवा मिसाएर इँटा बनाउने काम सुरु गर्नुभएको हो । 'यो कम्पनी नाफामूलकभन्दा पनि समाजसेवामा केन्द्रित हुन्छ', कम्पनीको उद्देश्यबारे सोधिएको प्रश्नको जवाफमा निकले भन्नुभयो, 'यसबाट आएको नाफा सबै नेपालको पुनर्निर्माणमा खर्च गर्छु ।' उक्त कम्पनीबाट इन्टरलक ब्लक र पेबर उत्पादन कार्य सुरु गर्दै हुनुहुन्छ ।

को हुनुहुन्छ निक ?

निक अस्ट्रेलियाको सानो सहर मेरेन्जमा जन्मिनुभएको हो । उहाँका पिता कृषि पेसामा सक्रिय हुनुहुन्थ्यो । गाईभैंसी, भेडालगायत पशुमा देखिएको जस्तोसुकै रोगको उपचार गर्नुपरे पनि निकका बुबाको खोजी हुन्थ्यो । निकलाई विद्यालय तहको पढाइ सकेपछि बुबाको भन्दा हजुरबुबाको पेसाले आकर्षित गर्‍यो । 'मेरो विद्यालय जीवन सकिएपछि मैले घर निर्माणको काम सुरु गरें', निक भन्नुहुन्छ, 'मेरा हजुरबुबा घर बनाउने काम गर्नुहुन्थ्यो, त्यसैबाटै मलाई घर बनाउने काम गर्ने प्रेरणा मिलेको हो, मलाई घर बनाउन निकै मन लाग्छ । ठुल्ठूला घर बनाउनु मेरो रहर हो ।'

नेपाली संस्कृतिको सम्मान

निकलाई नेपाली संस्कृति खुब मनपर्छ । नेपाली समाजको प्रशंसा गर्दै भन्नुहुन्छ, 'यहाँ जो-कोही पनि एकअर्कालाई हेरेर मुस्कुराउँछन् तर अस्ट्रेलियामा कसैले कसैको वास्ता गर्दैन । हाम्रो समाज सामाजिक सञ्जाल फेसबुकजस्तै छ, एकैछिनमा जोडिने अनि एकैछिनमा तोडिने ।'

छोटो नेपाल बसाइका क्रममा निकले नेपालको सामाजिक दृष्टिकोणलाई समेत नजिकबाट अध्ययन गरिसक्नुभएको छ । 'नेपालको वैवाहिक जीवन पनि राम्रो लाग्छ । तर, यहाँ हाम्रोमा जस्तो विवाहपछि सम्बन्धविच्छेद भइहाल्दैन, विवाह गर्ने जोडी एकअर्काप्रति प्रतिबद्ध र समर्पित हुन्छन्', निक भन्नुहुन्छ, 'तर हाम्रोमा जीवनसाथीको सोचाइ कुनै बेला पनि परिवर्तन हुन सक्छ ।'

निकलाई सबैले हाँसेर नमस्ते भनेको धेरै प्रिय लाग्ने रहेछ । 'सांस्कृतिक हिसाबले पनि मलाई नेपाल धेरै मन पर्छ', निक भन्नुहुन्छ, 'सबै जनाले हँसिलो अनुहारमा नमस्ते, नमस्ते भन्नुहुन्छ यही नै मलाई निकै प्रिय लाग्छ ।'

नेपालीको परिवारसँग बस्ने संस्कारले समेत निक प्रभावित हुनुहुन्छ । 'म बसिरहेको साँखु गाउँ निकै रमाइलो छ, सबैले सबैलाई परिवारजस्तै गर्छन् । सबै मिलेर बस्छन् । हाम्रो संस्कृतिमा १६ वर्ष उमेर कटेपछि परिवारसँग बस्न पाइँदैन', निक भन्नुहुन्छ', 'नेपालमा बूढाबूढी हुँदासम्म पनि परिवारका सबैजना सँगै बस्छन् । यो नै मलाई नेपालको सबैभन्दा धेरै मन पर्ने पक्ष हो ।' 

घुमारचोकमा निकलाई सबैले सामाजिक कार्यकर्ताका रूपमा हेर्छन् । निकबारे स्थानीय समाजसेवी हितमान तामाङ भन्नुहुन्छ, 'सबै गाउँले निकलाई गाउँकै सदस्यका रूपमा हेर्छन्, गाउँका सांस्कृतिक र धार्मिक कार्यक्रममा समेत उपस्थित हुने निकले गत वर्षको दसैंको टीकासमेत मेरै घरमा लगाए ।'

नेपालमा हुँदा निक आफ्ना हजुरबालाई धेरै सम्झनुहुन्छ । नेपाल आएको सुरुका दिनमा उहाँलाई खुब तनाव हुन्थ्यो । तर, निकसँग तनाव समाधान गर्ने छुट्टै विकल्प रहेछ । 'कहिलेकाहीँ त फ्रस्टेसन पनि हुन्छ, त्यतिबेला हजुरबालाई सम्झन्छु अनि १०९२६२९८९८ भनेर नम्बर गन्ती गर्न थाल्छु । यसले मलाई शक्ति दिन्छ ।' यो उहाँका हजुरबुबाको निर्माण व्यवसायी नम्बर रहेछ । यो नम्बरलाई निकले आफ्नो बायाँ हातमा खोपेरै सुरक्षित गर्नुभएको छ ।

यस्तो छ निकको लक्ष्य

जिन्दगीभर समाजसेवा नै निकको लक्ष्य हो । उहाँले समाजसेवाका लागि धेरै कम्पनी स्थापना गरिसक्नुभएको छ । 'म अहिले जसरी बाँचिरहेको छु र समाजसेवामा लागिरहेको छु त्यसैगरी हिँड्न सम्भव छ ।'म नेपाल कस्तो छ भनेर हेर्न भन्दा पनि केही गर्न आएको हुँ, त्यसैले म नेपालीलाई माछा मारेर दिनेभन्दा पनि माछा मार्न सिकाउने काम गर्न चाहन्छु', उहाँले भन्नुभयो, 'जसले गर्दा जिन्दगीभर कोही पनि नेपाली अरूको भरमा बस्नु र बाँच्नु नपरोस्।'
- अन्नपूर्ण पोष्ट