ग्युर्मे खोज्दै

३ अक्टोबर । नेपालमा छु म । 

म सधैं ती प्रश्नहरूको सामना गर्छु, जुन कुरा मलाई मन पर्दैनन् । 
¬
– महिनामा कति छापिन्छ युरो ?

– केमा छ हो लगानी ?

– अब युरोपमै बस्ने होला क्यारे !

म अचाक्ली अस्थिर स्वभावको छु । जेमा खुसी लाग्छ, त्यही गर्छु । मन लागे काम गर्छु, नलागे गर्दिनँ । कहिल्यै नगएका ठाउँ जान चाहन्छु । थाहा नभएको स्वाद लिन चाहन्छु । थाहा नभएका कुरा सिक्न÷हेर्न चाहन्छु । यसैका लागि कमाउँछु र यस्तै कुरामा लगानी गर्छु । पृथ्वीमा रहुन्जेल कतै पनि स्थिर भएर बस्दिनँ । आफूलाई जे कुराले खुसी दिन्छ, त्यसैका लागि यताउता कुदिरहन्छु । 

मलाई थाहा छ, मेरा उत्तर प्रश्नजस्ता सीधा छैनन् र यसले उनीहरूको जिज्ञासा पनि मेटाउँदैन । सँगै क्याम्पस पढेको र हाल कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार साथीको जवाफमा मैले यस्तै उत्तर दिएको थिएँ । उसको भनाइ थियो, “करोड रुपियाँ बचत छैन भने नेपाल आऊ, यहीँ कमाइन्छ । दुई–तीन वर्षमा नेपालमै त्यति कमाइन्छ ।”

ऊसँग कुरा गरेको दिनको सटही दरले हिसाब गर्दा मोटामोटी १ लाख १८ हजार अमेरिकन डलर हुन आउँदो रहेछ । 

‘राम्रोसँग मिलाएर काम गर्ने हो भने’ उसले भनेजति समय पनि नलाग्ला । यति कुरा म पनि बुझ्छु । नेपालजस्तो गरिब देशमा म ‘राम्रोसँग’ काम गर्न चाहन्नँ । मेरो मनले मान्दैन । 

पूर्वसहकर्मी सङ्केत कोइरालासँग वीरगन्ज घुम्न जाँदाको प्रसङ्ग पनि जोड्न चाहन्छु । उतिबेला हामी ‘विमोचन’ मासिकमा कार्यरत थियौं । स्थानीय पत्रिकामा कार्यरत एक पत्रकारले भनेका थिए, “हँ कुरा यो छ कि त दाजु, बस् मलाई प्रेस–पास चाहियो । राजधानीबाट निस्कने र वीरगन्ज आइपुग्ने जुनसुकै पत्रिकाको भए हुन्छ । मलाई तलब चाहिँदैन बरु महिनाको २० हजार (उतिबेलाको सटही दरअनुसार करिब तीन सय अमेरिकी डलर) रुपियाँ सम्पादकलाई दिन्छु ।”

पत्रकारिताको अध्ययन र यसैसँग सम्बन्धित आफ्नो करिअर छाडेर म अहिले पुस्तक लेखनमा लागेको छु । स्वान्तः सुखायका लागि पत्रकारितामा लागेको थिएँ र आफ्नै इच्छाले छाडेको हुँ । बाहिरबाट जे देखिन्छ, भित्र त्यस्तो हुँदो रहेनछ पत्रकारिता । विशेष गरी गरिब मुलुकमा । पत्रकारिता पढें, गरें, भोगें र छाडें । 

प्रसङ्ग पुनः तिब्बती शरणार्थीसँग जोड्न चाहन्छु । 

३ अक्टोबर सन् २०१५ । 

आज तनहुँ जिल्लाको दुलेगौंडा आइपुगेको छु । दुलेगौंडा हुँदै नेपालको दोस्रो पर्यटकीय नगरी पोखरा पुगिन्छ गाडीको रुटबाट । पृथ्वी राजमार्गको एउटा खण्ड हो दुलेगौंडा । दुई सय किलोमिटर लामो यो राजमार्ग चीन सरकारको सहयोगमा सन् १९६७ मा सुरु भई सात वर्षपछि अर्थात् सन् १९७४ मा सम्पन्न भएको थियो । 

दुलेगौंडा बजारको पश्चिमतिर १५ मिनेटजति ओरालो लागेपछि सेती नदी भेटिन्छ । नदीमा रहेको झोलुङे पुल तर्नेबित्तिकै ढुङ्गामाटोले पर्खाल लगाएको बस्ती देखिन्छ । बस्तीभित्र खयरघारी र खेतबारी छ । अधिकांश भाग भत्किसकेकाले पर्खाल नाम मात्रको छ । पर्खालसँगै निकै पुरानो टिनको साइनबोर्ड देखिन्छ । बोर्डको माथिपट्टि तिब्बती अक्षरमा र तल अङ्ग्रेजीमा लेखिएको छ– जम्पालिङ टिबेटन रिफ्युजी सेटलमेन्ट, पोस्ट बक्स नं ९७, तनहुँ, नेपाल । 

खासमा यो ठाउँलाई हिलेटार, ढोरफिर्दी भनिन्छ । शुक्लागण्डकी नगरपालिका वडा नं १३ । 

तत्कालीन श्री ५ को सरकारको पहलमा सन् १९७५ मा यो शरणार्थी क्याम्प स्थापना भएको हो । स्थापनाकालमा यो क्याम्प खयरघारी थियो । तिब्बतीलाई त्यहाँ राखेपछि उनीहरूले ठाउँ सम्याउने र पानीको स्रोत खोज्ने काम गरे । यसको व्यवस्था भएपछि घोडटाप्रे र कुरो उम्रने झन्डै १० हेक्टर क्षेत्रफलमा पहिलोपटक धानका बाला झुलेको देखियो । 

स्थापनाका बखत दर्ता भएका ४६२ जनाको आयस्रोत कृषि र गलैंचा हुन गयो । कृषि यथावत् छ भने गलैंचा उद्योग बन्द भएको छ । ‘ह्यान्डीक्राफ्ट सेन्टर १९७७’ लेखिएको भवनमा ताला लगाइएको वर्षौं भएको छ । कुनै बेला नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको गलैंचा उद्योगलाई शरणार्थीले कसरी अघि बढाए र त्यो कसरी ध्वस्त भयो ? यसबारे आउने पृष्ठमा छुट्टै चर्चा गरिएको छ । 

गलैंचा र शरणार्थी एकअर्काका परिपूरक हुन् । नेपालभर क्याम्प स्थापना गर्दा एकीकृत आवासगृहको अवधारणा अवलम्बन गरिएको थियो । विद्यालय, गोन्पा, हस्तकला केन्द्र, परम्परागत र आधुनिक औषधि, कम्युनिटी हल, सहकारी, डे केयर सेन्टर (पारजोलिङ क्याम्प पृथ्वीचोकमा मात्र) आदिलाई एकीकृत रूपमा समावेश गरिएको थियो । 

जम्पालिङलगायत देशका सबै क्याम्पको नेतृत्व सहमति वा मतका आधारमा गरिन्छ, जसको अवधि दुई वर्षको हुन्छ । नेतृत्वको काम तिब्बती समुदायभित्र अन्तरसम्पर्क गर्ने र सरकारी कार्यालयसँग समन्वय गर्ने हुन्छ । विपन्न परिवारलाई सहयोग जुटाउन विदेशबाट स्पोन्सर खोज्ने, वृद्धवृद्धालाई सहयोग पुग्ने वातावरण बनाउने र केटाकेटीको उच्च शिक्षाका लागि विदेशी दाताको खोजीमा पनि नेतृत्वको भूमिका हुन्छ ।

क्याम्पको जग्गामा धान लगाइएको छ । बासिन्दालाई चार समूहमा विभाजन गरेर कामको बाँडफाँट मिलाइएको छ । चैते धान पनि लगाइने हुनाले दुई खेती हुन्छ । करिब चार सय व्यक्तिलाई वर्षभरि खान पुग्छ । जनसङ्ख्या बढेर अहिले ६३४ पुगेको छ । 

कुनै बेला मैले तनहुँको हिलेटारमा तिब्बती शरणार्थीका नेपाली ढाँचाका घर देखेको थिएँ । ढुङ्गामाटोबाट बनाइएका र घरले छाएका ती घरमा शुद्ध तिब्बती बस्थे । शुद्ध के कारणले भनेको हुँ भने नेपाल आएको २० वर्षपछि देख्दा पनि उनीहरूको बोली, भाषा, धर्म र रहनसहनमा कुनै परिवर्तन आएको थिएन । पुरुषहरू लामो कपाल बाट्थे र तिब्बती पहिरन लगाउँथे । 

आज उनीहरूको बोलीमा नेपाली र अङ्ग्रेजी मिसिएको छ । पहिरन पश्चिमाले जस्तै लगाउँछन् । यहाँ आज भन्नाले मैले उनीहरूको दोस्रो र तेस्रो पुस्तालाई जनाउन खोजेको हुँ । अचम्म लाग्छ, आजसम्म मैले त्यस्तो तिब्बती केटाकेटी भेटेको छैन, जसले तिब्बती बोल्दैन । नेपाली, अङ्ग्रेजी र तिब्बती तिनै भाषामा लेखपढ गर्न सक्ने पछिल्लो पुस्ताले प्रवासमा पनि आफ्नो संस्कृतिलाई जोगाएको छ । 

मेरा थुप्रै आफन्त विदेशमा छन् । उनीहरूका बालबच्चा नेपाली बोल्न जान्दैनन् । अभिभावकले सिकाएनन् वा उनीहरूले सिक्ने अवसर पाएनन्, त्यो मलाई थाहा छैन । बरु अभिभावक आफ्ना बालबच्चाले नेपाली नजानेकोमा गर्व गर्दै भन्छन्, “छोराछोरीले अङ्ग्रेजी मात्र बोल्छन्, नेपाली बोल्दैनन् ।” मैले भेटेका तिब्बतीले कमसेकम यस्तो गर्व गर्ने स्थिति ल्याएका छैनन् । 

म अझै हिलेटारमा छु । भेट्नुपर्ने केही पुराना साथी छन् । तीमध्ये एक हुन्, ग्युर्मे दोर्जे । दोर्जेका बारेमा मैले पोखराका व्यवसायी शिव मल्लमार्फत थाहा पाएको थिएँ । मल्लकी छोरी र दोर्जेले नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटी, काठमाडौंबाट सँगै एमबीबीएस गरेका थिए । नेपाल मेडिकल काउन्सिलबाट सबै विद्यार्थीले डक्टरको अस्थायी प्रमाणपत्र पाइसक्दा पनि दोर्जेले पाएका थिएनन् । 

केही वर्षअगाडि मैले पोखरामा भेट्दा उनी उदास थिए । र, गुनासो यसरी पोखेका थिए, “मैले एमबीबीएस गरें । डक्टरको दुईवर्षे अस्थायी लाइसेन्स पाउने बेलामा मलाई नेपाल मेडिकल काउन्सिलबाट फोन आयो । त्यहाँका पदाधिकारीले के भन्नुभयो भने तपार्इंले झुक्याएर जाँच दिनुभएछ । यो जाँच यहाँका नागरिक (नेपाली) ले मात्र दिन पाउँछन् ।”

ग्युर्मेका अनुसार उनलाई विदेशी क्याटागोरीमा राखिएको रहेछ । मेडिकल काउन्सिलमा गएर भनेछन्, “मैले झुक्याएर जाँच दिएको होइन । फर्म भर्दा नै शरणार्थी कार्डको फोटोकपी राखेर दिएको थिएँ ।” अन्ततः उनले अस्थायी लाइसेन्स पनि पाएनन् ।

ग्युर्मेले भनेका थिए, “म हिलेटारमा जन्मेको । यहीँ पढेको । नेपाली प्रष्ट बोल्छु । साथीभाइ नेपाली छन् । मेडिकल एजुकेसन पनि नेपालमै पूरा गरेको । नेपाली साथीभाइसरह अधिकार नपाउँदा साह्रै चित्त दुख्दो रहेछ ।”

ग्युर्मे दोर्जेको घर खोज्दै म क्याम्प डुल्न थालें । उनी घरमा भेटिएनन् । उनका बाबु नवाङ साङ्पो (७७) मात्र भेटिए । साङ्पोले भने, “उसलाई पराउँदा धेरै खर्च भो । सरकारले डाक्डरको लाइसेन दिएन । लाइसेन पा’को भे उसले उता तारा (दुर्गम) गयार काम गर्छ भनेथ्यो । कतै काम नपाएपछि विदेश गो ।”

“ग्युर्मे कुन देश गयो बुबा ?”

“त्यो ... के भन्छा भने ... । अँ ... । युरोपमा छा होइ, अँ ... । स्विस भन्छ ।” (देश सम्झेकोमा उनी मुस्कुराए ।)

“कसरी गयो त बुबा स्विस ?”

“उल्ले काम पाएन होइ । साथीहरूले सहयोग ग¥यो भन्छ । हामी परे–लेखेको छैना । अक्षर चिन्दैन, कुरा बुज्दैन । खै कसरी मिलायो ? आप्नो देश (नेपाल) छारदा दुःखा मानेथ्यो ।”

ग्युर्मेको प्रसङ्गमा के भएको रहेछ ? मलाई थाहा पाउन मन लाग्यो । नेपाल मेडिकल काउन्सिलमा फोन लगाएँ । 

“नेपाली नागरिकबाहेक अरुले अस्थायी लाइसेन्सका लागि अनुमति पाउँदैनन् । नागरिकताबाहेक शरणार्थी परिचय–पत्रबाट लाइसेन्स लिन मिल्दैन । शरणार्थी कार्ड नागरिकता होइन । यो पहिचान कार्डमात्र हो,” फोन उठाउने महिला कर्मचारीले भनिन्, “ऊ (ग्युर्मे दोर्जे) त्यहाँ (तिब्बत)को मेडिकल काउन्सिलमा दर्ता भएर आएपछि उसलाई फरेन नेसनल डक्टर्स भनेर रजिस्ट्रेसन गर्न सकिन्छ । यसका लागि नेपालमा रहेको कुनै संस्थाले काम दिनु पर्छ र ऊसँग नेपालको भिसा हुनु पर्छ ।”

उनले कानुनमा लेखिएको कुरा भनिन् । त्यसभन्दा बढी जवाफ उनीसँग थिएन । र, मेरो पनि उनलाई सोध्ने दोस्रो प्रश्न थिएन । 

दोर्जेका बाबु नवाङलाई बुढेसकालमा हेरचाह गर्ने छोरो बिदेसिएकोमा दुुःख लागेको थियो । “हामी पनि बुराबुरी भो । यहीँ काम गर्न पा’को भे हुने । पाँच–छ वर्ष भो गा’को । कहिलेकाहीँ टेलिफोन गर्दा साधारण काम गरेको छ भन्छ । अब आम्दैन होला,” हँसिलो अनुहार भएका नवाङ साङ्पोले टाउको झुकाउँदै भने । 

५० वर्षपछि नवाङलाई के थाहा भयो भने शरणार्थी परिचय–पत्र पनि अधिकार नभएको रहेछ । भन्दै थिए, “काम गरेर खान नपाइने । यो त शरणार्थी दर्ता पत्र पो रै’छ ।”

मैले तिब्बती नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट दिइएको शरणार्थी परिचय–पत्र हेरें । यसलाई तिब्बतीहरू छोटकरीमा ‘आरसी’ भन्दा रहेछन् । यो रिफ्युजी आइडेन्टिटी कार्डको छोटो रूप । नीलो रङ्गको कार्डमा लेखिएको थियो ः 

श्रीमान्÷श्रीमती ...
तिब्बती शरणार्थी भएकाले नेपालको कानुनबमोजिम नेपालमा बस्नका लागि यो अनुमति–पत्र प्रदान गरिएको छ । विदेशीहरूको आवागमनका लागि निषेधित क्षेत्र (कुनै निषेधित क्षेत्रअन्तर्गत रहे÷बसेको शरणार्थीको हकमा सो क्षेत्रबाहेकका अन्य निषेधित क्षेत्रहरू) बाहेक नेपाल अधिराज्यभर आगमन गर्न निजलाई पूर्ण स्वतन्त्रता हुनेछ ।

– प्रमुख जिल्ला अधिकारी

परिचय–पत्रको पछिल्लो पृष्ठमा पालना गर्नुपर्ने नियममा सातवटा बुँदा लेखिएका छन् ः
– यो शरणार्थी परिचय–पत्र दोस्रो व्यक्तिलाई हस्तान्तरण गर्न पाइँदैन । 
– परिचय–पत्र सधैं साथमा बोक्नुपर्नेछ । 
– प्रहरी वा अधिकारप्राप्त अधिकारीले परिचय–पत्र देखाउन अनुरोध गरेको खण्डमा देखाउनुपर्नेछ । 
– प्रत्येक वैशाख मसान्तमा यसलाई नवीकरण गर्नुपर्नेछ । 
– हराएको खण्डमा स्थानीय प्रहरीलाई यसको जानकारी दिनुपर्नेछ र नयाँ कार्ड लिन रु. ५० लाग्नेछ । 
– विवाह, जन्म, मृत्युजस्ता पारिवारिक विवरणका लागि स्थानीय प्रशासनलाई सूचना दिनुपर्नेछ । 
– बसाइँसराइ गरेको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउनुपर्नेछ ।

विवाह शब्दलाई मैले इटालिक्स र बोल्ड गरेको छु । परिचय–पत्रमा लेखिए पनि तिब्बती शरणार्थीको विवाह दर्ता हुँदैन । कुनै पनि जिल्ला प्रशासनमा यसबारे मैले जानकारी पाइनँ । शरणार्थीले पाउने हक अधिकारबारे कार्डमा केही लेखिएको थिएन ।

विदेशी–नेपालीबीच विवाह दर्ताका लागि भिसासहितको राहदानी, सम्बन्धित देशको नो अब्जेक्सन लेटर र विवाहका दिन तीन जना साक्षीको सनाखत चाहिने प्रावधान छ । तर, नेपाली र शरणार्थीबीच बिहे दर्ता हुने कानुनै रहेनछ । 

० ० ०

क्याम्पवरिपरि डुल्छु । क्याम्प स्थापनाका बेला ढुङ्गामाटोबाट बनेका र खरले छाएका घरहरूलाई ब्लकबाट बनेका र टिनले छाएका घरले विस्थापित गरेका छन् । केही घर सिमेन्टेड पनि छन् । क्याम्प घुम्दा मैले क्याम्प स्थापना हुँदाताकाको एउटा मात्र घर भेटें, जुन घर ल्युनडुप छुन्दु, ७३, र छोदेन डोल्मा, ६१, को थियो । 

यता, ग्युर्मे दोर्जेलाई मैले खोज्न छाडिनँ । सामाजिक सञ्जालदेखि उसका साथीभाइ, नातागोता, पढेको कलेज जताततै सम्पर्क गरें । स्विसमा रहेका तिब्बती समुदायलाई सम्पर्क गरें । स्विस टिबेटन कम्युनिटीबाट फेसबुकमा जवाफ आयो, “वी डोन्ट नो हिम...।”

लौ त नि । मैले स्विसमा उसलाई खोजिनँ । बरु नेपालमै उसका आफन्तबाट जानकारी पाउने प्रयास गरें । एकदिन गुर्मेका आफन्तसँग सम्पर्क भयो । उनले दुई महिनापछि मलाई ग्युर्मेको टेलिफोन नम्बर दिए । बिहान नम्बर दिए, बेलुकी फोन गरेर भने, “ऊ आफ्नो जीवनका बारेमा बोल्न चाहँदैन । कृपया सम्पर्क नगरिदिनु होला ।”

ग्युर्मेसँग गफिने निकै उत्सुकता थियो । खबरले निराश बनायो । सोचें, उसमा कत्रो उत्साह थियो होला सेतो एप्रोन लगाउने ? त्यत्रो पैसा र समय लगाएर पढेको ज्ञान र सीप उसले अब कतै देखाउन पाउनेछैन । उसलाई कति पीडा र अन्याय भएको होला ? त्यसको चोट उसले मात्र भोगेको छ । 

पहिले मसँग कुरा गर्दा उसका आँखा टलपलाएका थिए । कुरा गर्न पाएको भए यसपालि आँसु नै झाथ्र्यो होला । मैले आँसु नहेर्ने भएँ र उसको मन नदुखाउने निर्णय गरें । के मैले सही निर्णय गरें ग्युर्मे ?

बुद्धभूमिमा शरण

मैले अझै क्याम्प छाडेको छैन । क्याम्पभित्रकै ‘लोड्रिक ओल्ड पिपल होम’ लेखिएको भवनमा छु । दुईतले सिमेन्टेड भवनमा नेपालको उत्तरी क्षेत्रमा बसेर चीनविरुद्ध छापामार लडाइँ गरेका वृद्धहरूलाई राखिएको छ । उनीहरूबाहेक लडाइँसँग असम्बन्धित वृद्धवृद्धा पनि छन् । 

तिब्बती भाषामा ‘लो’ भन्नाले लोमन्थाङ र ‘ड्रिक’ भन्नाले समूहलाई जनाउँछ । लोमन्थाङ उपल्लो मुस्ताङको भाग हो । लोड्रिक नाम दिइएको यो समूहमा मैले भ्रमण गर्दा ७५ वृद्धवृद्धा थिए । अहिले यो सङ्ख्या ३० मा झरेको छ । यहाँका प्रत्येक पूर्व गुरिल्लासँग इतिहास छ । ती पात्रहरूको निधनसँगै इतिहास पनि समाप्त हुँदै गएको छ । 

लोड्रिक सदस्य जम्पा छोदोक ३३ वर्षको उमेरमा सन् १९५९ मा छुसी गाङड्र्युकमा संलग्न रहेछन् । यो दलाई लामाको सुरक्षार्थ बनेको स्वयमसेवी गुरिल्लाहरूको दस्ता थियो जसले तिब्बतमा रहेका चिनियाँ सेनाको प्रतिरोध गरेको थियो । 

त्यतिबेला पोताला दरबारवरिपरि चिनियाँ सेनाको बाक्लो उपस्थिति थियो । चिनियाँ सेनाको घेराबाट जम्पा छोदोक फुत्किए र पुनः छुसी गाङड्र्युकमा सामेल भए । त्यो सुरक्षा दस्ताले दलाई लामालाई ल्हासाबाट भारत पु¥याउन मदत गरेको थियो । दलाई लामा भारत पुगेपछि जम्पा छोदोक सिक्किम पुगे । सिक्किममा मोटरबाटो बनाउने काममा सामेल भए । यो काम भारतीय सरकारले नै शरणार्थीहरूका लागि दिएको थियो । 

चिनियाँ सेनासँग लड्ने मनसायले तिब्बतीहरू एक भए, जो बाटो बनाउने गर्थे । वर्षदिनपछि जम्पा भारतबाट उपल्लो मुस्ताङ आए र सन् १९७४ सम्म लडे । उनले भारतको चक्रातामा गुरिल्ला तालिम लिएका थिए भने हतियार अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)ले गोप्य रुपमा दिएको थियो । 

जम्पा छोदोकले भनेका थिए, “कोही पनि मानिस आफ्नो चाहनाले अर्को देशमा शरण लिँदैन । शरणार्थी जीवन जसले भोग्छ, त्यो पीडा उसैलाई मात्र थाहा हुन्छ । बुद्धको भूमिमा शरण लिन पाउँदा खुसी लागेको छ ।”

चार वर्षअघि नै जम्पाको निधन भएको खबर म अहिले पाउँदैछु । 

(नेपालका उत्तरी भेगमा तिब्बतीहरू कहिले लडे, कसरी आत्मसमर्पण गरे र त्यसपछि के भयो भन्ने बारेमा छुट्टै चर्चा गरिएको छ ।)

आपूmले चिनेका पूर्व गुरिल्ला साथीभाइ भेट्छु । अँगालो मारेर आत्मीयता प्रकट गर्छन् । कोही हात उठाएर अभिवादन गर्छन् । कसैलाई पूर्व भेटको स्मरण गराउनु पर्छ । कोही जीवनको अन्तिम चरणमा पुगेका छन् । हरेकका कोठाबाट बुढ्यौलीको स्वाभाविक गन्ध आउँछ । चिनेका साथीहरूको नाम लिएर सोध्छु, धेरै त बितिसकेछन् । 

एकछिनपछि उनीहरू सामूहिक प्रार्थनामा लाग्छन् । म चुपचाप हेरिरहन्छु । 

पुरानो डायरी पल्टाउँछु । लोप्साङ थुप्तेनलाई मैले ८१ वर्ष हुँदा सन् २००८ को सुरुमै भेटेको रहेछु । डायरीमा उनको भनाइ यसरी लेखिएको छ ः

“तिब्बतमा अत्याचार बढ्दै गएपछि सन् १९५९ मा मैले चीन छाडें । सोही वर्ष नै दलाई लामाले तिब्बत छाडेका हुन् । म छुसी गाङड्र्युक समूहमा थिए । यो तिब्बतमा स्थापना भएको तिब्बती गुरिल्लाहरूको समूह हो, जसले तिब्बतमाथिको चिनियाँ शासनको विरोध गरेको थियो । 

म नेपाल आएपछि चिनियाँ सेनाले मेरो भाइ टासी धोण्डुप र आमा छिरिङ डोमालाई मारिदियो । तिब्बतबाट भाग्दा मेरो ग्रुपमा एक हजारजति व्यक्ति थिए, जसमा तीन सयजति हामीजस्ता लडाकु भावनाका व्यक्ति थियौं । वर्षा याममा एक महिनाजति लगाएर हामी भारत पुग्यौं । सिक्किममा डेढ वर्ष सडक बनाउने काम गरियो । 

भारतमा छुसी गाङड्र्युक समूहका थुप्रै सदस्यसँग भेट भयो र फेरि पुरानो संरचना पुनर्गठन गरियो । हामी चीनविरुद्ध लड्न भनेर नेपाल आयौं । मुस्ताङका विभिन्न गुफामा बस्यौं । न पर्याप्त खानेकुरा थियो, न त ओढ्ने–ओछ्याउने नै । खानेकुरा पहिले नै जोहो गरेका थियौं तर पछि आपूर्ति सहज हुन सकेन । खाद्यान्न भैरहवाबाट उपल्लो मुस्ताङ पु¥याउनु पथ्र्यो घोडामा । छ महिनाजतिलाई पुग्ने खाद्यान्न पहिले नै जोहो गरिएको थियो । त्यसपछि सधैं अभाव भइरह्यो । 

हामीलाई बेला–बेलामा विदेशी संस्थाहरूबाट साना जहाजमार्पmत खाद्यान्न आपूर्ति गरिन्थ्यो । युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल भेडलपमेन्ट (यूएसएड)को सहयोगमा प्राप्त खाद्यान्न सँगसँगै हामीलाई सीआईएले हतियार दिएको थियो । उपल्लो मुस्ताङको यारफु, टाँगेभुमा मैले तीनपटक हतियार खसालेको देखें । ओलाङचुङगोलाको याङ्मा, रसुवाको थामुचेत र काठमाडौंको कलङ्की, स्युचाटारमा यस्ता हतियार खसालिएका थिए । साना हवाइजहाज यी ठाउँका चौरमा अवतरण गर्थे । 

मसँग पाँच गोली जाने राइफल थियो । पछि खाद्यान्न आपूर्ति बन्द भयो । हामीलाई रासनका लागि मात्र पैसा दिइन्थ्यो, पकेट खर्च दिइँदैनथ्यो । मेरो ग्रुप लिडर गें राकराक थिए । गें भन्नाले तिब्बती भाषामा शिक्षक भन्ने अर्थ दिन्छ । समय–समयमा कमान्डर फेरिइरहन्थे । 

चिनियासँग गुरिल्ला युद्ध लड्नका लागि म पाँचपटक तिब्बत प्रवेश गरें । हरेक पटक जाँदा ग्रुपमा १०–१५ जना भइन्थ्यो । एकपटक छोंगा भन्ने ठाउँमा चिनियाँ सेनासँग भिडन्त भयो । यो नेपाल बोर्डरबाट आधा दिनको बाटो हो । त्यहाँ उनीहरूको आर्मी क्याम्प थियो । चिनियाँ सेना गस्तीमा आउँदै गर्दा बाटैमा भिडन्त भयो । पहिले हामीले नै आक्रमण ग¥यौं । हामीसँग चार सय राउन्डजति गोली थियो । मेरा कमान्डर काल्साङ दोर्जेले गोली चलाउने आदेश दियो । मसँग धाम छो, वाङ्लुलगायत साथी थिए । हाम्रो गोलीले आठ सेनाको स्पट डेथ भयो । हामीले उनीहरूसँग भएका हतियार लुटेनौं । घटनापछि हामी तिब्बतमा लुकीछिपी एक हप्ताजति बस्यौं र नेपाल फर्कियौं । 

मुस्ताङ बसेर १३ वर्ष लडेपछि हामीले अन्ततः सन् १९७४ मा नेपाल सरकारसँग आत्मसमर्पण ग¥यौं । नेपाली अफिसरलाई हतियार बुझाउँदा म रोएँ । चीनविरुद्ध लड्ने अवसर गुमेजस्तो लाग्यो । हामीलाई नेपाली अधिकारी र तिब्बती कमान्डरहरूले दलाई लामाको सन्देशयुक्त क्यासेट सुनाएका थिए, जसमा आत्मसमर्पण गर्न अनुरोध गरिएको थियो । कतिले आत्मसमर्पण गर्न चाहेनन् । क्याम्प नं १४ को पाचेन आत्मसमर्पण गर्न नमानेर कालीगण्डकीमा हाम्फालेर म¥यो । 

म बुद्धमार्गी हुँ र अहिंसामा विश्वास गर्छु । बाध्यताले गर्दा हामीले हतियार उठाउनु प¥यो । धार्मिक दृष्टिकोणले हामीले जे ग¥यौं, त्यो पाप हो तर राजनीतिक हिसाबले त्यस कार्यलाई घृणा गर्न मिल्दैन । हामी चिनियाँबाट लखेटिएका, दबिएका र थिचिएका व्यक्ति हौं । हामीबाट मारिएका मान्छेहरूको आत्माले शान्ति पाओस् र अर्को जुनीमा उसलाई राम्रो होस् भनेर हामी गुफामा पूजा गथ्र्यांै । हामीले नियममा बसेर लडाइँ ग¥यौं । 

त्यतिका वर्षसम्म ओढ्ने–ओछ्याउने कपडाबिना ओढारमा बस्दा शरीर जीर्ण भएको छ । चिसोले गर्दा गोडा दुख्ने रोग लागेको छ । त्यतिखेरको दुःख भनिसाध्ये छैन । न पर्याप्त खानेकुरा, न त बस्ने ठाउँ । दलाई लामालाई भाग्न बाध्य पारिएपछि हामीले आक्रमण गरेका हौं । त्यसैले हामीलाई कुनै पछुतो छैन ।”

(लोप्साङ थुप्तेनको पनि निधन भइसकेको रहेछ । श्रद्धाञ्जली थुप्तेन !)

डायरीको अर्को पाना पल्टाउँछु । छोग्यालबारे यसरी लेखिएको छ ः

“सिरानीनजिक दलाई लामा र कर्मापाको तस्बिर राखिएको छ । तस्बिरअगाडि शान्तिको कामना गर्दै बत्ती बालिएको छ । बुढ्यौली शरीरलाई तागत दिनका लागि भिटामिनका बोतल यत्रतत्र देखिन्छन् । शरीर हलचल गर्न सक्दैन, तैपनि तिब्बतको कुरा गर्नेबित्तिकै उनी टाठिएर उठ्न खोज्छन् । 

छोग्याल, ९१, अहिले वृद्धाश्रममा बस्छन् । ४० वर्षको उमेरमा उनलाई तिब्बतको यार्तो धाक्ला भन्ने ठाउँमा चिनियाँ पक्षबाट गोली हानिएको थियो । त्यो गोली उनको तिघ्रामा लाग्यो । थर्थराएका हातले उनले तिघ्रामा बसेको डाम देखाए । गोली छड्किएर गएकाले धेरै चोट लागेको रहेनछ । छोग्यालसँग अहिले पनि गोली लाग्दाको लुगा सुरक्षित छ । घाँटीमा झुन्ड्याएको चाबीले सकीनसकी उनले टिनको बाकस खोले । लुगालाई उनले सुरक्षित तरिकाले पट्याएर राखेका रहेछन् । खैरो कपडामा प्वाल परेको दाग छ । 

छोग्याल पनि मुस्ताङका बसेर युद्ध लडेका व्यक्ति हुन् । एउटा चक्कु देखाउँदै उनले भनेका थिए, ‘अमेरिकन हतियारसँगै यो चक्कु पनि मलाई दिइएको थियो । चक्कु मैले साथीमार्पmत पाएको हुँ । म नमर्दासम्म चक्कु मैसँग हुन्छ किनभने यसको कथा तिब्बतको स्वतन्त्रतासँग जोडिएको छ । चीनले तिब्बतीलाई समाउने, कुट्ने, मार्ने गरेको सुन्दा मलाई यति सुन्न मात्र बाँचेजस्तो लाग्छ ।”

अब उनले यस्ता कुरा सुन्नुपर्ने छैन किनभने उनको पनि निधन भइसकेछ । 

(खनालले तिब्बती शरणार्थीबारे अनुसन्धान गरी लेखेको पुस्तक ‘अप्ठ्यारो बाटो’ सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।)