- योगेन्द्रमिलन छन्त्याल
एउटा जङ्गलमा एकदमै मिल्ने चरा र चरी थिए । दुई चरीले एक अर्कालाई दुख सुखमा साथ दिन्थे । अग्घोरै माया गर्थे ।
एकदिन प्रेमको कुरा गर्दै थिए । चरीले भनिन् : 'काले, तिमी मलाई छोडेर कहिल्यै टाढा नजाऊ ल !' चरोले जवाफ दियो : 'धैत लाटी, तिमीलाई म त्यस्तो धोकेवाज बन्न सक्छ भन्ने लाग्छ र ?'
'खै, यस्तो भाले चरोको के भर ?'
'त्यसो नभनन । तिमीलाई विश्वास छैन भने म आज राति तिम्रो विश्वास लाग्ने कुरो गरेर देखाउछु, हुन्छ ?'
'ल ल हेरम्ला, के देखाउने रहेछौं ?'
राति चरोको मनमा बेस्सरी कुरो खेल्यो । पीर पर्यो । उसलाई चरीले अविश्वास गरेको महशुस भयो।
उसले आफ्नो दुईटै पखेटा भाँच्यो । बिहान ऊ सख्त घाइते थियो ।
'लाटी, अब त विश्वास गर्छ्यौ होला नि ! म तिमीलाई छोडेर कसैसँग टाढा जान सक्दिनँ नि अब ।'
चरीले रुँदै आफूले अविश्वास गरेकोमा पश्चाताप गरिन् ।
..................................................
वर्षायाम शुरु भएको थियो । चरोचरी ढुङ्गाको ओतमा बसेका थिए । रात परेको थियो । मुसलधारे पानीका कारण चिसोले सताएको थियो ।
केही समयपछि खोला गर्जन थाल्यो । छालले चरोचरीलाई भेट्न थाल्यो । चरी आत्तिएर उडी । ज्यान बचाइ ।
यता चरो सकीनसकी दौडियो । पखेटाबिनाको ज्यानलाई छालले तान्यो । छालबाट उम्कन सयौंचोटी प्रयास गर्यो, गुहार्यो ।
तर अन्तत खोलोले बगायो । ढुङ्गामा बजार्यो । तालमा डुबायो । कहिले खोलाको बीचमा छालले छाट्यो । कहिले किनारमा हुट्त्यायो । प्राण लिइ छाड्यो ।
बिहान चरी खोलाको किनारामा आई । बासस्थान तलतिर खोजी । करिब ३ सय मिटर तल किनारामा चरो मरेको थियो ।
चरी छेऊमा झोक्र्याई । दुई थोपा आँशु बगाई ।