पोर्तुगलबाट तीन नेपालीलाई नेपाल पठाइयो

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । नेपाल गएर पोर्तुगल आउंदै गरेका तीन नेपालीलाई विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरुलाई लिस्बन विमानस्थल अध्यागमन चेकजाँचबाटै फिर्ता पठाइएको हो ।  

उनीहरु केही समय पहिले घर गएका थिए । उनीहरुको रेजिडेन्स प्रक्रिया पूरा भएर फिंगर भएको थियो । तर रेजिडेन्स कार्ड हात परेको थिएन ।

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष भीम केसीका अनुसार उनीहरु वकिलहरुमार्फत कागज बनाएर नेपाल गएका थिए । यसरी नै पहिले नेपाल गएका एकाध मान्छे फर्कन सफल पनि भएका थिए ।

वकिलहरु पैसा कमाउन सबै कुरा सम्भव भएको बताइ दिन्छन् । अनि हल्लाको भरमा यल्ले यसो गरेको थियो, उसो गरेको थियो भन्ने सुनेको भरमा दौडिदा थुप्रै नेपालीले नानाथरीका समस्या झेलेका हुन्छन् । 

नेपाल फर्किएका ती तीन नेपालीका लागि अब दुईवटा विकल्प छन् । पहिलो विकल्प यदि उनीहरुको कार्ड पोर्तुगलको ठेगानामा आयो भने नेपाल पुर्याउनु पर्नेछ । दोश्रो विकल्प उनीहरुले मौजुद कागजातसहित पोर्तुगीस राजदूतावास नयाँ दिल्लीमा भिसाको प्रक्रिया पूरा गरेपछि पोर्तुगल आउन पाउनेछन् ।

करिब एक वर्ष पहिले टर्कीबाट रेजिडेन्स कार्ड छँदा छँदै पासपोर्टमा रहेको पुरानो भिसामाथि शंका गरेर नेपालीलाई नेपाल फिर्ता पठाइएको थियो । पछि सो समस्याको समाधान भएको थियो । अध्यक्ष  केसीले यस्ता कुरामा सबैलाई सचेत रहन अनुरोध गरेका छन् ।