चेतनाथ आचार्य, बेइजिङ, भाद्र १० - दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानदोङ प्रान्तको जिनानबाट नेपालका फर्कने विमानमा चढे । झण्डै तीन महिनापछि चीनबाट नेपाल फर्कन पाएकामा उनीहरु हर्षित थिए । तीन महिनापछि नेपाल फर्केर आफन्तसँग भेटघाट गर्ने उनीहरुको खुशी लामो समय रहेन । जिनानबाट छन्दु पुगेका उनीहरू चिनियाँ प्रहरीको नियन्त्रणमा परे ।
छन्दुबाट काठमाडौं उड्नलाई विमानस्थलको काउन्टरमा पुगेका उनीहरूलाई बोर्डिङ पास दिनु पर्नेमा काउन्टरका कर्मचारीले प्रहरी बोलाएर पक्राउ गराए । छन्दु प्रहरीले उनीहरुलाई दुई साताका लागि डिटेन्सन (हिरासत) मा राखेको छ ।
दलालमार्फत् काम गर्न भनेर चीनमा आएका उनीहरू भिसा सकिएको ५६ दिनसम्म चीनमा अवैध बसेका कारण चिनियाँ प्रहरीले उनीहरूलाई डिटेन्सनमा राखेको हो । जिनानबाट छन्दु जाँदा आन्तरिक उडान भएकाले उनीहरुको भिसाका बारेमा वास्ता गरिएको थिएन । छन्दुबाट काठमाडौंको उडान अन्तर्राष्ट्रिय भएकाले उनीहरुको भिसा सकिएको कुरा चिनियाँ प्रशासनले थाहा पाएको हो । ५६ दिनसम्म चीनमा बिना भिसा अबैध बसेकाले जरिवाना बुझाउन नसक्नेलाई चीनको सार्वजनिक सुरक्षा ब्युरोले डिटेन्सनमा राख्ने गर्छ । चिनियाँ प्रहरीले उनीहरुलाई दुई साता डिटेन्सनमा राखेर अनुसन्धान गरी प्रक्रिया पुर्याएर नेपाल फर्काइदिने छ ।
गत मे २९ तारिख दोलखाकै दलाल प्रकाश तामाङले चीनमा तीन महिना काम गर्ने र त्यसपछि जापान लगिदिने भन्दै ६ लाख रुपैयाँ पैसा लिएको कुमार तामाङले बताए । प्रकाश तामाङले बुढाथोकी नामका व्यक्तिले चीनमा राम्रो काम लगाइदिन्छ भन्दै उनीहरुबाट पैसा उठाएको थिए । चीनमा काम गर्दा महिनाको ८० हजार नेपाली रुपैयाँ हुने र तीन महिनापछि जापान जान पाइने बताउँदै उनीहरुलाई दलालले काठमाडौंबाट भारतको दिल्ली लगेर चीनको ग्वाङजाउ पुर्याएको थियो ।
ग्वाङजाउमा उनीहरूलाई एक जना भारतीयले विमानस्थलबाट लिएर चीनको सान्दोङ प्रान्तको जिनान जाने रेलमा चढाएको थियो । जिनानमा शेखर नामका भारतीयले उनीहरुलाई एउटा चिनियाँ कम्पनीमा पुर्याइदिए । त्यहाँ उनीहरूलाई जुत्ता बनाउने कारखानामा बढी वजनका सामानका कार्टुनहरु बोक्ने र गाडीमा राख्ने काममा लगाइयो । सुरुका केही दिनसम्म बिहान ७ देखि बेलुका सात बजेसम्म काम लगाएको कारखानाले पछि बिहान सातबजेदेखि रातको दस बजेसम्म काम लगाउन थाल्यो । उक्त चिनियाा कम्पनीले उनीहरुलाई महिनाको ३ हजार ५ सय चिनियाँ युआन दिने भनिएको थियो । तर कम्पनीले उनीहरूलाई खान र बस्न दियो, पैसा भने नदिएको घ्याम्चो लामाले बताए ।
उनीहरुसँगै आएका दिलीप राई भने एक महिना मात्र चीनमा बसेर नेपाल फर्के । काम गरेको पैसा पनि नपाएपछि उनीहरुले आफन्तलाई टिकट काट्न लगाएर नेपाल फर्कने चाँजो मिलाएका थिए । हिड्ने बेलामा कारखानाका साहुले उनीहरुलाई ३/३ सय चिनियाँ युआनमात्र दिए । तै पनि उनीहरु घर फर्कन पाएकामा खुशी नै थिए । जब छन्दु विमानस्थलबाट नेपाल उड्ने अन्तर्राष्ट्रिय विमानमा चढ्नका लागि उनीहरु बोर्डिङ पास लिन गए, तर उनीहरु चीनमा भिसाको अवधि सकिएपछि पनि ५६ दिन बसेको देखिएपछि विमान कम्पनीले प्रहरीलाई खबर गरेर पक्राउ गराएको हो ।
प्रहरी डिटेन्सनमा रहेका कुमार तामाङले भने ‘कहिल्यै विदेश नगएका हामीलाई भिसाको म्याद कहिले सकियो भन्ने पनि थाहा भएन । चिनियाँ प्रहरीले पक्रिएपछि बेइजिङस्थित नेपाली दूताबासमा सम्पर्क गरेर सहयोग गर्न अनुरोध गरेका छौं ।’
बेइजिङस्थित नेपाली दूताबासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरले उनीहरुलाई नेपाल फर्काउनका लागि छन्दूमा प्रहरीलाई पत्राचार गरिएको जानकारी दिए । गत वर्ष पनि दलालको प्रलोभनमा परेर थुप्रै नेपाली युवा चीनमा आएर बिचल्लीमा परेका थिए । नेपाली युवाले वैदेशिक रोजगारीमा जाँदा सरकारको सम्बन्धित कार्यालयमा बुझ्नुपर्ने बताउँदै घिमिरे भन्छन् ‘सामान्यत: चीनमा विदेशीले काम गर्न नपाउने भएकाले कुनै पनि युवालाई दलालको भरमा परेर चीन नआउन दूताबासले बारम्बार अनुरोध गर्दै आएको छ ।’
यियुमा अन्य १२ जना
दलालको प्रलोभनमा परेर चीनमा आएका अन्य १२ जना युवा चीनको साङहाई नजिकैको यियुमा गैरकानुनी हैसियतमा काम गरिरहेका छन् । दुई साताको भिसामा सोलुखुम्बुका ८ र सिन्धुली ४ जना गरी १२ युवा गत फेब्रुअरी २१ तारिख काठमाडौंबाट छन्दु हुँदै यियु आएका हुन् । सोलुखुम्बुका दिलिप मगरले उनीहरुलाई चीनमा राम्रो काम पाइन्छ भनेर जनही २ लाख ५० हजार पैसा असुलेर चीनमा पठाएका थिए । ६० हजार रुपैयाँभन्दा बढी बेसिक तलव हुन्छ र थप समय काम गरेको छुट्टै पैसा पाइने आशा देखाएर चीनमा ल्याएको, तर यहाँ आएपछि अत्यन्त थोरै पैसामा काम गर्नुपरेको गुनासो विशाल आले मगरले गरे ।
स्थानीय होङ नामका एक चिनियाँले उनीहरुलाई यियुको एक कस्मेटिक कारखानामा सामान प्याकिङको काम लगाइ दिएका हुन् । उनीहरुलाई कम्पनीले २ हजार चिनियाा युआन मात्र दिएको छ । एक महिनामा दुई दिनमात्र बिदा दिने र बिहान ८ देखि रातको ८ बजेसम्म काम गर्नु पर्ने बाध्यता छ । उनीहरुले पाएको पारिश्रमिकबाटै स्थानीय चिनियाँ दलाल होङले ५ सय युआन प्रतिमहिना लिने गरेको विशालले बताए ।
उनीहरुलाई पैसा लिएर चीनमा पठाउने दिलिप मगर गाउँको आफन्त भएको र नेपाल फर्कने टिकट व्यवस्था गरिदिने बचन दिएको बताउँदै विशालले भने ‘हामीले त आफन्तबाटै दु:ख पायौं । अब नेपाल गएर पैसा फिर्ता माग्छौं । नदिएमा कानुनी उपचार खोज्ने बिचार गरेका छौं ।’ उनीहरु दिलीपले टिकट पठाइदिने र नेपाल फर्कने बाटो कुरेर बसेका छन् ।
- कान्तिपुर