एनआरएनए स्वीडेनको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको चौथो अधिवेशनबाट अर्जुनकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार राजधानी स्टकहोममा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यस अघि नयाँ नेतृत्वको लागि खिमबहादुर खत्री न्यौपानेको समुहले पनि दाबी गर्दै आएको भए पनि अन्तिम समयमा असन्तुष्टि जनाउँदै निर्बाचन प्रक्रियाबाट बाहिरिएको थियो । न्यौपाने समुहले बिज्ञप्ति जारी गरेर निर्बाचन प्रक्रियामा असन्तुष्टि प्रकट गर्दै बाहिरिएको हो ।

गैह्र आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला फोरम उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशनमा केन्द्रिय पर्यबेक्षकका रुपमा स्बिजरल्याण्डबाट अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा. बिनय श्रेष्ठ पुगेका थिए ।

श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा टेकबहादुर रोका, महासचिवमा दिनेशकुमार श्रेष्ठ, सचिवमा राजकुमार पाठक ओमसन, कोषाध्यक्षमा घनाश्यम पुन (लिल), युवा संयोजक प्रमोद आचार्य र महिला संयोजकमा उषा गौतम निर्बाचित भएका छन् ।

यस्तै सदस्यमा अम्बिका सिग्देल, लोकेन्द्र बहादुर खड्का, कृष्ण क्षेत्री, बिमलकुमार कार्की, भिमबहादुर भण्डारी र प्रदीप सापकोटा चयन भएका छन् । आईसीसी सदस्यमा प्रबेश कुवँरलाई अधिबेशनले प्रस्तावित गरेको छ । केन्द्रिय महिला फोरम उप संयोजक प्रधानको उपस्थितिमा स्बिडेनमा महिला फोरम समेत गठन भएको छ ।

नयाँ निर्बाचित कार्यसमितिको पहिलो बैठकले नै बाढीपिडितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले मुलुकमा बाढी प्रभावित क्षेत्रमा सहयोग पुगोस् भन्दै एनआरएनले गठन गरेको राहत कोषमा रकम पठाउने निर्णय गरेको हो ।

यसैबीच नबनिर्बाचित अध्यक्ष श्रेष्ठले स्बिडेनको नेपाली समुदायको हितमा काम गर्ने बताएका छन् । उनले भने,” निर्बाचनको प्रक्रियामा असन्तुष्ट बनेको पक्षलाई समेटेर संघलाई एकढिक्का बनाउने प्रयास गर्ने छु।”