जापानमा २० घण्टा नियन्त्रणपछि कांग्रेस नेता पौडेल नेपाल फर्किए

टोकियो (जापान), आश्विन १ - नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको कार्यक्रमका लागि जापान आएका नेता प्रदीप पौडेल अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फिर्ता भएका छन् । आयोजकका अनुसार लगातारको अनुसन्धानपछि जापान आमन्त्रण गर्नुको औचित्य नभेटेको र प्रतिबन्धित कागजात भेटेका कारण पौडेल फिर्ता भएका हुन् ।

जापानस्थित नेपाली राजदूतावासले पौडेललाई निर्बाध रुपमा आउन दिन गरेको पहल प्रभावकारी हुन नसकेको जनाएको छ । दूतावासले नेताको जापान भ्रमणबारे आधिकारिक जानकारी नआए पनि समस्या भएपछि आयोजकले सम्पर्क गरेको जनाएको छ । जनसम्पर्क समिति सभापति डीपी कँडेलले युवा नेता पौडेललाई जापान प्रवेशका लागि अनेक प्रयास गर्दा पनि नसुनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गर्न लगाइएको बताए । प्रधानमन्त्री देउवाको फोन आएको, नआएकोबारे जापानस्थित कुनै पनि निकायले पुष्टि गरेको छैन ।

जापान अध्यागमनले शनिबार अपराह्न १३:३० मा जापानको हानेदा विमानास्थल भएर आएका पौडेलसँग भ्रमणको उद्देश्य पूरा गर्ने आधार नभेटेपछि आइतबार बिहान १०:२४ मा नेपाल फिर्ता गरेको जनाएको छ । पौडेलसँगै कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ र स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपाने पनि अध्यागमनको नियन्त्रणमा परेका थिए । गुरुङसँग रातो राहदानी भएपछि तत्काल छाडे पनि पौडेल र न्यौपानेलाई फरक स्थानमा लगिएको थियो । 

पौडेल र न्यौपानेको कागजात अभावमा अध्यागमन विभागले फिर्ता गरेको जनसम्पर्क समिति प्रवक्ता सुरेश गिरीले जानकारी दिए । उनले पौडेलसहित प्रकाशक न्यौपानेलाई लामो अनुसन्धानपछि अध्यागमनले आइतबार बिहान नेपाल फिर्ता पठाएको बताए ।

अध्यागमनले पौडेलको साथबाट पार्टीका कागजात भेटेर सोधपुछ गरेको थियो भने न्यौपानेको जापान भ्रमणको उद्देश्य शंकास्पद देखिएको जनाएको थियो । सँगै रहेका गुरुङ पनि अध्यागमनको अनुसन्धानमा परे पनि जापान आएको आधिकारिकता पुष्टि भएर फिर्ता भएनन् । 

गुरुङले पार्टीसँग असम्बन्धित व्यक्ति रहेको नरहेको थाहा नभएको प्रतिक्रिया दिएका छन् । गुरुङले आफूलाई प्रश्न गर्दा पौडेल र न्यौपाने पनि उत्तरका लागि नजिकै पुगेका बेला अनुसन्धान टोलीको नियन्त्रणमा परेका जानकारी दिए । 

आयोजक समितिले पौडेललाई प्रायोजन गर्नेको फोन नउठेर अनुसन्धानको दायरामा परेको बताएको छ । अनुसन्धानका क्रममा पौडेलले पत्रकार र राजनीति भनेर उल्लेख गरेका थिए । धेरैपटक फोन प्रयास गर्दा पनि प्रायोजन गर्ने नागोयाका रितेन्द्र गिरी सम्पर्कमा आएका छैनन् । गिरीले क्युएस रेमिटेन्सअन्तर्गत रकम पठाउने काम गर्दै आएका छन् ।

अध्यागमनले भ्रमणका लागि जापान आउँदा सबै विषय बोल्न सक्ने पर्याप्त कागजात र मुद्राको व्यवस्था भएकाहरुलाई मात्र प्रवेश अनुमति दिने गरेको छ । पछिल्लो समय जापान आगमनमा बढ्दो सुचीसँगै नेपालीका गलत क्रियाकलापका कारण जापान कठिन भएको छ । 

यसअघि दर्जन बढी कलाकार र माओवादी केन्द्र र नयाँशक्ति नेपालका नेतालाई पनि जापान अध्यागमनले फिर्ता पठाएको थियो । फिर्ता भएका पौडेलसँग रातो राहदानी समेत थिएन । पौडेल जापानका विभिन्न स्थानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अतिथि भएर प्रशिक्षण दिने कार्यक्रम थियो । कांग्रेस नेता गुरुङ र माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा जापानमा छन् ।
- कान्तिपुरबाट