फोरम र राजपाबीच प्रदेश नम्बर २ मा सिट बाँडफाँटको अनौपचारिक सहमति

काठमाडौं, कात्तिक ६, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नम्बर प्रदेशमा सिट बाँडफाँटको अनौपचारिक सहमति भएको छ।

दुई पार्टीबीच प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको पनि राजपाका एक नेताले सेतोपाटीलाई जानकारी दिए। ती नेताका अनुसार २ नम्बर प्रदेशका ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा फोरमलाई १७ र राजपालाई १५ सिट दिने सहमति भएको छ। त्यस्तै ६४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि फोरमलाई ३३ र राजपालाई ३१ सिट दिने सहमति भएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीले पाएको मतका आधारमा क्षेत्र बाँडफाँट गर्ने सहमति भएको स्रोतले जनाएको छ।

फोरम–राजपाले कांग्रेससँग पनि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति गरेका छन्। त्यो अवस्थामा निर्वाचन क्षेत्र घट्ने राजपा स्रोतको भनाइ छ। फोरम र राजपाबीच सहमति भएपछि मात्रै कांग्रेससँग छलफल गर्ने दुई पार्टीको तयारी छ। दुई पार्टीबीच छलफल चलिरहेकोले कांग्रेससँग छलफल अघि नबढेको राजपा अध्यक्ष मण्डलका महेन्द्र राय यादवले सेतोपाटीलाई बताए।