माधव नेपाल पक्राउ परेको समाचार लेख्ने मल्ल के सुन्दर !

४ चैत, काठमाडौ । एउटा गोरी महिला मधेसमा राजनीतिक कुरा गर्दै थिइन् । ती गोरी महिलाले मधेसमा कम्युनिष्टको कुरा गर्दै हिडेको प्रशासनले थाहा पायो । प्रहरी तीनै महिलाको खोजीमा जुटे ।

प्रसंग २०३२ सालको हो । जनकपुरमा बसेर पञ्चायतविरुद्ध भूमिगत राजनीति गरिरहेका माधवकुमार नेपाल (पूर्वप्रधानमन्त्री तथा एमाले नेता) लाई पार्टीबाट निर्देशन आयो, ‘गोरी महिलालाई पक्राउ पर्नबाट जोगाउनू ।’

ती गोरी महिला थिइन्, निलम केसी -सीता खड्का) । निलमको बारेमा बुझ्ने क्रममा नेता नेपाललाई प्रहरीले पक्राउ गर्यो । पक्राउ परेपछि सोधपुछका क्रममा नेपालले बयान दिए, ‘घर दार्जिलिङ, नाम निरज शर्मा ।’ के कामले नेपाल आएको ? प्रहरीको अर्को प्रश्नको जवाफ दिए, ‘नेपालका कम्युनिष्टहरु के गर्दैछन्, बुझ्न आएको ।’ भोलिपल्ट जनकपुर संवाददाताको डेटलाइनमा राससको बुलेटिनमा समाचार प्रकाशन भयो, निरज शर्मा पक्राउ । त्यसको संवाददाता थिए, मल्ल के सुन्दर ।

‘अहिले पनि रासस भन्नेवित्तिकै ०३२ सालको समाचार याद आउँछ,’ मंगलवार प्रेस चौतारीले रासस शाखाको चौथो स्थापना दिवसको आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘म पक्राउ परेको समाचार मल्ल के सुन्दरले लेखेका थिए ।’ कार्यक्रमको प्रमुख अतिथि बनेर गएका नेता नेपालले चौतारीको राससको वर्तमान अध्यक्ष महिला भएकोमा खुशी ब्यक्त गर्दै महिला सहभागिता बढ्दै गएकोमा खुशी ब्यक्त गरे । राजधानी दैनिकमा खबर छ ।