मलेसियाको जेलमा नेपालीलाई नांगै यातना

२५ चैत, काठमाडौ । मलेसियामा पक्राउ परेका नेपालीलाई त्याहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै बनाई बेइजजतीपूर्ण यातना दिने गरिएको खुलेको छ ।

अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्रउ गरी त्याहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानून तथा मानवअधिकार विपरीत यस्तो यातना दिने गरेको नागरिक दैनिकमा खबर छ ।

मलेसियाको विभिन्न जेल तथा घरफिर्ती केन्द्र हुँदै स्वेदश फर्किएका नेपालीका अनुसार उनीहरुलाई नांगै पारेर नृत्य, कसरत, पिचमा लडिबुडी, घुँडा र कुहिनाले टेकि हिड्न र उठबस् गराई बेइज्जतीपूर्ण तरिकाले यातना दिने गरिन्छ ।

प्रहरी तथा जेल अधिकारीले यसबाट मनोरञ्जन लिने गर्छन् । पक्राउ गरी अदालतले सजायँ तोकेपछि यातनाको क्रम सुरु हुने त्याहाँबाट फर्केका नेपाली बताउँछन् ।

‘पूरै नांगै बनाएर याताना दिए । जेल र क्याम्प दुवै ठाउँमा यस्तो यातना पाइयो,’ एक महिनाअघि नेपाल आएका स्याङजा निबुवाखर्क ६ का कृष्ण न्यौपानेले भने, ‘मलाई जेलमा चार पटक र क्याम्पमा दुई पटक नांगै बनाई यातना दिए । नांगै बनाएपछि कान समातेर हिड्न लगाउँथे । कसरत गर्न भन्थे, नसके कुटपिट गर्थे । नांगो हुन नमाले हातखुट्टा भाँचिने गरी कुट्थे ।’

मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा बसी तीन महिनायता नेपाल फर्केका स्याङजा ठूलाहिडी-२ का रमेश पोखरेल, खोटाङ बड्कादियाले-२ का नारायण गेलाल, रामेछाप गुन्सी-७ का उद्धव चौलागाईँ लगायतको कथा उस्तै छ ।