बागलुङको उपनिर्वाचनमा काँग्रेस विजयी, एमाओवादीको जमानत जफत

काठमाडौँ, २९ चैत । बागलुङ क्षेत्र नम्बर १ मा भएको संविधानसभा उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

आइतबार भएको मतगणनामा काँग्रेस उम्मेदवार चम्पादेवी खड्का १७ हजार १ सय ५४ मत प्राप्त गरी विजयी भएकी हुन् । 

अघिल्लो निर्वाचनमा विजयी बनेका नेपाली कांग्रेसको तर्फबाट स्व सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी नै उम्मेदवार बनेकी थिइन् । गत मंसिरमा सडक दुर्घटनामा परी सभासद् खड्काको निधन भएको थियो । त्यतिबेला खड्काले १३ हजार पाँच सय मत पाएका थिए ।

खड्कालाई नेकपा एमालेकी उम्मेदवार मना केसीले टक्कर दिइन् । उनले १५ हजार ६८ मत पाइन् ।

११ जनाको जमानत जफत

उपनिर्वाचनमा काँग्रेस र एमालेका उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत भएको छ । यसपटक एमाओवादीको स्वात्तै मत घटेको छ । तेस्रो स्थानमा रहेको एमाओवादीले जमानत समेत जोगाउन नसकी लज्जास्पद हार व्यहोरेको छ । एमाओवादीबाट जापानमा बस्दै आएका कृष्ण केसी उम्मेदवार भएका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा ६ हजार ३ मत पाएको एमाओवादीले यसपटक त्यसको आधा मत पनि पाएन । उनले २५ सय ५ मत मात्र पाए ।

चौँथो स्थानमा रहेको राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकीले १९ सय ४९ मत पाए । अघिल्लोपटक जनमोर्चाले २१ सय मत पाएको थियो ।

राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा थिए । राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवारको रुपमा नवीनचन्द्र शर्वुजामगर, नेपाल परिवार दलको तर्फबाट बाबुराम शर्मा उम्मेदवार थिए ।

नेकपा मालेका तर्फबाट कुलबहादुर किसान, सङ्घीय समाजवादीको तर्फबाट रेशम थापामगर चुनावी मैदानमा थिए ।

यसैगरी राष्ट्रवादी एकता पार्टीका तर्फबाट क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रुकबहादुर पुर्जा, स्वतन्त्र उम्मेदवारको रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त मैदानमा थिए ।
- दैनिक नेपाल