घाउ कोट्याउन मन छैनः सुन्तली धामी

काठमाडौं, चैत २८। मैले पत्रपत्रिका र अनलाइनबाट मेरो कथामा चलचित्र बन्दैछ भन्ने थाहा पाएँ । एक  वर्षअघि मलाई फोन आएको थियो । 

म अफिसमा थिएँ । मलाई फोन गरेर चलचित्रको बारेमा कुराकानी गर्नुछ भन्नुभएको थियो । मैले सोचेर जवाफ दिन्छु भनेकी थिएँ । त्यसपछि उहाँहरूसँग केही कुराकानी भएन । 

केही समयपछिदेखि सुन्तली धामीको कथामा चलचित्र बन्दैछ भनेर समाचार आउन थाल्यो । मलाई त अचम्म लाग्यो ।

मेरो कथाव्यथा उहाँहरूलाई कसरी थाहा भयो ? त्यो त मलाई मात्र थाहा छ । समाचार आउन थालेपछि मानिसले कुरा काट्न थालेको थाहा पाएँ । कतिले त सुन्तलीले पैसा खाएर आफ्नो कथा बेचीसम्म भने । 

मलाई दुःख लाग्यो मैले पाएको पीडाले अहिलेसम्म मलाई तनाव भइरहेको छ । चलचित्रको कुराले मलाई थप तनाव भयो । उहाँहरूसँग कुराकानी भएको थियो भने म पनि केही बोल्न सक्थेँ होला । 

कम्तिमा मलाई सोधेर बनाएको भए हुन्थ्यो । मलाई चलचित्र हेरेर घाउ  कोट्याउन मन छैन । तर म चलचित्रको विरोध पनि गर्दिनँ ।

आजको अन्नपूर्ण पोष्टमा उनीसँग गरिएको कुराकानी छापिएको छ ।