- देबकी के सी
कथा
धेरै वर्षपछि आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए । अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले ।
बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए ।
‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु ।’
काम सानो ठूलो हुँदैन भनेर कृष्णले सम्झायो । दुवैले बाल्यकालका सम्झनामा डुबुल्की मार्न थाले । खोलामा पौडी खेलेको, माछा मारेको क्षण सम्झे । एकदिन पौडी खेलेर निस्कँदा खोलाले दुवैको लुगा बगाएको थियो । अण्डरवेयर समेत नहुँदा दुवैले आ-आफ्ना हातले लाज छोपेर घरसम्मै दौडँदै गएको कुरा सम्झनेबित्तिकै हाँसोको फोहोरा छुट्यो ।
कुमारले कृष्णलाई आफनो गाउँ घुम्ने निम्तो दियो । समय मिलाएर फेरि भेट्ने बाचा गर्दै उनीहरु छुट्टिए । पारिवारिक तनावले गलेका कुमारको अनुहारमा अनायासै खुसीका रंग पोतिएको देखेर उसका छोराहरू कुशल र कुवेर पनि खुसी भए । सौतेनी आमाको कचकचले पिरोलेका उनीहरुका अनुहारमा छाएको मुस्कानले केही हदसम्म शीतलता प्रदान गर्यो ।
एक दिन आत्मीय मित्र कुमारको गाउँ जान भनेर कृष्ण निस्कियो । साथीको स्वागतमा कुमारले गच्छेअनुसार मीठो मसिनो जोहो गरेको थियो । सुरूमा उसले परिवारका सदस्यहरुसँग परिचय गरायो । श्रीमती जानु, छोराहरु कुशल र कुवेरसँग ।
भर्खर सत्र-अठार वर्षकी जस्ती देखिने जानु कुमारकी श्रीमती भन्दा कृष्ण छक्क पर्यो । तैपनि उमेरमा कुमार आफुभन्दा सात महिना जेठो भएकाले उसले भाउजु भन्दै जानुसँग साइनो गाँस्यो । कुशल र कुवेरले पनि कृष्णलाई अंकल भनेर सम्बोधन गरे ।
भान्छामा पाकेका परिकार पस्किइन् जानुले, साथमा मीठो मुस्कान पनि । रमाइलो मिसिएको थियो आज कुमारको परिवारमा । बेलाबेलामा जानुको हातमा बजेको चुरीको धुन, चिटिक्क मिलेको जीउडाल, निहुरिँदा बिकिनी छिचोलेर निस्कूँ झैँ गर्ने टम्म मिलेको छातीले कृष्णको मुख रसाएर आउँथ्यो । अनि कुमारको स्वच्छ गाउँले भोजनसँगै चपाएर निल्थ्यो उसले त्यो रस पनि ।
खानापछि कुवेर र कुशल दुवै स्कुल गए । जानु मेलापात गइन् । वर्षौंपछि दुवै साथी फुर्सद निकालेर आँगनमा गफिए, न्यानो घाम ताप्दै ।
कुरैकुराको सिलसिलामा कुमारले सोध्यो, ‘कृष्ण बिहे गरीस् कि छैनस् ? कि सँधै क्याम्पस पढाएर बस्ने विचार छ ? बुढो होलास् नि ?’
कृष्ण फिस्स हाँस्यो र कुमारका प्रश्नको सहज तरिकाले जवाफ दियो । ‘अध्ययनमा व्यस्त हुँदा बिहे गर्ने मुड चलेन । अमेरिकामा पढ्दा गर्लफ्रेण्ड त थुप्रै थिए । रिल्याक्स गरियो’, कृष्णले भन्दै गयो, ‘पछि सबैले आ-आफनो सुर गरे । म पनि नेपाल आएँ, क्याम्पस पढाउन थालेँ । समय त्यसै बित्यो ।’
‘तैँले त विदेशमा खुब मोज गरिछस् नि’, उल्ल्यायो कुमारले । अनि दुवै हाँसे गलल्ल ।
‘कुमार तैँले त चाँडो बिहे गरिछस् नि, भाउजू त भर्खरकी हुनुहुँदोरै’छ त ?’ कृष्णले सोध्यो ।
‘बाबु-आमा बितेपछि घर सम्हाल्ने कोही भएन तैँलेजस्तो विदेशमा पढ्न, केटी घुमाउन र मोजमस्ती गर्न तकदीरमा लेख्या रैनछ त क्यारे’, कुमारले भन्यो, ‘जानु मेरो दोस्रो बिहे हो अनि किन भर्खरकी नहुनु त ?’
कुमारको जवाफ नसकिँदै कृष्णले सोध्यो, ‘अनि पहिलेकी भाउजू खोई त ?’ कुमारको पहिलो बिहे गाउँमै भएको थियो । कुशल र कुवेर उनकै चिनो हुन् । ‘दैवले अकालमै चुँडेर लग्यो उनलाई’, कुमारले गहभरि आँसु पार्यो, ‘त्यसपछि जानुसँग बिहे गरेँ ।’
दुवैले सुख-दुःखका कुरा गरेर दिन बिताए । जानुको जवानी सम्झेर बेलाबेलामा कोक्याइरहन्थ्यो कृष्णको मन । ऊ घुटुक्क थुक निल्थ्यो । दुवैले लामो समयसम्म हराएको मित्रतालाई निरन्तरता दिने बाचासहित बिदावारी भए । हिड्ने बेला दुवैका आँखा रसाए, मायालुका झैं ।
साँच्चै असल मित्रता थियो यी दुई बीच । मित्रताको साइनोभित्र दुवैका भावना अविरल बगिरहेका थिए ।
दिनहरु जसोतसो बित्दै थिए । ‘सन्तान चाहियो’ भनेर रातदिन जानुले कचकच गर्न थालिन् । सुन्दा सुन्दा कुमार दिक्क भइसकेको थियो । ‘मलाई जसरी भए पनि सन्तान चाहियो, सौताको छोराहरू त खील हुन्, पछिसम्म दुखिरहन्छन्’, बारम्बार जानु घुर्की लगाउँथिन् ।
सुनेर पनि नसुने झैँ गर्नु कुमारको बाध्यता थियो । जवान जानुले सन्तानको चाहना गर्नु स्वभाविक थियो । तर, श्रीमतीको रहर पूरा गर्न उनी सक्दैनथे । जानुका अपुरा रहरहरु पूरा गर्न स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उनका लागि गरिएको कृत्रिम गर्भाधारणको प्रयास तीन पटकसम्म पनि असफल भयो । गाउँले भाषामा भन्नुपर्दा ‘साँढे लिन नसकेको वा साँढे नफापेको कोरेली बाच्छी’को झैँ भयो उनको जीवन ।
हैसीयतले भ्याएसम्म उपचार गर्दा पनि रहर चुँडिदा विचलित थिइन् उनी । र, कलह मच्चाउन थालिन् सानो परिवारमा । उनको कलहबाट मुक्त हुन कुमारले अनेकौँ उपाय रच्न थाल्यो । अन्तमा कुमार बाल्यकालको मित्र कृष्णकोमा शरणार्थी झैं हात फैलाउन पुग्यो ।
शहरको शानदार महलमा शान्तसँग जीवन बिताइरहेको कृष्ण आफ्नो अगाडि कुमारलाई देखेर दंग पर्यो । ग्वाम्लाङ अँगालोमा बेर्यो । पहिले जस्तो कुमारको अनुहारमा खुसी नदेख्दा कृष्णको मन खिन्न भयो । ऊ सशंकित भयो, ‘कतै मैले जानु भाउजुको रूपलाई भित्रभित्रै मन पराएको कुरा कुमारले थाहा पायो कि !’
उदास कुमारका नयन नियाल्दै उसले सोध्यो, ‘कुमार, किन चिन्तित देख्छु नि, के भयो ? मबाट केही सहयोग हुन सक्छ कि ?’
कुमारका आँखाबाट बररर आँशु बर्सन थाले । उसको मुखबाट फुत्त एउटा आवाज निस्कियो, ‘कृष्ण म साँच्चै सहयोग माग्न आएको हुँ, सहयोग गर्छस् ?’
‘दिल खोलेर सहयोग गर्नु त मित्रको कर्तव्य नै हो नि, नत्र केको मित्र भन्नु ? के सहयोग गर्नुपर्यो मैले, भन् न कुमार’, कृष्णले सहानुभूति दियो ।
कुमारले आफनो ब्यथा सुनायो । ‘गरीबीमा भए पनि खुसी थियो मेरो परिवार । दुई छोरा, श्रीमति र म । कति सुन्दर थियो हाम्रो संसार । एकदिन म र श्रीमति घाँस काट्न जंगल गएका थियौँ । अचानक भीरबाट चिप्लेर लड्दा श्रीमतिको मृत्यु भयो ।
म भने रुखमा च्यापिएर घाइते भएछु । भगवान दाहिना भएर मलाई जीवनदान त दिए तर, मेरो प्रजनन शक्ति त्यसै दिनबाट खोसिएर टाढा भयो, सँधैका लागि । उपचारपछि म बाँच्न सफल भएँ । त्यसपछि जानुसँग मागी विवाह भयो । तर, सन्तानको रहरमा डुबुल्की मार्ने उसको चाहनाको अघिल्तिर मेरो कमजोरी के लुक्न सक्थ्यो र ? यहि कुराले उनी दिनहुँ कलह गर्छिन् । कुशल र कुवेरलाई पनि आमाकोभन्दा सौतेनी गिद्धे दृण्टिबाट हेर्छिन् ।’
कुमार सुनाउँदै गयो, ‘कैयौँ पटक कृत्रिम गर्भधारण गराउन खोज्दा पनि असफल नै हुन पुग्यो । महंगा आधुनिक उपचार गर्नु मेरो हैसियतभन्दा माथि छ । त्यसैले कृष्ण केही समय तैंले मेरो जीवनमा खेतालाको रूपमा काम गरिदिनु पर्यो । त्यसका लागि म ज्याला दिन त सक्दिनँ । तर, पनि सहयोग गरिदिए आभारी हुने थिएँ ।’
कुमारको कुरा सुनेपछि कृष्णको मन पनि पीडाले घोच्न थाल्यो । त्यसभन्दा ठूलो त ऊ दोधारमा पर्यो । जानु भाउजूप्रति उसको प्रेम अव्यक्त रुपमा हृदयमै लुकेको थियो, तर, जानुलाई खोसेर कुमारको जीवन अलपत्र बनाउन चाहदैन्थ्यो ऊ । कुमारको जीवनमा सहयोग गरूँ या कलहमै छाडिँदिऊँ, ऊ अलमलमा पर्यो । तैपनि असल मित्रको हैसियतले कुमारको दुःखमा साथ दिने निर्णय गर्यो उसले ।
कृष्णले वचन दियो । जानुको रहर पूरा भएपछि कुमारको जीवनमै फर्काउने शर्त र बाचामा मञ्जुर भए दुवै ।
भोलिपल्ट कुमार जानुलाई लिएर कृष्णको घरमा पुग्यो । उसलाई खेतालाको रुपमा जानुको फुलबारीमा काम गर्न सुम्पेर कुमार गाउँ फर्कियो । गाउँमा सोधखोज हुँदा उपचारका लागि शहरमा राखेको छु भनेर ढाँट्थ्यो ।
जानुको रूप र बैँशमा त्यसै पनि लठ्ठिएको कृष्ण अब स्वतन्त्र थियो उनको बैँशालु रसमा भिज्न । कृष्णको सुखसयलमा मोहित जानु वर्षौंदेखिको कुण्ठित रहरले शिखर चढ्न सफल भएकोमा अझ मख्ख थिइन् । आफनै गोठको साँढे बेकम्मा भएपछि गोठ सरेकामा खुसी भइन् उनी । चिल्ला गाडी, भौतिक रस र जैविक रस दुवै मिसिएको सुन्दर जीवन जीउन छाडेर बाँझो कुमारको जीवनमा नफर्कने निर्णय गरिन् उनले ।
उकाली-ओराली गर्दा मीठो बास्ना आउने कृष्णको रस छाडेर गोबर गन्हाउने कुमारको रसमा फर्कन मनले मान्दै मानेन जानुको । कृष्ण र जानुको जीवन रसिलो बन्यो । खेताला र मालिक्नी सम्बन्ध होइन, बरु दुवैको सम्बन्धमा प्रगाढ माया बस्यो । कृष्णलाई आफ्नो उजाडिएको फूलबारीमा फुलीरहने फूलका रुपमा जानुलाई भेट्टाएको महशुस हुन्थ्यो ।
समय बित्न कति पो दिन लाग्दो रहेछ र ? उनको पेटमा आफ्नो हातले सुम्सम्याउँदै ऊ आफ्नो उत्तराधिकारीको धड्कन सुन्ने गर्थ्यो । उनी लजाए झैँ गर्थिन् । यसरी मायालु फूलबारीमा लुकामारी खेल्दै अघि बढेका उनीहरुले कुमारसँगका बाचा र शर्त भुल्दै गए ।
एक दिन अनायसै मिर्मिरे बिहानीमा कुमारको आगमनले कृष्ण र जानुको जीवनमा खिन्नता ल्याइदियो । लत्रेको पेट र बढेर फुटबल जत्रो भएको नितम्बमा आँखा गाड्दै कुमारले जानुलाई भन्यो, ‘अब घर जाऊँ, अब त कलहको बिऊको पनि अन्त्य भयो नि जानु । कुशल र कुबेरले पनि तिमीलाई खोजेका छन् ।’
जानु अनकनाउँदै पर भागी र पुलिसले चोर पक्रेझैँ बेस्सरी पक्रिई कुमारका हात ।
कुमारले कृष्णको सामुन्ने गएर भन्यो, ‘सहयोगका लागि धन्यवाद साथी ।’ म जानुलाई फिर्ता लिएर जान्छु।’
कुनै जवाफ नदिई कृष्णले जानुलाई बेस्सरी अँगालोमा बेर्यो, ‘जानु र मेरो प्रेमले शिखर चुमिसक्यो कुमार ! उनीभित्रको अंशले यो घरको अधिकार पाउने निश्चित भइसक्यो अब । त्यसैले म शर्त र बाचाहरु तोड्दैछु । मलाई माफ गर कुमार ।’
‘मेरो फूलमा भमरा बनेर अब कहिल्यै नआउनु है’, विश्वास गरेको परम मित्रले घात गरेको देखेर कुमार नाजवाफ भएर फर्कियो । सदाका लागि आफ्नो जीवनबाट बिदा होस् भन्ने कामना गर्दै उनीहरुले कुमारलाई बिदाइको हात हल्लाइरहे।
कुमार आफ्नो मित्रको छायाँमा लतपत भएको अविश्वासको पीडा बोकेर बढिरह्यो आफ्नै पुरानो संसारतिर।
- सेतोपाटी

