एक समय थियो, लोकदोहोरी भन्नासाथ राजु परियारको नाम आउँथ्यो। लोकदोहोरी रेस्टुरेन्ट हुन्, राजमार्गमा कुद्ने गाडी हुन् वा एफएम रेडियो, राजु परियारको स्वरको जादू चलेको थियो ।
‘गर्नु गर्यौ बलराम’ जस्ता केही गीतले उनलाई सफलताको शिखरमा पुर्याएका थिए। एकै दिनमा १३ वटा गीतसम्म उनले रेकर्ड गरे। ‘एकै दिनमा गीत गाएर डेढ लाखसम्म कमाएको छु,’ उनी सम्झिन्छन्। तर, अहिले खोई राजु परियार ?
हालैको एक दिन लमजुङ सदरमुकाममा आयोजित कार्यक्रममा राजु परियारलाई देखिए। उनका प्रशंसकले समेत उनलाई हो कि होइन ठम्याउन सकेनन्। ५ वर्ष भयो राजुको नयाँ गीत र समाचार नसुनिएको। निकै दुब्लो भएका राजुको अनुहार पनि कालो पोतोले ढाकेकाले धेरैले चिनेनन्।
लमजुङ जिविसले गरेको सम्मान कार्यक्रममा उनको नाम लिएर बोलाइएपछि बल्ल मानिसहरूले ठम्याए। जिविसको सम्मान थापेपछि उनले आफ्नो जीवनबारे कुराकानी गरे। कुराकानीमा केही व्यक्तिगत र पारिवारिक समस्याले गर्दा आफूपछि परेको बताए पनि उनी त्यसमा खुलेर बोल्न भने चाहेनन्। उनले आफ्नो अवस्था यसरी सुनाए :
‘मैले गाई त पालें तर दूध खान जानिनँ। म सफलताको शिखरमा पुगेको थिएँ। दिनमा १०–१२ वटा गीत रेकर्ड गराउँथें। दोहोरीगीत भन्नासाथ मेरो नाम आउँथ्यो। एकै दिनमा डेढ लाख रूपैयाँसम्म मैले कमाएँ। तर, जोगाउन सकिनँ। अहिले सुकुम्बासीजस्तो भएको छु। मेरो कुनै ब्यांक ब्यालेन्स छैन, एक पैसाको जग्गा पनि छैन।
मैले आफूलाई ‘मेन्टेन’ गर्न सकिनँ। पारिवारिक समस्यामा फँसें। पिटाइ खाने, पुलिस कस्टडीमा पर्नेसम्म स्थिति आयो। अनि म विदेश गएँ। यता बस्न सक्ने अवस्था थिएन। अहिले फर्केर आएको छु। अब मैले चेतेको छु। आफ्नो सफलतालाई पनि चिनेको छु। अब म पहिलेजस्तो गर्दिनँ। पहिला कतिजनालाई दिनभरि स्टुडियोमा कुराएर आफू अन्तै पुग्थें। कतिका गीत भनेको समयमा गाइदिइनँ। मान्छेहरूलाई मलाई गीत गवाउन कति समय कुर्थे। मैले मोबाइल नम्बर र डेरा पनि निकै फेरें, त्यसले गर्दा पनि कतिले दु:ख पाए। अहिले म ती दिन सम्झिइरहेको छु। यो ५ वर्षको ग्यापले गर्दा मेरो सम्पर्क टुटेको छ। मेरो ठाउँमा अरु नै गायकहरु आएका छन्। मेरो पहिलेको व्यवहारले गर्दा पनि कतिजनालाई मसँग काम गर्न असजिलो होला। तर, म सुध्रिएको छु। म पहिलेजस्तो छैन। कमाएको कुरा जोगाउन र लगानी गर्न सकिएन भने सिद्धिन समय लाग्दैन रैछ। मैले जोगाउन जानिनँ।
यो ५ वर्ष मैले पारिवारिक ‘टेन्सन’ का कारण गुमनाम बस्नुपर्यो। अहिले त्यो समाप्त भएको छ। अब म नयाँ जीवन लिएर आएको छु। हिजोको राजु परियारलाई दिएको ताली मलाई फेरि दिनुहोला। म बाँचुन्जेल गीत गाइरहनेछु। यसपालि पनि मैले तीजका केही गीत गाएको छु। दसैंपछि मेरो नयाँ एल्बम आउनेछ।
लमजुङको गाउँसहर चिसापानीको स्कुल पढ्दैदेखि म गीत गाउँथें। २०५६ देखि गीत रेकर्ड हुन थाले। अहिलेसम्म ११ हजारजति गीत गाए हुँला। नेपालमा सबैभन्दा बढी गीत गाउने गायक मै हुँ। अहिले हेर्दा लाग्छ, पहिले धेरै गीत गाएछु। अब राम्रा गीत बढी गाउनेछु।
कलाकारको सबै चिज भनेकै हो। अब म स्रोता गुमाउन चाहन्नँ।
- भाद्र २६, २०७२/कान्तिपुर

