भाद्र २६, झापा : गए राति शनिअर्जुन नगरपालिकाबाट अपहरणमा परेका तीन जना भारतीय नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
ती भारतीय नागरिकको अपहरणमा संलग्न पाँच जनालाई पनि प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
भारतको राजस्थान र गुजरात घर भएका तीन युवालाई अपहरण गरी शनिअर्जुन नगरपालिकास्थित एक घरमा राखिएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताए ।
अपहृत ती युवाका परिवारसँग अपहरणकारीले कल बाइपासको प्रयोग गरी साउदी अरबको नम्बरबाट फिरौती रकम मागेपछि भारतीय प्रहरीले उनीहरु नेपालमा रहेको पत्ता लगाएको थियो ।
भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेपछि उनीहरु बसेको ठाउँको पहिचान गरी अपहरणकारीको उद्धार गरी अपहृतको उद्धार गरिएको प्रवक्ता दाहालले बताए ।
स्थानीयवासीका अनुसार अपहरणमा संलग्नहरुले ती युवालाई शनिअर्जुन नगरपालिकास्थित भाडामा लिएको एक घरमा लामो समयदेखि बन्धक बनाएर राखेका थिए ।
अपहरणमा संलग्नमध्ये दुई नेपाली र तीन भारतीय छन् । प्रहरीले उनीहरुका साथबाट पेस्तोल र त्यसमा लाग्ने गोली तथा एउटा गाडीसमेत नियन्त्रणमा लिएको छ । - रासस

