माघ २, काठमाडौं – भूकम्पले भत्काएको संरचनाहरुको पुनर्निर्माण गर्न महाअभियानको उद्घाटन कार्यक्रम रानीपोखरीमा तामझामका साथ शनिवार शुरु हुँदै थियो । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु कुटनीतिक नियोगका पाहुना, सुरक्षा अंगका प्रमुखलगायत देशविदेशका गन्यमान्य व्यक्तित्वहरु निम्ताइएको थियो ।
राष्ट्रपति विद्या भण्डारीले बेलुन उडाएर भव्य रुपमा कार्यक्रम शुभारम्भ गरिन् । रानीपोखरी परिसरको पुनर्निर्माण लागि शिलान्यास कार्यक्रम पनि राखिएको थियो । राष्ट्रपति भण्डारीलगायत उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत विशिष्ट पाहुना रानीपोखरी किनारमा रहेको शिलान्यास कार्यक्रममा सरिक भए ।
शिलान्यास हिन्दु परम्परा अनुसार वैदिक विधिबाट गरिँदै थियो । कार्यक्रममा सहभागी ब्राम्हण मन्त्र पढेर राष्ट्रपति भण्डारीलाई पूजाआजा गराउँदै थिए ।
उता प्रधानमन्त्री केपी ओली भने बेला–बेलामा घडी हेरेर हतारिरहेका थिए । ब्राम्हणको कर्मकाण्डी पूजाआजा लामो थियो । प्रधानमन्त्री केपी ओलीले बीचैमा भने, ‘अलि चाँडो गरौं न’ ।
औपचारिक कार्यक्रममा सहभागी विशिष्ट व्यक्तीहरुकै माझ राष्ट्रपति भण्डारीले जवाफ फर्काइन्, ‘अघि आउदा चाँही ढिला आउने अहिले जान चाँही हतार ?’
राष्ट्रपतिको जवाफपछि प्रधानमन्त्री केपी ओलीले भने केही जवाफ दिएनन् । तर, औपचारिक कार्यक्रममै राष्ट्रपतिबाटै प्रधानमन्त्रीलाई जवाफ फर्काउँदा सहभागी सबैलाई असजिलो महसुस भइरहेको देखिन्थ्यो ।
- रातोपाटी

