छोरालाई फलामको खोरमा थुन्न सहकारीबाट ऋण

दोलखा, माघ २९ – दोलखाको जुँगु-४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका भनिएका ४० वर्षका श्यामबहादुर भुजेल फलामे खोरभित्र आफ्ना दिन कटाउन बाध्य भएका छन् । 

उहाँले दिसापिसाब खोरमै गर्ने गर्नुभएको छ । परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उहाँलाई फलामे खोर बनाएर थुन्न परेको श्यामका भाइ छत्रबहादुर भुजेलले बताउनुभएको छ ।

बभाइ छत्रबहादुर भन्नुहुन्छ, ‘घरको आर्थिक अवस्था ज्यादै नाजुक छ । सामान्य दालभात खान नै मुस्किल छ । दाइको उपचार गराउँदा भएको रकम सकियो । अहिले औषधि खान छोडेसँगै दाजुले गाउँमा विध्वंश मच्चाउँछन् ।’

गाउँलेको घर अगाडि थुपारिएको परालमा आगो लगाउने, बाटो हिँड्ने मानिसलाई ढुङ्गाले हान्ने जस्ता कार्य गर्ने गरेपछि श्यामबहादुरलाई खोरभित्र थुनेर राख्न बाध्य भएको परिवारजनको भनाइ छ । 

गएको आठ वर्षदेखि सामान्य रहेको उहाँको अवस्था भूकम्पपछि धेरै बिग्रन पुगेको स्थानीय बासिन्दा बताउँछन् । खोरमा थुनेर नराख्दा गाउँभरिका मानिसलाई दुःख दिएका कारण परिवारले जरिवानास्वरुप झयडै एक लाख रुपैयाँ तिरीसकेको भाइले बताए । बाहिर बारीमा खोर बनाएर राखिएको र बिहान बेलुकी जेजस्तो भएको पकाएर खुवाउने गरेको श्यामबहादुरकी आमा जगतमाया भुजेल बताउनुभयो ।

‘मानिस हो । पशु सरह खोरमा थुनेर राख्न कसलाई मन हुन्छ र, एक पैसा नभएका कारण उपचार गर्न सकिएन ।’ आमा जगतमायाले भन्नुभयो । छोरो थुन्न फलाम किन्नकै लागि गाउँमा रहेको जनउपकार सहकारी संस्था लिमिटेडबाट २० हजार रुपैयाँ ऋणसमेत लिएको जगतमाया बताउँछिन् । 

उनलाई फलामको प्वालबाट खाना खान दिने गरिएको छ । वर्गाकार फलामे खोरमा ताला लगाउने चुकुल राखिएको छ । ताला भने कहिल्यै खोल्ने नगरेको आमा जगतमायाले  बताउनुभयो । अहिले परिवार भने कोही मनकारीले उपचारमा सहयोग गरिदिए हुन्थ्यो भन्ने आशामा छन् । - रासस