योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा रहेका तामाङहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होछार मनाएका छन् । यसै अवसरमा उनीहरुले तेश्रो अधिवेशन पनि सम्पन्न गरेका छन् ।
अधिवेशनले तामाङ समाजको अध्यक्षमा सोनाम योञ्जन लामालाई निर्विरोध चयन गरेको छ । समितिमा उपाध्यक्षद्वय राजकुमार तामाङ र राजेन्द्र तामाङ, सचिव सुनील ग्लान, सहसचिव अजय लामा, कोषाध्यक्ष जानकी तामाङ र सह कोषाध्यक्ष माया पाख्रिन रहेका छन् ।
खानपीनसहित तामाङ जातिको भेषभूषामा सजिएका अधिकांश युवाहरुको सहभागिता रहेको कार्यक्रममा सहभागी सबैले नेपालकै कुनै स्थानको मेलाको अनुभव गरेको बताए । साँस्कृतिक साँझमा गायक जयनन्द लामा, देव लामा, पद्यम योन्जन, कुञ्साङ वाइबा र रामबाबु योञ्जनलगायतले साङ्गीतिक प्रस्तुतिसहित दर्शकलाई नचाएका थिए भने दर्जनौ कलाकारहरुले लोकनृत्यहरु पस्केका थिए ।
२८५२ औं सोनाम ल्होछार (ते-ल्हो) को अवसरमा अतिथिहरुले शुभकामना मन्तव्य पनि दिएका थिए । लिस्बनका अबैतनिक बाणिज्यदूत मकर हमाल, जनजाति महासंघका अध्यक्ष कान्छा शेर्पा, एनआरएन अध्यक्ष भीम केसीलगायतले मन्तव्य राखेका थिए ।
कार्यबाहक अध्यक्ष झोरमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पद्म योञ्जनले गरेका थिए। कार्यक्रम रुवा पाल्मिरा ४६ को हलमा भएको थियो ।
