नयाँशक्ति उर्फ उफ्रने नयाँ भ्यागुतो (व्यंग्य)

- भवानी बराल

‘नयाँशक्तिको जुगाड लाग्दै छ भन्ने हाम्लाई लाइरा’छ,’ एक्लै बैठक कोठामा बसेर मुख चुच्चो पार्दै डाक्टर बाबुरामले खोक्दै बोले । भित्र भान्सामा नौतुन ज्वाइँ र छोरीलाई बारा उसिन्दै गरेकी हिसिला डाडुपन्युसँगै बाहिर निस्किन । यसो यताउती हेरिन् । 

बाबुराम एक्लै बैठक कोठामा घोत्लिरहेका थिए । अनि तीनछक्क पर्दै सोध्न थालिन्, ‘हैन बाबुराम कमरेड, ए सरी नयाँशक्ति सन्योजक, तिमी कोसँग नयाँशक्तिको बारेमा बर्बराइरहेका छौ ? यहाँ त कोही पनि देखिन्न त ।’

‘हे नयाँशक्तिकी धर्मिणी, म अन्तरमुखी हुँ, त्यसैले अन्तरआत्मासँग बोलिरा’थेँ । तिमीले मेरो अन्तरआत्मिक अन्तक्रिर्या नै भंग गरिदियौ,’ बाबुरामले अलिकति ननिको ठाने ।

यतिकैमा हिसिलाले जवाफ तलब गरिन्, ‘तनहुँदेखि ज्वाइँ-छोरी आइछन्- काफल, ऐंसेलुु, चुक, अमिलो लिएर भेट्न । तिमी भने परिवारलाई समय दिनुको साटो नयाँशक्तिको भजन गाई रहन्छौ दिनरात ?’

अब भने दुई पक्षीय बहस सुरु हुने नै भयो । भित्र भान्साबाट ज्वाइँ र छोरी पनि निस्किए । उनीहरु पर्यवेक्षकको रुपमा बहसमा सहभागी हुन चाहेको तीनको अंग भाषाले देखाएथ्यो ।

यत्तिकैमा बाबुरामले नयाँशक्तिको सार खिच्दै भन्न थाले, ‘नयाँशक्तिले आर्थिक समृद्धि र तीसबुँदे आचारसंहितासहितको कार्यक्रम बाहिर ल्याउनासाथ मेन पावरको कुँडुलो लागेको छ ।

हिरो-हिरोनीदेखि डलरको खेती गर्ने सुन सुड्डी, सुन सुड्डा, भूपू कर्मचारीदेखि बालब्रह्मचारीसम्म, तीन ‘प’ अर्थात् पुलिस, पत्रकार, पाकेटमार, बुढाखाडा, बलियाबाङ्गा, लुतेल्याङ्ग्रे, पटमूर्ख, विद्वान, जोगी-फकिर, सन्न्यासी, ज्योतिषी, डन सबैको आशा-भरोसाको केन्द्र नयाँशक्ति बनेको छ,’ बाबुरामले एकै सासमा खोके ।

तर, हिसिलालाई विश्वास जागिसकेको थिएन । राजनीतिशास्त्रकी पौने डाक्टर मानुषी र उनका श्रीमानले भने नयाँशक्तिको प्रवचन विद्वान् पीताश्रीका मुखारबिन्दबाट सुन्न कर्ण उतैतिर फर्काएको तिनका हाउभाउले देखाउँथ्यो ।

‘शक्ति भनेपछि अंग्रेजीमा ‘पावर’ हुन्छ । र, विज्ञानको भाकामा यो हर्स (घोडा)को शक्तिसँग नापजोख गरिन्छ । अर्थात् ‘हर्स पावर’ भनिन्छ । अब यो हर्स-पावरमा ‘नयाँ’ शब्द थपेपछि त ‘न्यु हर्स-पावर’ भयो । यस्तो पनि कतै हुन्छ ?’ हिसिलाले आफ्नो विज्ञान (इन्जिनियरिङ) पढाइको सार खिचेर भनिन् ।

उनले फेरि थपिन्, ‘कि त नयाँ भनेपछि उँट, जिराफ वा हात्ती वा यस्तै ठूलो जनावरको शक्ति थपिएको हो ? जस्तो कि इलिफेन्ट (हात्ती) पावर ?’

प्रश्नहरु बेमौसममा असिना झरेझैं बग्रेल्ती बाबुरामका अगाडि आए । यस्ता प्रश्नको उत्तर खाप्नु प्राज्ञिक बहसमा बाबुरामलाई दिक्दार लाग्नु स्वाभाविकै थियो ।

घरमै विश्वास लिन नसक्दा नयाँशक्तिको योजना तथा कार्यक्रम, कार्यदिशा तथा रणनीति अलपत्र त पर्ने नै भयो । नयाँशक्तिको जुगाड घरमै अलपत्र पर्ने नै भयो, उनले मनमनै ठाने होलान् । घरमै नयाँशक्तिको दियो जलेन भने जोरीपारीमा राँको बाल्नुको अर्थ पनि हुन्थेन । तब त उनले राजनीतिक अर्थशास्त्रको सार खिच्दै भन्न थाले, ‘कुरोको चुरो त्यसो होइन । यो मेन पावरको कुरा हो । पुरानोको साटो नयाँ मेन पावर ।’

कुरो राम्रोसँग खस्न पाएको थिएन, हिसिलाले कुरो बुझेजस्तो गरी भन्न थालिन्, ‘आर्थिक समृद्धिका लागि मेन पावरको ठूलै महत्त्व छ । रेमिन्ट्यान्सले नै हाम्रो मुलुकको अर्थतन्त्र चलेको छ । मेन पावर नेपालमा फस्टाएको बेपार पनि हो ।’

हिसिलाले उल्टो कुरा बुझेपछि बाबुरामलाई फेरि प्राज्ञिक ऐंठन पर्‍यो । कुराको पोयो अर्कैतिर मोडिएपछि बाबुराम हैरान परेसान हुँदै गए ।कुराको चुरो नभेटेसम्म हिसिलाको प्रश्न आइरहने देखेर बाबुरामले सारगर्भित कुरा राख्ने मनसुबाले बोल्न थाले, ‘यो रेमिन्ट्यान्स भित्र्याउन नयाँशक्तिको कुरा गरेको हैन । पुरानो शक्तिमा अब धार रहेन । जति नै पाइन चढाए पनि काम लागेन । नयाँ गर्नका लागि विचारको नयाँ जुगाड गरिएको हो ।’

‘तिम्रा समूहमा नयाँ के छ र ? हिरो-हिरोनी, पत्रकार, पुलिस, कर्मचारी, समाजसेवी, विद्वान, व्यापारी सबै पुरानै त छन् । तिमी पनि त पुरानै भूपू हौ,’ हिसिलाले बीचैमा टोकिन् ।

कुराको छेउटुप्पोभन्दा पनि अनन्त तर्क तरंगमा जाने देखेपछि बाबुरामले बिट मार्ने हिसाबले बोल्न सुर गरेँ, ‘नयाँ भनेको नयाँ हो । नयाँलाई नयाँ नै भनिन्छ । किनभने, नयाँ भनेको नामले नयाँ । नयाँशक्ति भनेको विचारको रिसाइक्लिङ हो, रिकन्डिसन हो, नयाँ बनाउनलाई हो । 

रुपमा नयाँशक्ति जे भए’नि सारमा नयाँशक्ति विचारहरुको एसेम्बलिङ हो । नउफ्रिने भ्यागुता पनि भ्यागुता, उफ्रिने भ्यागुतो पनि भ्यागुतो हो । नउफ्रिने भ्यागुतो पुरानो र उफ्रिने भ्यागुतो नयाँ भ्यागुतो हो । अरु सबै पार्टी उफ्रिन नसक्ने भ्यागुतोजस्ता छन् । तसर्थ ती सबै पुराना शक्ति भए । 

हामी फुत्तफुत्त उफ्रिन्छौं । त्यसैले हामी नयाँ भ्यागुतोजस्ता नयाँशक्ति भयौं । हामी पुरानो ठाउँलाई छोडेर फुत्त उफ्रिएर अर्कैतिर लाग्यौं । त्यसैले हामी नयाँ भयौं । पुरानो कुवा नछोडी बस्ने पुरानै भए ।

अब रह्यो शक्तिको कुरा न उफ्रिने हो भने शक्ति नै चाहिँदैन । हाम्रो सिद्धान्त नै उफ्रिरहने भएकाले ताकत चाहिन्छ । त्यही ताकतलाई हामीले शक्ति भन्यौँ । तर, त्यो शक्तिका लागि नयाँशक्ति भन्यौँ । त्यो पाउने भनेको मेन पावरबाट हो । हर्स पावर, इलिफेन्ट पावरको कुरा हैन ।’

यत्तिकैमा भित्र भान्साबाट बारा डढेको मगमग बास्ना आउन थाल्यो । अत्तालिँदै हिसिला डाडुपन्युसँगै भित्र पसिन् । छोरीज्वाइँ पनि मुखामुख गर्दै भित्र पसे । बैठकमा फेरि सन्नाटा छायो । बाबुराम गहिरो चिन्तनमा घोत्लिन थाले ।
- अनलाइनखबर