उम्मेदवारी कुनै हालतमा फिर्ता हुँदैन, सभापति जितेर देखाइदिन्छु : सुजाता

काठमाडौ, फागुन १५ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले कसैसँग बार्गेनिङ गर्नको लागि १३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा नगरेको भन्दै फिर्ता नहुने दावी गर्नुभएको छ । 

रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा कोइरालाले आफू धेरै अगाडि बढिसकेकाले पछाडि नफर्कने बताउनुभयो । उहाँले भन्नभयो, ‘यसपाली मलाई अरुले सहयोग गर्नुपर्छ । म यसपटक पनि पछाडि हटेँ भने कांग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’

कोइरालाले आफूलाई कांग्रेसका देशैभरिका कार्यकर्ताको समर्थन रहेको दावी गर्दै विजयी हुने ठोकुवा गर्नुभयो । ‘म देशभरी घुमेकी छु । मलाई सभापति पदमा उम्मेदवार बन्न साथीहरुको धेरै दवाव छ । देशै भरी मैले समर्थन पाएको छु । १२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हुँ, सधैँभरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन ।’

कोइरालाले पार्टीभित्र बीपीदेखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाइन भइरहेको भन्दै आफू र कांग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भइरहेको बताउनुभयो । 

कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे युवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान बिर्सिए कांग्रेस नै समाप्त हुने चेतावनी दिनुभयो । 

उहाँले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गर्नुभयो ।  कोइरालाले भन्नुभयो, ‘सशांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन् र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन् ।’