राजतन्त्रदेखि गणतन्त्रसम्म काँग्रेस महाधिवेशनका नालीबेली

विष्णु नेपाल, काठमाडौँ, फागुन १५ । राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस प्रसव वेदनाका साथ १३ औँ महाधिवेशनमा होमिएको छ। 

पार्टी महाधिवेशनको तयारी भइरहँदा सभापति सुशील कोइरालालाई असामयिक रुपमा गुमाउनुपर्दा उसका लागि यो महाधिवेशन शोकलाई शक्तिमा रुपान्तरित गर्ने महाधिवेशन बन्न पुगेको छ। पार्टीको आन्तरिक जीवनलाई पुनर्ताजगी गर्ने ठानिएको यो महाधिवेशनले अनुमोदन गर्ने नीति र नेतृत्व कस्तो होला भन्ने विषयले आम समुदायको ध्यान खिचिरहेको छ। 

भारतको कलकत्ता भवानीपुरमा विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसको रुपमा पहिलो महाधिवेशन सम्पन्न गरेको काँगेस हरेक राजनीतिक आन्दोलनको अगुवा, नेतृत्वकर्ता तथा साक्षी बन्दै आएको छ। विसं २००६ चैत २७ गते सम्पन्न महाधिवेशनले नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसलाई एकीकरण गरी नेपाली काँग्रेसको जन्म गराएको थियो। 

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उसका आदर्श र सिद्धान्त हुन्। नीति र नेतृत्वभन्दा जनता सार्वभौम हुनुपर्छ अनि मात्र सही मानेमा प्रजातन्त्र हुन्छ भन्ने नेकाले पाँच दशकभन्दा बढी समय संवैधानिक राजतन्त्रको पक्षमा आफूलाई उभ्यायो। 

संवैधानिक राजतन्त्रबाट प्रजातन्त्रका नाममा अनेकन उतार चढाव देखेको र भोगेको नेकाले अन्ततः आफूलाई गणतन्त्रको पक्षमा आफूलाई उभ्यायो। खासगरी विसं २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि नेका र राजतन्त्रको सम्बन्ध टुट्यो। विसं २०६४ मा भएको महासमिति बैठकले संवैधानिक राजतन्त्रलाई आफ्नो विधानबाट हटाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्न पुग्यो। 

प्रजातान्त्रिक आन्दोलनको प्रमुख शक्तिका रुपमा आफूलाई उभ्याउँदै आएको नेकाले आधुनिक नयाँ नेपालको निर्माण गणतन्त्रबाट मात्र हुन्छ भन्नु नयाँ राजनीतिक परिघटना थियो। परिपक्व, खारिएका र जनतामा भिजेको नेकाका नेतृत्व हुँदा त्यो परिघटनाको सार्थक रुप नै जनताको संविधान रुपमा नयाँ संविधान आउनुलाई मान्न सकिन्छ। 

राणा शासन, पञ्चायती शासन र सक्रिय राजतन्त्र (विसं २०५९ पछि) विरुद्धका आन्दोलनको नेतृत्व नेकाले गरिसकेको छ। विसं २०६२/६३ पछि बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा तत्कालीन माओवादीलाई ल्याउन नेकाले खेलेको भूमिका अर्को ऐतिहासिक काम हो। 

स्थापनाकालदेखि नै आफ्नो सिद्धान्त, आदर्श र लक्ष्य प्राप्तिको सङ्घर्षमा नेका कहिल्ये विचलित भएन र यसबाटै उसको साख जोगिएको हो। 

विसं २००३ देखि नेपाली राष्ट्रिय काँग्रेसको रुपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकन चरण पार गरिसकेको छ नेकाले। विसं २००३ को विराटनगरको मजदुर आन्दोलन, २००७ को क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह, २०४६ को ऐतिहासिक जनआन्दोलन र २०६२–६३ को लोकतान्त्रिक आन्दोलनसम्म नेका सधैँ जनताको उन्मुक्ति र स्वतन्त्रताको सङ्घर्षमा नेतृत्वदायी भूमिकामा रह्यो। सार्वभौमसत्ता सम्पन्न जनताको पक्षमा सधैँ आफूलाई उभ्याई रह्यो। 

तत्कालीन अवस्थामा जहानियाँ राणाशासनलाई समाप्त गरी नेपाललाई स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक राष्ट्रका रुपमा विकसित गर्ने लक्ष्यका साथ २००३ साल कात्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन भएको थियो। यसमा विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, ईश्वर बराल, नरेन्द्र रेग्मी, सुब्बा देवीप्रसाद सापकोटालगायतले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। यसभित्र गरिएको सङ्गठित प्रयासको निरन्तरता र चेतनाकोे विस्तारले २००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय काँग्रेसको जन्म दियो। त्यसै सम्मेलनलाई नेपाली काँग्रेसको प्रथम राष्ट्रिय महाधिवेशन मानिन्छ। 


महाधिवेशनले तत्कालीन अवस्थामा जेल जीवन बिताएका टङ्कप्रसाद आचार्यलाई सभापतिमा निर्वाचित ग¥यो। विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापति बने। राणाशासन समाप्त गर्ने वैधानिक सङ्गठनको रुपमा गठित उक्त समितिमा बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, देवव्रत परियारलगायतले जिम्मेवारीपूर्ण नेतृत्व लिए। 

नेपाली राष्ट्रिय काँग्रेसको गठनसँगै यसको आह्वानमा २००३ साल फागुन २० गते पहिलोपटक भएको विराटनगरमा भएको मजदुर हडताललाई अधिकारका लागि गरिएको सङ्घर्षका रुपमा नेपाली राजनीतिमा स्मरण गरिन्छ। नेपाली राजनीतिका शिखरपुरुष काँग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई तत्कालीन समयमा मजदुरले आन्दोलनको अध्यक्ष निर्वाचित गरे। 

बिपी र गणेशमानको प्रत्यक्ष सहयोगमा गरिएको हडताल दबाउन राणाले बिपीलाई उनका आमा, बहिनी र मजदुर नेता गिरिजाप्रसाद कोइरालालगायतलाई थुनेको थियो। आन्दोलनको दमनपछि काँग्रेसले अहिंसात्मकरुपमा सत्याग्रहलाई देशव्यापी बनाएर सङ्घर्षलाई निरन्तर दियो। 

मजदुर आन्दोलन र सत्याग्रहबाट अत्तालिएका राणाले धरपकड र दमन जारी राखेकै अवस्थामा नेताको रिहाइ र आन्दोलनलार्ई थप सशक्त बनाउन २००४ सालमा वनारसमा दोस्रो महाधिवेशन सम्पन्न भयो। बिपी कोइरालाको रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मी कार्यवाहक सभापति बने। 

तेस्रो महाधिवेशन विसं २००५ मा भएको थियो। महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कावा अध्यक्ष बनेका थिए। नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएको हो। 

एकीकरणपछि पार्टीको नाम नेपाली काँग्रेस राखियो। एकीकरणसँगै पार्टीको चौथो महाधिवेशन पनि सम्पन्न भयो। 

महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो। कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरलगायतले विभिन्न जिम्मेवारी बहन गरे। सम्मेलनले नेकाको ऐतिहासिक घोषणापत्र २००६ जारी गर्यो जसले राणाशासनको समाप्तिका लागि आमजनतालाई आह्वान गरी ऐतिहासिक क्रान्तिको घोषणा गर्यो। 

घोषणापत्रमा राणाशासनको समाप्तिमात्र नभएर निर्वाचित जनप्रतिनिधिको सरकार, शोषणमुक्त आर्थिक व्यवस्था, सामाजिक न्याय, राष्ट्रिय स्वतन्त्रता, समानता एवम् विश्व शान्तिमा आधारित परराष्ट्र नीतिलाई आफ्नो आधारभूत सिद्धान्तका रुपमा अङ्गिकार गरिएको थियो। 

काँग्रेसको २००६ को महाधिवेशनपछि २००७ साल कात्तिक २१ गते भारतको बैरगनियामा बन्द सम्मेलन गरी प्रजातन्त्र स्थापनार्थ काँग्रेसले सशस्त्र क्रान्तिको उद्घोष गर्यो। क्रान्तिका माध्यमबाट १०४ वर्ष लामो जहानियाँ शासनको अन्त भई २००७ साल फागुन ७ गते नेपाल प्रजातान्त्रिक युगमा प्रवेश गर्यो। विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतले यस क्रान्तिको नेतृत्व गरेका थिए। 

सात सालको क्रान्तिको सफलतासँगै काँग्रेसको पाँचौँ महाधिवेशन २००९ साल जेठमा जनकपुरमा सम्पन्न भएको थियो। विश्वेश्वरप्रसाद कोइराला निर्वाचित भएको सो महाधिवेशनले देशमा यथासक्य चाँडो आमनिर्वाचन गराउन सत्याग्रहको घोषण गर्यो। देशव्यापीरुपमा २०११ सालमा दोस्रो सत्याग्रह सुरु भयो। 

छैटौँ महाधिवेशन २०१२ साल माघमा वीरगन्जमा भयो। महाधिवेशनबाट सुवर्णशमशेर पार्टी सभापतिमा निर्वाचित भए। यसै महाधिवेशनले औपचारिक रुपमा समाजवादलाई पारित समेत गरेको थियो। विराटनगर विशेष महाधिवेशन २०१४ ले बिपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गर्यो। 

सातौँ महाधिवेशन २०१७ मा, आठौँ महाधिवेशन झापा कलवलगुडीमा २०४८ मा, नवौँ महाधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र काठमाडौँमा २०५३ मा र दशौँ महाधिवेशन पोखरामा २०५७ मा सम्पन्न भयो। आफ्नै विवादका कारण विस २०५९ मा काँग्रेस टुक्रियो। दुवैले छुट्टाछुट्टै अधिवेशन गरे। कार्यकर्ताको दबाब र राजनीतिक घटनाक्रमले अन्ततः २०६४ मा पार्टी एकीकरण भई १२ आैं अधिवेशन विसं २०६७ असोजमा काठमाडौँमा सम्पन्न भएको थियो। रासस