साग फुटबलमा नेपाल तेस्रो सफल टिम, कुन देश कुन स्थानमा ?

काठमाडौं, ५ फागुन । बाह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा स्वर्ण पदक जितेपछि देश अहिले फुटबलमय बनेको छ । चिया पसलदेखि चोक-चोक र गल्ली-गल्लीमा फुटबलकै चर्चा सुनिन्छ । दक्षिणी छिमेकी भारतको हेपाहा प्रवृत्ति र नाकाबन्दीबाट वाक्क-दिक्क भएका नेपालीहरु अहिले भारतसँग नेपालले बदला लियो भनिरहेका छन् ।

हुन पनि उसकै घरेलु मैदनमा भारतलाई हराएर स्वर्ण पदक जित्नु सामान्य कुरा पनि होइन । यो नेपालको तेस्रो स्वर्ण पदक हो । आउनुस् यहाँ लेखाजोखा गरौं दक्षिण एसियाली खेलकुद साग अन्तर्ग फुटबलमा नेपाल कत्तिको सफल टिम हो त ?

तेस्रो सफल टिम हो नेपाल

सन १९८४ मा काठमाडौंबाट सुरु भएको साग खेलकुदमा नेपालले पहिलो संस्करणमै फुटबलमा स्वर्ण जित्यो । त्यतिबेला नेपालले बंगलादेशलाई हराएको थियो । त्यसको पछिल्लो वर्ष सन १९८५ मा भएको दोस्रो संस्करणमा नेपालले कास्य पदकमा चित्त बुझायो ।

तेस्रो संस्करणमा पनि स्वर्ण जित्न नसकेपनि नेपाल पदकविहीन भने हुनु परेन । फाइनलमा भारतसँग पराजित भएको नेपालले रजत पदक प्राप्त गर्यो । १९८९ र १९९१ मा नेपाल पदकविहीन रह्यो । १९९३ मा नेपालको दिन फेरि फर्कियो ।

त्यतिबेला साग ढाकामा आयोजना भएको थियो । नेपालले भारतलाई स्तब्ध पार्दै स्वर्ण पदक हात पार्यो । अहिलेका प्रशिक्षक राजुकाजी शाक्य त्यतिबेला राष्ट्रिय टिमका कप्तान थिए ।

त्यसपछि भने नेपालले अर्को स्वर्णजित्न २३ वर्ष कुर्नुपर्यो । यसबीचमा भएका ५ वटा संस्करणमा नेपाल ३ वटामा त पदकविहीन रह्यो । १९९९ मा रजत र २००६ मा कास्य जित्नुबाहेक नेपालले थप उपलब्धि गर्न सकेन । यो बीचको अवधिमा नेपाल फुटबल निकै पछि परेको विश्लेषण गरिन्छ ।

को कति सफल ?

१. पाकिस्तान:

४ स्वर्ण
० रजत
१ कास्य

२. भारत:

३ स्वर्ण
३ रजत
२ कास्य

३. नेपाल:

३ स्वर्ण
२ रजत
२ कास्य

४. बंगलादेश:

२ स्वर्ण
४ रजत
२ कास्य

५. श्रीलंका:

१ रजत
३ कास्य

६. माल्दिभ्स:

१ रजत
२ कास्य

७. अफगानिस्तान:

१ रजत

८. भुटान:

पदकविहीन

यसरी हेर्दा नेपाल साग फुटबलको तेस्रो सफल टिम हो । दोस्रो स्थानमा रहेको भारतले नेपालले भन्दा १ रजत बढी जितेको छ ।

महिलातर्फ नेपाल दोस्रो

सागमा महिला फुटबल आयोजना हुन थालेको भने दुई संस्करणमात्रै भयो । दुबै संस्करणमा भारतले स्वर्ण, नेपालले रजत र बंगलादेशले कास्य जितेका छन् ।
Source: Wikipedia/साझा पोष्ट