पोर्तुगल जनसम्पर्कले प्रतिनिधि चयन गर्‍यो, असन्तुष्टहरुद्वारा भेला आव्हान

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि चयन गरेको छ । तीन महासमिति सदस्य र चार प्रतिनिधि सर्वसम्मत चयन गरेको कुरा समितिले जनाएको छ । 

यही फागुन २३ देखि २५ मा हुने नेपाली कांग्रेसको १३ औ महाधिवेशनका लागि महासमिति सदस्यमा लक्ष्मीप्रसाद सापकोटा, पूर्णबहादुर हमाल र चीजकुमार तामाङ चयन भएका छन् भने महाधिवेशन प्रतिनिधिमा विनोद घिमिरे, भानु सापकोटा, शुशील शर्मा गैरे र सुरेन्द्र अमागाई जाने भएका छन् ।

मार्च २९ मा सम्पन्न समितिको चौथो महाधिवेशनको बन्द सत्रले दिएको म्यान्डेट, २०१६ फेब्रुवरी १५ मा सम्पन्न क्रियाशील सदस्य र आकांक्षीहरुको भेलाको निर्देशनबमोजिम फेब्रुवरी १५ का दिन सम्पन्न कार्यसमितिको बैठकले उनीहरुलाई चयन गरेको बताइएको छ । 

समितिको १३ तारिखको बैठकपछि अमृतप्रसाद गुरुङ, भानु सापकोटा, भीम केसी कमल, विनोद घिमिरे, चीजकुमार तामाङ, काजी शेर्पा, कुबेर कार्की, खेमराज रानाभाट, मुक्तिनारायण श्रेष्ठ, नारायणप्रसाद सापकोटा, पुरुषोत्तम सुवेदी (दामोदर), राजकुमार गौतम, सुरेन्द्र अमागाई, सूर्यबहादुर हमाल, सुशील शर्मा गैरे र तिलक गैरेले समितिमा मनोनयनका लागि इच्छा प्रकट गरेका थिए ।

असन्तुष्टहरुद्वारा क्रियाशील सदस्यहरुको भेला आव्हान 

यसैबीच समितिको निर्णयप्रति असन्तुष्टहरुले क्रियाशील सदस्यहरुको भेला आव्हान गरेका छन् । कांग्रेस पार्टी विधान र जनसम्पर्क समितिको विधान अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन क्रियाशील सदस्यको भेलाबाट गर्नु पर्ने भएकोले भेला बोलाइएको छ । 

भेलाले आधिकारिक ७ जना प्रतिनिधि चयन गर्ने छ । आयोजकका अनुसार क्रियाशील सदस्यहरुद्वारा निर्वाचित उनीहरुले नै मान्यता पाउने छन् ।  

सल्लाहकार तथा पूर्व उपाध्यक्ष मुक्ति नारायण श्रेष्ठ,  सल्लाहकार तथा पूर्व उपाध्यक्ष राजकुमार गौतम र पूर्व उपाध्यक्ष खेमराज रानाभाटले भेला बोलाएका छन् । 

सेण्डिकेट हल रोशियोमा २१ फेब्रुवरी, आईतबार दिउँसो २:०० बजेदेखि भेला शुरु हुने सूचनामा उल्लेख गरिएको छ । 

'पूर्ण हमालले मनोमानी गरे'

जनसम्पर्ककै एक असन्तुष्ट सदस्यले प्रतिनिधि चयनमा जनसम्पर्क समिति युरोपका काबा अध्यक्ष पूर्ण हमालले प्रजातन्त्र र विधि विधानविपरित मनोमानी गरेको आरोप लगाएका छन् । उनका अनुसार समितिमा मनोनयनका लागि इच्छा जाहेर गरेकालाई सामान्य सोधपुछसम्म नगरी टपक्क टिपेर प्रतिनिधि बनाइएको छ । क्रियाशील सदस्यको भेलाबिना हमाल निकटलाई प्रतिनिधि घोषणा गरिएको उनको दाबी छ ।