विदेशी पसेपछि गृहमा किन हुन्छ भागाभाग ?

काठमाडौं । समाचारको शीर्षक पढेर नै तपाईं आश्चर्यमा पर्नु भयो ? तर, आश्चर्य नमान्नुस्, गृह मन्त्रालयमा विदेशी पसेपछि यस्तै भागाभाग हुने गरेको छ ।

यति पढिसकेपछि स्वभाविक जिज्ञासा तपाईंको मनमा पलाउँछ विदेशी पसेपछि गृहमा किन भागाभाग हुने गरेको होला ? यसको रोचक कहानी यस्तो छ: गृहमन्त्री शक्तिबहादुर बस्नेतका सचिवालयमा भतिज मुक्तिसहित विद्यार्थी नेता वृन्दमान बिष्ट छन् । तर, सचिवालयमा रहेका उनीहरू कसैलाई पनि अंग्रेजीमा सामान्य बोलचाल गर्नसमेत आउँदैन, राम्रो अंग्रेजी बोल्न त परै जाओस् ।

मन्त्रीका सचिवालयमा रहेकाहरूको अंग्रेजी भाषा राम्रो नभएपछि गृहमन्त्रालय र क्वार्टरमा विदेशी आउँदा रमाइलो हुने गरेको छ । गृहमन्त्रीसंग भेटघाट गर्न आएका कूटनीतिक निकायका व्यक्तिहरू र विदेशीहरू काम परेर आउँदा भाषाको समस्या कारण कम्युनिकेसन राम्रोसंग गर्न नसकेर हैरान हुने गर्छन् । 

अंग्रेजी भाषा बोल्न नआउने भएकाले सचिवालयका सदस्यहरू नेपाली भाषा बोल्न नजान्ने विदेशीहरू मन्त्रालयमा आउँदा तर्किने गरेको र मन्त्रालयका कर्मचारीहरूले विदेशीसंग डिल गर्ने गरेको कर्मचारी स्रोत बताउछ ।

गृहमन्त्रीको सचिवालयमा रहेर काम गर्ने सदस्य जस्तै मन्त्रीको अघोषित प्रेस सल्लाहाकार भएर काम गरिरहेकी नेपाल पत्रकार महासंघकी सचिव संगीता खड्काको पनि अंग्रेजी भाषा कमजोर भएका कारण समस्या पर्ने गरेको छ । उनी पनि विदेशी देख्दा तर्किएर हिंड्ने गरेको चर्चा कर्मचारीबीचमा हुने गरेको छ ।

गृहमन्त्रालयका एकजना कर्मचारीले गृहमन्त्रीका सचिवालयका कसैले पनि अंग्रेजी नजान्दा लाजमर्दो हुने गरेको गुनासो गरे । ती कर्मचारीले गृहमन्त्रालय जस्तो महत्त्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्रीले अंग्रेजी भाषा राम्रोसंग बोल्ने स्वकीय सचिव नराखेको भन्दै आलोचना समेत गरे । 

‘गृहमन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीले परिपक्व, भरपर्दो र योग्यतम् ब्यक्तिहरू सम्मिलित सचिवालय बनाउनु पर्ने हो । तर, उनको सचिवालयका व्यक्तिहरू देख्दा लाज लागेर आउँछ ।’ गृहमन्त्रीका सचिवालयमा रहेर काम गरिहेकाहरू आलाकाँचा र अंग्रेजी भाषामा कमजोर भएपनि मन्त्री बस्नेत आफैं भने राम्रोसंग अंग्रेजी भाषा बोल्न सक्ने भएकाले लाजगाल टरेको छ ।
- साँघु साप्ताहिक