दुर्घटनास्थलमा हिमपात, हेलिकोप्टर बस्न सकेन
दाना (म्याग्दी): विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस-२ स्थित सोलीघोप्टे भिरमा १९ यात्रुको शव फेला पारिएको छ ।
नाम ठेगाना खुल्न नसकेका दुई बालबालिकाको शव चिन्न सकिने भएपनि अन्य यात्रुको शव डढेको अवस्थामा फेला परेको छ ।
भीरमा ठोक्किएर दुर्घटना भएको विमान पूरै जलेको र शव यत्रतत्र छरिएर रहेका घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिएका छन् ।
'शव सङ्कलन गर्न हिमपातका कारण कठिनाइ भइरहेको छ,' उनले भने । दुर्घटनास्थलमा झरीसँगै हिमपात भइरहेकाले उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली सक्रिय छ । सेनानी सञ्जीव दाहाल नेतृत्वको नेपाली सेनाको ३० जनाको टोली एक घन्टा वरको दाना गाविसकै हार्मेमा शिविर खडा गरेर बसेको छ । 'तत्काल खोँचमा अन्य शव खोज्न सकिने स्थिति छैन,' प्रहरी जवान शर्माले भने ।
दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय बासिन्दाले आज दिउँसो सम्पर्कविहीन विमान फेला पारेका थिए ।
आज बिहानै उद्धारका लागि गएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली अझै दुर्घटनास्थलमा पुग्न सकेको छैन ।
आज बिहान ७:५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० यात्रु र चालकदलका तीन सदस्य थिए । रासस

