छोरीलाई ब्युटीपार्लर खोल्ने पैसा नदिँदा बाबुको ज्यान गयो

१२ फागुन, काठमाडौं । छोरीले आफ्नै बुबालाई हत्या गरेको घटना खासै सुनिँदैन । तर, काठमाडौंको टोखामा माइला महर्जनको हत्या उनकै छोरीले गरेकी छिन् । ब्युटीपार्लर खोल्ने पैसा माग्दा ‘बिहे गरेकी छोरीलाई पैसा दिन्न’ भनेपछि छोरीले बाबुको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

टोखास्थित साङलेखोला नजिकै हत्या गरिएको अवस्थामा भेटिएका माइला महर्जनको हत्या आफ्नै छोरीको योजनामा भएको खुलेको छ । हत्यामा संलग्न छोरी-ज्वाइँसहित ७ जनालाई पक्राउ गरेको छ ।

माघ २१ गते काठमाडौं जिल्लाको टोखा-११ मालटारका ४३ वषर्ीय महर्जनको शव साङलेखोला नजिकै स्टार टाउनमा हत्या गरिएको अवस्थामा भेटिएको थियो । छोरीले बोलाएपछि घरबाट निस्किएका उनको टाउको, घाँटी, निधार लगायतमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

धनीपूर्जा चोर्दा पनि केही लागेन

छोरीको योजनामा उनको हत्या भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । माइला महर्जनकी छोरी संगीताको करिब दुई वर्ष अगाडि नुकाकोटका सन्तोष पाण्डेसँग प्रेम विवाह भएको थियो । विवाहपछि उनीहरु धमलटारमा बस्दै आएका थिए ।

ब्यूटी पार्लरसम्वन्धी तालिम लिएकी संगीताले बिहे गरेपछि ब्यूटी पार्लर खोल्न बुबासँग पटक-पटक ३/४ लाख रुपैयाँ माग गर्दै आएकी थिइन् । बुबाले पैसा नदिएपछि उनले करिव ६ महिना अघि माइतमा आएर आमाका नाममा रहेको जग्गाको धनीपूर्जा समेत चोरेर लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अरुको नामको जग्गा धनी प्रमाण पूर्जा राखेर बैंकका ऋण निकाल्न नमिलेको र माइतीले थाहा पाएपछि संगीताले करिव एक महिनाअघि मात्रै धनीपूर्जा फिर्ता गरेकी थिइन् । संगीताले बुबासँग अंश चाहियो भनेर नमागे पनि व्यवसाय गर्न सहयोग चाहेकी थिइन् ।

धनिपूर्जा चोर्दा नभएपछि संगीताले बुबालाई फेरि पैसा मागिन् । तर, विवाह भएकी छोरीलाई पैसा दिन्न, बरु छोरा दिनेशलाई चाहिन्छ भनेपछि उनले पैत्रिक सम्पत्तिका लागि माइतीलाई सिध्याउने योजना बनाइन् ।

उनले बाबु माइला महर्जनसँगै आमा र दाजु दिनेशलाई समेत मारेर सबै सम्पत्ति आफ्नो बनाउने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसरी बन्यो हत्याको योजना

संगीताले बाबुलाई मार्न विक्रम लामालाई सुपारी दिएको प्रहरी बताउँछ । माघ १७ गते नै विक्रमले माइला महर्जनलाई मार्न भन्दै बानियाँटार मनकामना मन्दिरमा बोलाएका थिए । तर, माइलासँगै अर्का एक व्यक्ति पनि आएकाले उनको योजना असफल भयो ।

तर, त्यसको तीन दिनपछि माघ २० गते संगीताले नै बाबुलाई बोलाइन् र मार्न लगाइन् ।

प्रहरीका अनुसार संगीता र उनका पति सन्तोषले बाबुलाई घर ठेक्कामा लिन नक्शा लिएर मानिसहरु भेट्न आएका छन् भन्दै बोलाएर खोलाको किनारमा पुर्‍याएका थिए । जहाँ विक्रम र उनका साथीहरु पर्खेर बसेका थिए ।

निर्माणधीन पुल नजिकै पुगेपछि संगीताले बुबा माइला महर्जनको आँखामा बालुवा हालिन् । लगत्तै विक्रम तामाङ, सूर्य राना मगर, हाँस भन्ने धनकुमार तामाङले हृयाम्बर, खुकुरी र चुक्काले हानेर उनको हत्या गरेको प्रहरी बताउँछ ।

उनीहरुले संगीताको आग्रह अनुसार माइलाका श्रीमती र छोराको पनि हत्या गर्ने योजना बनाएका थिए । तर, अरुले थाहा पाउँछन् भनेर उनीहरु आ-आफ्नो घरतिर लागे ।

अपराध महाशाखाको टोलीले बुबाको हत्या गर्न लगाउने संगीतासहित ७ जनालाई पक्राउ गरेको छ ।
- अनलाइनखबर