प्रधानमन्त्री ओलीलाई दिल्लीमा कालोझन्डा

फाल्गुन ७, नयाँदिल्ली : भारत भ्रमणका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कालोझन्डा देखाइएको छ ।

विमानस्थलबाट ओलीको कारगेट राष्ट्रपति भवन जाने क्रममा दिल्लीमा रहेका मधेसी मोर्चा समर्थकहरुले उनलाई कालो झन्डा देखाएका हुन् ।
फोटो :प्रम ओलीको सवारी इन्दिरा गान्धी विमानस्थलबाट राष्ट्रपति भवन जाँदै गर्दा कालोझन्डा देखाउँदै मधेसी दल समर्थक विद्यार्थी ।

ओलीलाई कालो झन्डा देखाउन जवहरलाल नेहरु र दिल्ली विश्वविद्यालयमा अध्ययनरत मधेसी दलनिकटका विद्याथीहरु उपस्थित भएका थिए । 

कालोझन्डा देखाउने क्रममा भारतीय प्रहरीले मधेसी मोर्चाका विद्यार्थीहरुलाई कुनै हस्तक्षेप गरेन। विद्यार्थीहरुले आफूहरुले देखाएको कालोझन्डा प्रधानमन्त्रीले देखेको दाबी गरेका छन् ।

६ दिने भारत भ्रमण जानुअघि बिहीबार प्रम ओलीले सीमांकन विवाद मिलाउन उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरेका थिए ।

प्रमुख दलबाट हतारहतारमा गठित राजनीतिक संयन्त्रलाई अस्वीकार गर्दै मधेसी मोर्चाले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै विरोध जनाएका थिए । 

मधेसी मोर्चाले आफूहरुसँग सहमति गरेर मात्र दिल्ली जाँदा उपयुक्त हुने बताइरहेका बेला दिल्ली हिँडेका ओलीको त्यहाँ पनि विरोध हुन पुगेको हो । 
- अन्नपूर्ण पोष्ट