भूकम्पकाे बेलाको ४८ शव अस्पतालमै कुहिए, कंकाल मात्र बाँकी

काठमाडौ फागुन ७ – भूकम्प गएको १० महिना भइसक्दा पनि भूकम्पमा परेर ज्यान गुमाएकाको शव व्यवस्थापन हुन नसक्दा कुहिएर दुर्गन्ध फैलिन थालेको छ । 

महाराजगञ्ज क्याम्पस, फोरेन्सिक मेडिसिन विभागको शव गृहमा राखिएका केही सग्लै र कतिपय शरिरका भाग गरि ४८ जनाको शव कुहिएर कंकालमा परिणत भएको क्याम्पसका उप–प्राध्यापक डाक्टर रिजेन श्रेष्ठले बताउनुभयो । 

रेफ्रिजेरेटर कन्टेनरमा ३३ वटा बढीब्याग भित्र राखिएका शवलाई गाड्ने स्थान र रकमको अभावमा व्यवस्थापन गर्न नसकेको डाक्टर श्रेष्ठले बताउनुभयो । ‘विपदको बेलामा आएको शव पहिचान नभएको भन्दैमा त्यत्तिकै फ्याँक्न पाइँदैन ।

सनाखत नभएसम्म सक्दो जोगाएर राख्नु पर्छ, शव व्यवस्थापन सम्बन्धी अन्तरर्राष्ट्रिय मापदण्ड अनुसार सनाखत नभएसम्म जलाउन चाहिं पाइदैन, हामीसँग ३३ प्याकेट शव र शवका अवशेष छन् । जसमा ४८ जनाको शव हुनुपर्छ । त्यो सनाखत भएको छैन र हामीले त्यत्तिकै लगेर जलाउन पाइँदैन । त्यसलाई गाड्नुपर्ने हुन्छ तर हामीलाई सरकारले जग्गा उपलब्ध गराएको छैन’ डाक्टर श्रेष्ठले भन्नुभयो ।  

यसकारण कुहियो शव 

दश महिनाअघिका शव अहिले कंकालमा परिणत भइसकेका छन् । भूकम्प गएको झण्डै एक महिनापछि अन्तर्राष्ट्रिय रेडक्रसले रेफ्रिजेरेटर कन्टेनर बनाइदिएको थियो । त्यो छोटो अवधि (१ देखि दुई हप्ता) का लागि बनाएको थियो । दुई हप्ता सम्मका लागि शून्यदेखि ४ डिग्री सेन्टिग्रेड सम्मको तापक्रम मिलाए पुग्छ र त्यही अनुसार रेफ्रिजेरेशन गरेर मिलाएको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम नै आइसीआरसीले रेफ्रिजेरेशन कन्टेनर शून्य देखि ४ डिग्री सम्मको बनाएको थियो । तर अब दुई हप्ताका लागि बनाएको रेफ्रिजेरेटर कन्टेनर १० महिना भइसकेको छ । डाक्टर रिजेन श्रेष्ठ भन्नुहुन्छ ‘१० महिना राख्ने हो भने त्यसलाई माइनस १८ डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्छ ।

शून्यदेखि ४ डिग्री छोटो अवधिका लागि हो, शून्यबाट कम तापक्रम बनाउन साथ खर्च बढ्दै जान्छ, जस्तो शुन्य देखि चार र माइनस ४ देखि शून्य डिग्रीमै दोब्बर अन्तर हुन्छ । माइनस ४ देखि माइनस ८ डिग्रीसम्म डबल खर्च लाग्छ । गर्दै गर्दा माइनस १८ सम्म जाने हो भने दश पन्ध्र लाखमा बनेको कन्टेनरको खर्च १ करोड भन्दा बढी हुन्छ । एकातिर लामो समय राख्नुपर्छ भन्ने थिएन अर्को तिर त्यत्ति पैसा हामी सँग थिएन । त्यो आइसीआरसीले बनाइदिएको थियो ।’

फ्रिज ८ महिनादेखि बन्द 

फ्रिज विग्रिरहने र प्राविधिकले पनि बनाउन नमाने पछि शवगृहमा तापक्रम व्यवस्थापन गर्ने फ्रिज ८ महिनादेखि बन्द छ । ‘पटक पटक विग्रने भएपछि बनाउन ढोका खोल्नुपर्‍यो, ढोका खोल्दा वरिपरिको क्षेत्रमा २ घण्टाभन्दा बढी दुर्गन्ध फैलिएपछि फ्रिज नै बन्द गरिराखेका छौं’ डाक्टर श्रेष्ठले भन्नुभयो ‘भित्र सबै शव भएको, सडेको गलेको अवस्था भएकाले टेक्निसियन मर्मत गर्न जानै मान्दैन । बाहिर निकालुँ भने दुर्गन्धले बसिसक्नु हुदैन । वरिपरि बसोबास छ । वरिपरि हस्पिटल केयरहरु छन् । त्यसले गर्दा बन्द गरेर राखेका छौं, त्यसैले शव गाड्नुको विकल्प छैन । तर खोइ जग्गा ?’ 

सरकारी वेवास्ता 

शव व्यवस्थापनका लागि सहयोग गरिदिन महाराजगञ्ज क्याम्पस, फोरेन्सिक मेडिसिन विभागले गुहार्नु पर्ने निकाय कुनै बाँकी छैन । भूकम्प गएको एक महिना पछि नै सरकारलाइ पत्राचार गरेको विभागले हरेक महिना पत्र पठाईरहेको छ ।

क्याम्पसका उप–प्राध्यापक डाक्टर रिजेन श्रेष्ठ भन्नुहुन्छ ‘हामीले गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको कार्यालय,  जिल्ला प्रशासन कार्यालय काठमाडौ सबैतिर पत्र पठाइसकेका छौं, तर सरकारले यसका लागि पहल गर्दैछ भन्ने जवाफ चाहिं आउँछ तर जग्गा देखाईदिएको छैन । ‘हामीलाई जग्गा दियो भने हामी लगेर शवहरुलाई राम्रो किसिमले गाड्छौं ।

केही भएर डिएनए, दाँत वा अरु कुनै आधारमा सनाखत भयो भने निकालेर फिर्ता दिनुपर्छ, त्यो हो अन्तरराष्ट्रिय विधि । त्यो नभएसम्म अगाडि बढाउन सक्दैनौं ।’ शव व्यवस्थापनमा सरकारले वेवास्ता गरेको प्रसंग कोट्याउदै उहाँले भन्नुभयो ‘भूकम्प गएको केही दिनमै राष्ट्रिय लाश व्यवस्थापन समितिको सदस्य आउनुभएको थियो, १५ हजार रुपैयाँ बोकेर । त्योबेला ४ सय ६८ वटा शव थियो ।

हामीलाई दिनको १५ हजार रुपैयाँको त आइस् चाहिन्थ्यो । उहाँले १ दिनको आइस खर्च बोकेर आउनुभएको थियो, यस्तो अवस्थामा हामीले गर्न सक्ने नै के हुन्छ र ?’ गृहमन्त्रालय, प्रहरीमा हरेक महिना कमसेकम एउटा चिठी जान्छ । हामीले गुहार्ने निकाय पनि त्यही हो । उता बाट केही आदेश नआईकन यत्तिकै लगेर फ्याँक्यो भने गैरकानुनी हुन्छ । हामीलाई नै समात्न सक्छ ।’ 

शव कस्को ?  

शव गृहमा काठमाडौ, रसुवा र दोलखाबाट ल्याएका शव छन् । त्यसमा सबैभन्दा पुराना एक जना विदेशी महिलाको शव छ । ३३ ब्यागमा झण्डै ४८ जनाको शव रहेको अनुमान गरिएकामा २६ जनाको मात्र एन्टिमोटम डेटा छ । विभागका अनुसार सनाखत गर्ने आधार एन्टिमोटम डाटा हो । जुन मध्ये २५ जना विदेशीका छन् । त्यसमध्ये एक जना नेपालीको मात्र यस्तो डेटा छ । डाक्टर श्रेष्ठ भन्नुुहुन्छ ‘नेपालीहरुको सनाखत भयो भने पनि १ जना नेपालीको बाहेक हुन सक्दैन । किनकि त्यो डेटा नआईकन प्रक्रिया अगाडि बढाउन सक्दैन ।’ 

शव उठाउन नजान्दा सनाखत हुन गाह्रो

डाक्टरका अनुसार घटनास्थलबाट शव उठाएर अस्पतालसम्म ल्याउन नजान्दा नै सनाखत गर्न गाह्रो भएको हो । एउटै पोकामा दुई वा दुईभन्दा बढी व्यक्तिको अंग मिसाएका कारण कसको हो भनेर छुट्याउन गाह्रो हुने डाक्टरहरु बताउँछन् । अन्तर्राष्ट्रिय नेपाल रेडक्रसले शव कसरी उठाउने, उठाउदा के के प्रक्रिया पूरा गर्ने भनेर शसस्त्र प्रहरी, नेपाल प्रहरीमा धेरै पटक तालिम दिएको भएपनि पालना नभएको डाक्टरको गुनासो छ । ‘सबै एउटै पोकामा ल्यायो भने कुन चाहिं कसको हो भनेर चिन्ने ? यसपटक भएको त्यही हो’ डाक्टर रिजेनले भन्नुभयो । 

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको पनि सनाखत हुन बाँकी 

भूकम्प गएपछि मानवीय उद्धारका क्रममा दोलखामा दुर्घटना भएको अमेरिकन हेलिकप्टरमा परी ज्यान गुमाएका मध्ये २ जनाको अझै सनाखत हुन बाँकी । पाँच जना अमेरिकी नागरिकको सनाखत भएपनि अस्पतालमा अझै एउटा शव र एउटा खुट्टा बाँकी छ । अहिलेसम्म सम्म खोजी गर्न पनि नआएको र एन्टिमोटम डेटा पनि नभएकाले सनाखत गर्न नसकेको अस्पतालले जनाएको छ ।
- उज्यालो