अनेरास्ववियूमा नविनाको अग्रता

फाल्गुन ८, काठमाडौं: एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ। 

एमाले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार साँझ ६ बजेदेखि मत गणना सुरु भएको हो।

अहिलेसम्मको गणना अनुसार अध्यक्षका प्रत्यासी नविना लामा समूहले अग्रता लिएको छ। मत गणना स्थलमा रहेका अनेरास्ववियुका पूर्व अध्यक्ष माधव ढुंगेलका अनुसार पार्टीको संस्थापन पक्षको समर्थन रहेको लामाले २ सय ८१ मतका साथ अग्र स्थानमा छिन्।

अध्यक्षका अर्का प्रत्यासी दीपक गौतमले २ सय ३४ मत रहेको छ। ढुंगेलका अनुसार उपत्यकासहित मेचि, कोशी, सगरमाथा र जनकपुर अञ्चलको मतगणना सकिएको छ। 

लामा पक्षबाट महासचिवका उम्मेदबार बनेका ऐन वहादुर महर २ सय ६१ मतका साथ अग्र स्थानमा छन्। महासचिवका अर्का उम्मेदबार अब्दुल हुसेन खानले २ सय ४७ मत पाएका छन्।

लामा समूहबाट उपाध्यक्षका उम्मेदबार रहेका महेश बर्तौला, रश्मी आचार्य, सुनिताा बराल र शैलेस लामाले क्रमस: २ सय ४३, २ सय ५९, २ सय १७ र २ सय २७ मत ल्याएका छन्।

त्यस्तै गौतम समूहबाट उपाध्यक्षका उम्मेदबार बनेका राधिका खतिवडा, जीवन राइ, निलकण्ठ आचार्य र सरोज यादवले क्रमस: २ सय २८, २ सय २८, २ सय ३ र २ सय २४ मत पाएका छन्। ढुंगेलका अनुसार अहिले अन्य अञ्‍चलका मतगणना भइरहेको छ।
- अन्नपूर्ण पोष्ट