कांग्रेस संस्थापन समूहबाट कृष्ण सिटौला र गगन थापा ‘रिङआउट’

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले रामचन्द्र पौडेललाई सभापति र शशांक कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ । यससँगै कृष्ण सिटौला भने संस्थापन समूहबाट ‘रिङआउट’ भएका छन् ।

बिहीबार राति अबेर पूर्वअर्थमन्त्री डा. रामशरण महतको निवासमा संस्थापन समूहका नेता भेला भएका थिए । बैठकमा सभापतिका अर्का दाबेदार वर्तमान महामन्त्री प्रकाशमान सिंहलाई पनि बोलाइएको थियो ।

महतको निवासमा भएको बैठकले कार्यवाहक सभापति पौडेललाई सभापतिको उम्मेदवार बनाउने निष्कर्ष निकालेको छ । महामन्त्रीमा बीपीपुत्र शशांक कोइरालालाई अघि सारिएपछि कोइराला परिवारको पनि साथ पौडेलले पाएका छन् ।

सभापतिको दाबी गरिरहेका वर्तमान महामन्त्री प्रकाशमान सिंहलाई उपसभापति बनाउने वचन पौडेलेल दिएका छन् । निकटवर्तीका अनुसार उनले कहिल्यै सभापति लड्ने तयारीमा थिएनन् । पौडेल समूहमा उपसभापति सुनिश्चित गर्न सभापतिको दाबेदार हुँ भनेर दबाब दिइरहेका थिए ।

सिटौलालाई संस्थापन समूहबाट ‘रिङआउट’ गर्ने गरी टिम बनेपछि प्रकाशमान पौडलेको पक्षमा देखिएका छन् । तर, महत निवासको यो सहमतिसँगै कृष्ण सिटौला र गगन थापा भने संस्थापन समूहबाट ‘रिङआउट’ भएका छन् । सिटौला सभापति र थापा महामन्त्रीका दाबेदार हुन् ।

कन्भिन्स भएनन् सिटौला

प्रकाशमान सिंहलाई पौडेलको पक्षमा सहमत गराएपछि अर्का दाबेदार कृष्ण सिटौलालाई बोलाइएको थियो । त्यहाँ उनीसँग सामूहिक र पौडेलले एक्लै पनि छलफल गरेका थिए । पौडेलले सभापतिमा आफूलाई समर्थन गर्न आग्रह गरे ।

जवाफमा सिटौलाले पौडललाई ‘तपाईंको टिम के हो, त्यो त प्रस्तुत गर्नुस्,’ भनेका थिए । तर, पौडेलले ‘अरु पदका विषयमा पछि छलफल गर्दै गरौंला’ भन्दै कुनै ठोस प्रस्ताव नराखेको स्रोतले बताएको छ ।

छलफलपछि कृष्णप्रसाद सिटौला सभापतिको दाबेदारी छाड्न तयार भएका छैनन् । यद्यपि संस्थापन पक्षका नेताले उनीसँग छलफल गर्ने बताएका छन् ।

सिटौला निकटवर्ती उनलाई विश्वासमा लिने प्रयास नै नभएको बताउँछन् । उनीहरुका अनुसार बिहीबारको छलफल पनि केवल औपचारिकतामा मात्र सीमित थियो ।

पौडेल समर्थकले सुरुमा सिटौलालाई दुई सय मत त हो नि भनेझैँ गरेर बेवास्ता गरिएको थियो । अहिले सुरुमा गोप्य बैठक गरेर पौडेललाई समर्थन गर्ने र पछि बोलाएर समर्थन खोज्ने काम मात्र भएको छ ।

यसलाई उनी निकटवर्ती पौडेलले पनि गिरिजाप्रसाद कोइरालाको शैली भन्छन् । ‘पहिले गिरिजाप्रसादले आफू निर्णय लिन्थे र पार्टीका नेतालाई सुनाउँथे,’ सिटौला निकटका एक नेताले भने, ‘गिरिजाप्रसाद बुबाजस्तो थिए । बुबासँग कुरा नमिले पनि छोराले घर छाड्दैन । तर, रामचन्द्र पौडेलहरु दाइजस्ता हुन्, दाजुभाइको झगडा भयो भने अंशबन्डा हुन्छ ।’

यसले पनि सिटौला अब पछि हट्नेवाला छैनन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । संस्थापन समूहमा आफूलाई कर्नरमा पार्ने संकेत देखेपछि सिटौलाले पनि आफ्नो तयारी सुरु गरिसकेका थिए । उनले महामन्त्रीमा गगन थापालाई उम्मेदवार बनाउन लगातार संवाद गरिरहेका छन् ।

सभापति र महामन्त्रीमा त्रिपक्षीय भिडन्त

आन्तरिक जोडघटाउ चलिरहेकाले कुनै पनि समूहले औपचारिक टिम घोषणा गरेका छैनन् । यसले गर्दा कुनै पनि बेला उलटपुलट हुने सम्भावना कायमै छ ।

तर, सभापति र महामन्त्री पदमा भने त्रिपक्षीय भिडन्त हुने लगभग निश्चित भएको छ । संस्थापन समूहबाट रामचन्द्र पौडेल, कृष्ण सिटौला र अर्को समूहबाट शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुने देखिन्छ ।

यसले सभापतिको चुनाव दोस्रो राउन्डमा लैजाने सम्भावना समेत बढाएको छ । कांग्रेस विधानअनुसार सभापतिका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर, तीन उम्मेदवार हुने भने यो एक उम्मेदवारले पहिलो चरणमा नै बहुमत ल्याउन निकै मुस्किल पर्ने देखिन्छ ।

महामन्त्रीमा भने शंशाक कोइराला र गगन थापा उम्मेदवार देखिएका छन् । देउवा पक्षले अर्जुननरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाउने सम्भावना छ ।
- अनलाइनखबर