ए बूढा ! कति घुरेको ?

- लक्ष्मीधर गुरागाइँ 

धेरैका लागि सपनाको देश मानिदोरहेछ–संयुक्त राज्य अमेरिका। त्यहाँ केही समय बसेर भर्खरै नेपाल फर्केर आएको अबस्थामा पो रहेंछु म। 

उता बसुन्जेल न पेट्रोलको अभाव थियो न ग्यासकै लागि टाउको फुटाउनुपर्दथ्यो। त्यहाँ लाइन गएको अनुभव पनि कहिले गर्नुपरेन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बेलामा राजधानी चुक घोप्ट्याएजस्तो निस्पट्ट अन्धकारमा चुर्लुम्म डुबेको देख्दा निकै निरास भएर, मैले एउटा लामो सुस्केरा हालेको थिएँ। चकमन्न एकरातको त्यो सुस्केरासँगै मेरा छातीभित्र देश दुखिरहेको थियो। 

ट्याक्सी चढेर घरतिर जाँदै थिएँ। ट्याक्सी चालकले भन्यो–‘अचेल त दिनको १३ घण्टा लाइन जान्छ हजुर।’ त्यो सुन्दा मलाई अझ दिक्क लाग्यो।  म पुग्दा घरमा बत्ती थिएन। धिपधिपे मैन बत्तीको सहारामा मेरी पत्नी बत्ती कात्दै थिइन्। मुस्कानको उज्यालो पस्केर उनले मेरो स्वागत गरिन्। सामान्य भलाकुसारी चल्यो।  बत्ती नहुँदा फोन पनि अफ हुँदो रहेछ। वाइफाइ बन्द थियो। टेलिभिजन हेर्न पाइएन। मोबाइलमा रेडियो सुन्न थालें।

 प्रधानमन्त्रीले अब केही वर्षभित्र सबैका भान्सा कोठामा ग्यासको लाइन जोडिने भनेर दिएको भाषणबारे जनताका रङबिरङका प्रतिक्रिया रेडियोमा सुन्दै थिएँ। यता इन्डक्सनमा खाना पकाउँभन्दा लाइन थिएन, उता सिलिन्डरमा ग्यास थिएन। दाउरा पनि थिएन। बाहिर कतै गएर खाउँ न त भन्दा गाडीमा तेल पनि थिएन। त्यसैले हामी त्यससाँझ चिउरा भुजिया खाएर सुत्ने तरखरमा लागेका थियौ। 

म सोच मग्न थिएँ। जलस्रोतमा नेपाललाई ब्राजिलपछिको दोस्रो ठूलो धनी देश भनिन्छ तर त्यो सब हावा गफ र बकवास जस्तो लाग्यो। किनकी विद्युत्को अभावमा यस्तो दिक्कलाग्दो गरेर बस्नु परेको छ। लाग्यो, प्रकृतिका अनमोल उपहारहरु हाम्रा लागि बाँदरका हातमा नरिवल भएका छन्। हामीले माल पाएर चाल नपाएका रहेछौं। अमेरिकामा बसेका बखतका विविध सुविधाका कुरा झलझली सम्झँदै म ढल्किरहेको थिएँ। 

त्यहाँ त  कतै नयाँ ठाउँमा जानु परेमा कसैसित सोधखोज गर्नै नपर्ने,  जिपिएसमा गन्तव्यको ठेगाना अपलोड गरेपछि त्यसले गाडी चालकलाई दायाँ मोड,बायाँ मोड, सिधै हिँड भन्दै भन्दै निश्चित ठाउँमा पुगिसकेपछि तिमी तिम्रो गन्तव्यमा आइपुगिसक्यौ भनेर जनाउ दिन्थ्यो। यहाँ कहिले त्यस्तो होला? भन्ने कुरा सम्झँदै म एकोहोरिएको थिएँ।  म लमतन्न पलङमा सुतें। नेपाल पनि कुनै दिन अमेरिकाजस्तो  होला? भन्ने सोचमा म गहिरिंदै गहिरिंदै जाँदै थिएँ। लाग्यो नेपाल आमाले आजसम्म सुयोग्य नेता जन्माउन सकिनछन्। त्यसैको परिणति हामी झेलिरहेका छौं।   

केहीबेरमा मूल गेटको बेल बज्यो। म बाहिर निस्किएँ। भान्सा कोठामा ग्यासको पाइपलाइन जोडिदिन सरकारले खटाएका प्राविधिकहरुको एउटा टोली पो आएको रहेछ। अब भान्सामै ग्यासको पाइप जडान हुने भएपछि जति चलायो त्यसैका आधारमा पैसा बुझायो। क्या मजा, अब सिलिण्डरका दिन गए भनेको त हो रहेछ। काँधमा सिलिण्डर बोकेर अब हिड्न नपर्ने भयो।  सरकारले थोरै समयमा धेरै प्रगति गरेकोमा म हर्ष विभोर भएँ। सहयात्री सपनाले भनिन्–झट्टै पाइप किनेर ल्याउनुपर्यो।’ उनका कुरा सुनेर खुसी हुँदै म पुतलीसडकतिर हानिएँ। 

एकैछिनमा म गाडी चलाएर गौशाला आइपुगे। गाडीमा भएको रेडियोले प्रमुख समाचार दिंदै थियो—नेपाल विकासोन्मुखबाट विकसित राष्ट्रको सूचीमा परेको विश्व आर्थिक सर्वेक्षणको रिपोर्ट सार्वजनिक।  नेपालले पनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को विशेष शक्ति सम्पन्न राष्ट्रको स्थायी सदस्यताका लागि लबिङ गर्ने, पाश्चात्य मुलुकमा नेपालको शिक्षा र संस्कारको विकास गराउन आफ्ना सहयोग नियोगका माध्ममबाट सबै देशमा तालिम केन्द्रहरु स्थापना गराई काम सुचारु। नेपालका प्रधानमन्त्री ओली तथा चीन र भारतका समकक्षीबीच  नेपालले भारत र चीनलाई १०–१० लाख मेघावाट विद्युत बिक्री गर्ने सम्झौतामा हस्ताक्षर। समाचारका हेडलाइन सुनेर मैले जिभ्रो टोकें। 

रेडियोले समाचार दिंदै थियो, सोचें पहिले कस्तो थियो अहिले कस्तो भइसक्यो।  पहिले त यहाँ खाल्टाखुल्टी परेका साँघुरा बाटा थिए अहिले त अत्यन्त चौडा र चिप्ला सडक पो बनेछन्।  अमेरिकाकै जस्ता बाटा भएछन्। बाटामा गाडीहरु उफ्रने होइन सलल बगेका, कुनै गाडीले कुनैलाई ओभरटेक नगर्ने, मलाई गजब लाग्यो। म आफ्नो निवास बागमती नगर, कुमारीगाल गुहेश्वरी टाउनप्लानिङतिर पो जाँदै रहेछु। जाँदाजाँदै देखें मित्रपार्कमा त बाटैबाटा, बाटामाथि अरु बाटाका तलाका तला थिए। म ती बाटा देखेर फेरि छक्क परेको थिएँ। 

अमेरिकामा छँदा मैले फ्लोरिडाको वेस्ट पामबिचबाट जादुमय नगरी मायामी जाँदा देखेका जस्ता अथवा टेक्ससमा पर्ने ह्युस्टनको टम्बलबाट सान एन्टेनियोेतर्फ जाँदा देखेजस्ता तिलस्मीदार बाटा थिए मित्रपार्कमा। म अझै छक्क परें। मैले आफ्नो देशको सरकारलाई मुरीमुरी धन्यवाद दिएँ। मैले प्रधानमन्त्रीलाई मनमनै धन्यवाद दिएँ नेपाल आमाले गतिलो नेता जन्माउन सकिनछन् भनेर म गुनासो गर्दथें। त्यो झुटा सावित गरिदिए ओलीले भन्ने लाग्यो।  

मित्रपार्कको बाटो देख्दा पो म आत्तिएँ। लौन, यस्तो बाटोबाट कसरी जाने घर?  मेरो गाडीमा त जिपिएस नै छैन, न मेरो मोवाइलमै छ,  अब कुन बाटोबाट कसरी जाने होला भनेर म अलमलमा परें। नेपालमा पनि अब जिपिएस चाहिने भएछ,यस्तो बाटो पनि आफ्नो देशमा बन्छ होला भन्ने त मैले सपनामा पनि सोचेको थिइन्। कसरी बनाए होलान् यस्ता बाटा? सडकका किनारमा गाडी रोकेर त्यो अचम्म लाग्दो बाटोलाई निकैबेर निर्निमेष हेरिरहन थालें।  

त्यहाँ भएको एउटा साइनबोर्ड हेरेर थाहा पाएँ,  मित्रपार्कको त्यो बाटैबाटाको माथि एउटा टोल रोड थियो। त्यो सिधै बागमती नगर कुमारीगाल गुहेश्वरी टाउनप्लानिङमा भएको आफ्नै घरनिर पुग्दोरहेछ। म टोलरोडतर्फ लागें, सानो पोलले बाटो बन्द थियो। गाडीको झ्यालबाट टाउको फुत्त बाहिर निकालेर  त्यसैका छेउमा भएको एउटा पोलमा मैले आफ्नो क्रेडिटकार्ड घोटेको मात्र थिए रु २० तिरेको बिल त्यसको प्वालबाट फुत्त बाहिर निस्किनासाथ बाटाको अवरोध खुल्यो। म अगाडि बढे।  

तलका बाटाबाट हिंड्दा पैसा तिर्न नपरेपनि अलमल हुनाले म त्यो टोल रोडबाट स्पिडमा गाडी चलाएर अगाडि बढिरहेको थिएँ। मेरा घर र आँगनमा  सौर्य बत्तीका प्यानलहरु जडान गरिएका रहेछन्। मेरा छिमेकीका घरमाथि त हेलिप्याड नै बनेको  रहेछ, एउटा हेलिकप्टर आएर टुसुक्क त्यहाँ बस्यो। रमाइलो मान्दै घरैका छेउमा पुगें। कम्पाउण्ड बाहिर पुगेपछि गाडीभित्र भएको  रिमोट थिचें। घरको गेट खुल्यो।  गाडी पार्किङमा राखे। गाडी लक भयो कि भएन भनेर चेक गरे, ट्वाँट गर्यो। 
छेउमा सुतेकी बूढीले घच्घच्याउँदै भनिन् ‘ए बुढा कत्रो घुरेको हो? कोल्टे परेर सुत न।’
‘म गाडी लक गर्दैछु।’ मैले अनायासै भने। 
उनले फेरि सोधिन् ‘के भो रे?’   
म झल्याँस्स बिउँझिएँ। मैले अन्कनाउँदै भने ‘केही भएन, मीठो सपना देखेंछु।’
घडी हेरें रातिको एक बजेको रहेछ। 

(लेखक  विगत २५ वर्षदेखि रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता विषय प्राध्यापन पेशामा संलग्न छन्। -सेतोपाटीबाट )