अनेरास्ववियुको अध्यक्षमा नविना लामा

फाल्गुन ९, काठमाडौं: एमालेको जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छन् ।

प्रतिद्धन्द्धी दिपक गौतमलाई पराजित गर्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । गौतमलाई हराउने क्रममा लामाले ८ सय ६५ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी दीपक गौतमले मत ६ सय ४९  मत ल्याउन सफल भए । 

१२ वर्षको उमेरमा विद्यालबाटै २० वर्षअघिबाट अनेरास्ववियुको राजनीतिमा सक्रिय नविना संगठनकी दोस्रो महिला अध्यक्ष पनि बन्न सफल भइन् । यसअघि हाल एमाले केन्द्रीय सदस्य रहेकी रामकुमारी झाँक्री अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष भएकी थिइन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट अध्यक्षकी उमेद्वार बनेकी लामाको प्यानलले यो पटक बर्चस्व कायम गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालको प्यान यो पटकको चुनावमा नराम्री पराजित भएको छ ।

नविनाकै प्यानलबाट पाध्यक्षमा महेश बर्तौला ७८६, रश्मि आचार्य ७४२, शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मत ल्याउँदै विजयी भएका छन्।  यसैगरी महासचिवमा नविनाकै प्यानलका ऐनबहादुर महर विजयी भएका छन् ।

विजयी महरले ८३१ मत ल्याउँदै गौतम प्यानलका अब्दुल हुसेन खाँलाई हराए । अब्दुलले ६६० मत ल्याउन सफल भए । अनुशासन आयोगमा निशा अधिकारी, निर्वाचन आयोगमा तुलसी मैनाली तथा लेखा आयोगमा धर्मेन्द्र रोकाय विजयी भएका छन् । 

सचिवालय सदस्यमा सुदर्शन शिबाकोटी, यशु लामा, भाष्कर खनाल, टीकाजंग थापा, यमराज पाण्डे, युवराज कुँवर, सूर्य रोकाया, डम्बर अधिकारी, नारायण घर्ती, अर्जुन अधिकारी, उमेश आचार्य, श्याम प्रजापति, कनिष पटेल, कल्पना थापा, एलबी सिंह, मर्यादा विष्ट, सम्झना अधिकारी, रामशरण चौधरी र जेनिश लामालगायत निर्वाचित भएका छन् ।

माघ २८ गते सुरु अनेरास्ववियुको महाधिवेशन आइतबार मात्रै सकिएको छ । महाधिवेशनमा १५ सय ९७ जना मतदाता थिए । 

अध्यक्षमा निर्वाचित लामा अनेरास्ववियुको महेन्द्र मावि मादनकुँडारी काभ्रेको प्रारम्भिक कमिटीदेखि, जिल्ला कमिटी उपाध्यक्ष, बानेश्वर क्याम्पसको स्ववियु सचिव, सभापति भएर साझा विद्यार्थी फोरममा पनि निर्वाचित नेतृ हुन् ।

उनी अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै दुई कार्यकाल सचिवालय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिवसमेत भइसकेकी छिन् । 

उनी १२ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा सक्रिय छिन् । बानेश्वर क्याम्पसमा उच्च शिक्षा थालेकी उनी २०६० सालको स्ववियु निर्वाचनमा बानेश्वर क्याम्पसको सचिव पदमा विजयी भइन् । ०६२ को निर्वाचनमा सोही क्याम्पसको स्ववियू सभापति जितिन् । 

अनेरास्ववियुको १४ औँ, १५ औं र १६ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएकी उनले १७ औँ सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगिन् । १८ औँ राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्य निर्वाचित भएकी नविनाले महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।

त्यस्तै १९ औं राष्ट्रिय सम्मेलनमा पनि सचिवालय सदस्यमै निर्वाचित भएपछि प्रचार विभाग प्रमुख बनिन् । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालय सदस्यबाट उपाध्यक्ष भइन् । 

काठमाडौँमा सम्पन्न २१ औँ सम्मेलनबाट उनी पार्टी र संगठनको आग्रहमा एक पद घटुवा भएर महासचिवको उम्मेदवार बनिन् । उनको सपना एक दिन देशको प्रधानमन्त्री बन्ने छ ।
- अन्नपूर्ण पोष्ट