योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलका काँग्रेसी अगुवाहरु दुई खेमामा बाँडिएका छन् । आज असन्तुष्ट समूहले कृयाशील सदस्यहरुको भेला बोलाएर महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि चयन गरेपछि विवाद छताछुल्ल भएको हो ।

क्रियाशील सदस्यको भेलाले महासमिति सदस्यमा मुक्तिनारायण श्रेष्ठ, खेमराज रानाभाट र राजकुमार
गौतमलाई चयन गरेको छ । समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा स्वत : पदेन महाधिवेशन
प्रतिनिधि रहने हुँदा तीन जना महाधिवेशन प्रतिनिधिमा धनबहादुर बयालकोटी, शिवप्रसाद
अधिकारी र डियर लोहनीलाई छनौट गरेको छ ।
भेलामा सहभागी वक्ता तथा उपस्थित क्रियाशील सदस्यहरुले महाधिवेशनमा पठाउने प्रतिनिधि
चयनको अधिकार केवल क्रियाशील सदस्यको भेलालाई मात्र भएको हुदाँ कार्यसमितिबाट आफै उम्मेदवार
र आफै मतदाता भएर गरेको निर्णय विधानसम्मत नहुने जिकिर गरेका थिए ।
असन्तुष्ट समूहले भेला बोलाउदै गर्दा जनसम्पर्क समितिकोतर्फबाट काबा अध्यक्ष सुशील शर्मा गैरे र महामन्त्री बिनोद घिमिरेले एक प्रेस वक्तव्यमार्फत एक दुई अमूक व्यक्तिले विधानविपरित भेला बोलाउनु हास्यास्पद र आपत्तिजनक भएको बताएका छन् । समितिले क्षणिक भावावेशमा आएर वर्षौदेखिको एकतामा खलल नपुर्याउन र भेला रोक्न चेतावनी दिएको थियो। भेलामा कसैलाई उपस्थित नहुन आव्हान गर्दै समितिले संगठनमा फूट ल्याउनेहरुलाई कारबाही गर्ने धम्कि दिएको थियो।
१३ औ महाधिवेशनका लागि समितिको बैठकबाट महासमिति सदस्यमा लक्ष्मीप्रसाद सापकोटा, पूर्णबहादुर हमाल र चीजकुमार तामाङ चयन भएका थिए भने महाधिवेशन प्रतिनिधिमा विनोद घिमिरे, भानु सापकोटा, शुशील शर्मा गैरे र सुरेन्द्र अमागाई छनौट भएका थिए ।
सम्पन्न भेलाका आयोजकहरुले बहुमत क्रियाशील सदस्य उनीहरुको पक्षमा रहेको दाबी गरेका छन् ।पोर्तुगल जनसम्पर्कमा कुल ५१३ क्रियाशील सदस्य रहेका छन् ।
