कञ्चनपुर, २२ माघ । व्यवस्थापिका–संसद् सदस्य एवम् पूर्वमन्त्री तारणीदत्त चटौत नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ ।
काँग्रेसको १३औं महाधिवेशनको प्रतिनिधि छनौटका लागि आज भएको कञ्चनपुरको क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनमा खुलातर्फ नेता चटौत पराजित हुनुभएको हो ।
चटौतले ३० मत ल्याउनुभएको छ । काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशीले महाधिवेशन प्रतिनिधिमा चुनाव जित्नुभएको छ । जोशीले ७४ मत ल्याउनुभएको छ ।
काँग्रेसका क्षेत्र नं ४ का सांसद रमेश लेखक सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । उहाँले १०५ मत ल्याउनुभएको छ । यसैगरी महाधिवेशन प्रतिनिधिमा वीरबहादुर सुनार ८६, खगेश्वर बोहरा ६५, कृष्णदत्त पनेरु ४५,दुर्गा जोशी ३४ मत ल्याएर महाधिवेशन प्रतिनिधि भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा धनबहादुर शाही, पिताम्बर भट्ट, दीर्घराज भट्ट, यज्ञराज चटौत, धर्मानन्द भट्ट र बमबहादुर शाही पराजित भएका छन् ।
महिलाबाहेक अन्यमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानिएका छन् । महिलामा मधु भारती र सुनिता भाट निर्वाचित भएका छन् । भारती महिला सङ्घकी सभापति हुन् । उहाँले ७९ र भाटले ६१ मत पाएका छन् । महिला सङ्घकी पूर्वअध्यक्ष माया भट्ट पराजित हुनुभएको छ ।
दलिततर्फ दलित सङ्घका सभापति रमेश दयाल, आदिवासी जनजातिमा बेलबहादुर राना र अल्पसङ्ख्यकमा दिवाकर पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा गोपालदत्त भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ महाकाली पारी दोधारा–चाँदनीका बासिन्दा हुनुहुन्छ ।
यसैगरी क्षेत्रीय सचिवमा प्रकाश जोशी र कोषाध्यक्षमा सुशीला चन्द निर्विरोध भएका छन् । काँँग्रेस कञ्चनपुरका कोषाध्यक्ष कृष्णकुँवर क्षेत्रीले सदस्यका लागि निर्वाचन भएको बताउनुभयो । रासस

